फैसला लेख्‍न बाँकी, भोलिसम्मलाई हेर्दाहेर्दैमा

|
जिल्ला अदालतमा उपस्थित पूर्वसभामुख महरा । तस्बिर : शिला तिम्सिना

काठमाडौं : संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास मुद्दाको अन्तिम टुंगो लाग्ने अपेक्षासहित पूर्वसभामुख कृष्णबहादुर महरा आइतवार बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा पुगेका थिए।

आफ्नो पक्षका अधिवक्ताहरुको बहस अन्तिमक्रममा पुग्दै गर्दा महराको अनुहारमा रिहा हुने आशाका किरण प्रष्टै देखिन्थे। तर उनको पक्षमा वकिलहरुको बहस सकिएर फैसला लेख्न ढिला भएपछि भोलिसम्मलाई हैर्दाहेर्दैमा सारियो।

न्यायाधीश अम्बरराज पौडेलको इजलासमा दुवै पक्षका वकिलहरुको बहस सकिएर फैसला लेख्न बाँकी भएपछि भोलिसम्मलाई हेर्दा हेर्दैमा राखिएको श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। 

न्यायाधीश पौडेलको इजलासमा सुनुवाइ चलिरहँदा महरा आफ्ना शुभचिन्तक र साथीहरुसँग मुस्काउँदै भलाकुसारी गरिरहेका देखिन्थे। 

अदालत परिसरमा सुनुवाइ सकिएर फैसला कुरिरहेको समयमा महराले केही शुभचिन्तकहरुसँग खुलेर गफ गर्न भ्याए। अन्तिम फैसला हुने अपेक्षा गरिएको दिन महराको मुहारमा कुनै हीनताबोध देखिँदैन थियो। 

उनी रिहा हुने आशासहित अदालतमा उपस्थित भएको उनको हाउभाउबाट देख्न सकिन्थ्यो। उनले साथी र शुभचिन्तकहरुसँग कुरा गर्दा डिल्ली बजार कारागार आफ्ना लागि घर भइसकेको पनि बताउन भ्याए। 

कुराकानीका क्रममा उनलाई एकजना शुभचिन्तकले प्रश्न गरेका थिए। एकजना शुभचिन्तकले सोधे, ‘अब त छुट्ने बेला भएन?’, त्यसको उत्तरमा मुस्काउँदै महराले भने, ‘नछुटे पनि के भयो र, डिल्ली बजार कारागार घर जस्तै छँदैछ नि। मैले तीन महिना त त्यहाँ बिताइसकेँ।’ 

उनले आफूलाई थुनामा राखिएको डिल्ली बजार सदरखोरलाई घरकै संज्ञा दिए। यसो भन्दा उनको अनुहारमा कुनै अफ्ठेरोको रेखा देखिँदैनथ्यो। 

महरा शुभचिन्तकहरुसँग गफिँदै गर्दा इजलासबाट अन्तिम फैसला दिन आज नभ्याएको भन्दै भोलिसम्मलाई हेर्दा हेर्दैमा राखेको खबर आयो। त्यसपछि उनी केहीबेर मौन भए। 

त्यसबीचमा सहयोगीहरुले के हुन्छ भनिरहेका थिए। तर उनले आफूलाई भोक लागिसकेको बताए। ‘कतिबेर कुर्ने टुंगो भएन। यहाँ आउनु परेकाले खाना खान पाइएन। उहाँ भए पाइन्थ्यो’, उनले भने। 

महराको पक्षमा फैसला आँकलन भइरहेका बेला आफ्नो पक्षमा निर्णय आएको अवस्थामा पनि जेलबाट छुट्न २४ घण्टा लाग्ने उनले सुनाए। ‘यहाँबाट फैसला आए पनि २४ घण्टा त लागिहाल्छ नि। अदालतको चिठ्ठी लानुपर्‍यो, कानुनी प्रक्रिया पूरा गर्नुपर्‍यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.