|

मुगु : छायानाथ रारा नगरपालिका–१४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र छ। 

वडा नम्बर १४ का तीन गाउँका ३०० घरधुरीका लागि २०६४ सालमा जिल्ला ऊर्जा शाखाको सहयोगमा निमार्ण भएको १९ किलोवाट दरखेखोला लघु जलविद्युत् परियोजनाको काम सकिनै लाग्दा रोकिएको थियो।

साविकको जिल्ला विकास समितिको कार्यालयअन्तर्गत रहेको जिल्ला ऊर्जा शाखाले स्थानीयले श्रमदान गर्नुपर्ने र स्थानीयले अनुदान जुटाउनुपर्ने भन्दै परियोजनाका लागि पहिलो पटक २९ लाख २५ हजार रुपैयाँमा सम्झौता गरे पनी स्थानीयले अनुदान रकम जुटाउन नसक्दा २९ लाख २५ हजार रुपैयाँ अपुग भयो। यसपछि निर्माणको काम अन्तिममा पुगेर रोकिएको दरखेखोला लघु जलविद्युत् परियोजना उपभोक्ता समितिका अध्यक्ष चंख बढुवालले बताए।

पछि पुनः बजेट थपेर साविकको रुगा गाविसका साथै संस्था र ऊर्जा शाखाको सहयोगमा करिब ९५ लाख रुपैयाँ जुटाई काम सुरु गरे पनि काम सम्पन्न नभएको बढुवाल बताउँछन्। परियोजनाको काम ९५ प्रतिशत सम्पन्न भए पनी प्राविधिक लापरवाहीका कारण रोकिएको स्थानीयको भनाइ छ।

लामो समयसम्म काम नसकिएपछि त्यहाँ रहेका मेसिनमा खिया लागेको छ। पावर हाउस जीर्ण बन्दै गएको छ। पोत ढलेका छन्। तार तितरबितर भएको वडा नम्बर १४ का अध्यक्ष नन्दलाल बढुवालले बताए। वडाध्यक्ष बढुवालका अनुसार बैकल्पिक ऊर्जा कार्यालय काठमाडौका प्राविधिकहरु आएर पुनः स्टिमेट गरेका छन्। अलपत्र भएका तार स्थानीयले तारबारमा प्रयोग गरेका छन्। 

स्थानीय सरकार गठनपछि पनि परियोजनाको काममा चासो नदेखाएको स्थानीयको गुनासो छ। चुनावको बेला प्रमुख मुद्दा बनाएका जनप्रनिधिले चासो नदेखाएको स्थानीयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.