|

धनकुटा : धनकुटा उद्योग वाणिज्य संघमा लागेको ताला दुई महिना बित्दा पनि खुल्न सकेको छैन। तालाबन्दी कै कारण नयाँ नेतृत्व छान्न मंसिर २८ गते तोकिएको मतदान समेत स्थगित भएको थियो।

संघको ४५औँ साधारण सभाको क्रममा गत मंसिर २३ मा असन्तुष्ट वाम पक्षधरका व्यवसायीहरुले सदस्यता पाउनुपर्ने र नवीकरण गरिनुपर्ने माग गर्दै संघको उद्घाटन सत्र र बन्द सत्र सम्पन्न भएको भोलिपल्ट मंसिर २३ मा निर्वाचन समितिको समेत रहेको संघको कार्यालयमा तालावन्दी गरेका थिए। त्यसको केही दिनमै मंसिर २७ मा लोकतान्त्रिक पक्षधरले साधारणसभा समेत सम्पन्न भई विधिसम्मत संघको निर्वाचन प्रकृया अगाडि बढिसकेकाले निर्वाचन प्रकृयालाई तत्काल गर्न माग गर्दै तालाबन्दी गरेका थिए। त्यो तालाबन्दी अहिले पनि खुलेको छैन।

तालाबन्दीकै विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले पटक–पटक राखेको सर्वपक्षीय बैठक निष्कर्षविहीन टुंगिएको थियो। उनले सर्वपक्षीय बैठकमा लोकतान्त्रिक र वाम पक्षधर व्यवसायीबीच कुरा नमिल्दा सहमति हुन नसकेको बताए। ‘ताला खोल्ने विषय प्रशासनको क्षेत्राधिकारबाहिरको कुरा हो’ उनले भने ‘मुठभेडको विषयमा प्रशासन मुछिनु राम्रो होइन।’

उद्योग वाणिज्य संघ निर्वाचन समितिले पनि तालाबन्दी नखुलेकै कारण विज्ञप्ती प्रकाशन गरेर मतदान स्थगित गरेको थियो। तालाबन्दी खुल्नासाथ नयाँ निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने निर्वाचन समितिका संयोजक विकास प्रधानले बताए।

यता धनकुटा उद्योगा वाणिज्य संघका तत्कालीन अध्यक्ष उमेश घिमिरेले ताला खोलेर नयाँ कार्यसमिति चयन गर्न व्यवसायीहरुबीच सर्वपक्षीय छलफल चलिरहेको बताए। उनले फागुन पहिलो साताभित्र सहमतिका आधारमा नयाँ कार्यसमिति बनाउने गरी पहल भइरहेको बताए। 

उद्योग वाणिज्य संघको भवनमा रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयद्वारा संचालित जिल्ला संयोजन तथा अनुगमन समिति धनकुटाको कार्यालय र उद्योग वाणिज्य मन्त्रालय र विदेशी दातृ निकायको सहयोगको संयुक्त लगानीमा तथा साझेदारीमा रहेको समृद्धि परियोजनाको कार्यालय पनि रहेको छ। ती कार्यालय पनि तालाबन्दी लागेदेखि नै बन्द छन्। कार्यालय बन्द रहेको कारण फिल्डमा काम गरिरहेको समृद्धि परियोजनाका धनकुटा संयोजक बलबहादुर पौडेलले बताए। ‘अफिसियल काम गर्न डकुमेन्ट थुनिएको छ,’ उनले भने, ‘कृषकहरुलाई अनुदान दिने कार्यक्रम प्रभावित बनेको छ।’

सरकारी कार्यालयबारे प्रजिअ बेखबर

उद्योग वाणिज्य संघमा लागेको तालाबन्दीका कारण त्यही भवनमा रहेका युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयद्वारा संचालित जिल्ला संयोजन तथा अनुगमन समिति धनकुटाको कार्यालय समेत वन्द अवस्थामा छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको उक्त कार्यालय बन्द रहेको आफूलाई जानकारी नभएको प्रजिअले बताए। 

‘म धनकुटा आएको छ महिना हुन लाग्यो, युवा स्वरोजगारको बजेट, कर्मचारी र कार्यक्रम छैन’ उनले भने, ‘संघको भवनमा बोर्ड कसरी, किन राखिएको माथिल्लो निकायमा वुझौंला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.