|

- सुशील सुवेदी

स्याङ्जा : पढेलेखेका मानिस कुटो कोदालो गर्नुहुँदैन वा कृषि पेसा अँगाल्नु हुँदैन भन्ने हाम्रो समाजमा भ्रम छ।

बालबच्चाबाट नै नपढे हलो जोत्नुपर्छ भन्ने पाठ सिकाइन्छ। कृषि पेसामा आकर्षण होइन वितृष्णाको भावनाले हेर्न बाध्य बनाउने हाम्रो समाजको गतिलो उदाहरण बनेका छन् स्याङ्जा कालिगण्डकी-५ बेल्टारीका त्रिभुवन न्यौपाने। शैक्षिक योग्यताअनुसार उनको हातमा कम्प्युटरको किबोर्ड हुनुपर्ने हो। तर, उनी हँसियामा रमाएका छन्।

भारतको पञ्जाव युनिभर्सिटीबाट डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङको सर्टिफिकेट पाएका न्यौपानेले स्वदेशको बाँझो जमिनमा पसिना बगाउने अठोट गरेर नेपाल फर्के। शैक्षिक ज्ञानलाई प्रयोग गर्दै विगत ६ वर्षदेखि बाख्रापालन गर्दै आएका न्यौपाने यस पेशाबाट निकै खुशी छन्।

कम्प्युटरको किबोर्ड हुने हातमा हँसिया र बाख्रालाई लगाउने सुई बोकेका कृषक समाजको लागि उदाहरणीय पात्र समेत हुन्। भूमिका कृषि तथा पशुपालन फर्मको नामबाट कृषि पेसा अँगालेका न्यौपानेले बाँझो जमिनमा घाँस खेती गरेका छन्।

‘बार्षिक करोडौँको मासु बाहिरबाट आयात हुन्छ। तर, नेपाली पैसा कमाउन विदेश भौँतारिन्छन्’, न्यौपानेले भने, ‘स्थानीय खरी जातको बाख्रालाई नश्ल सुधार गर्दै शतप्रतिशत बोयर बनाउँदै स्याङ्जालाई मासुमा आत्म निर्भर बनाउने मेरो लक्ष्य हो।’ ७०/८० वटा बाख्रा पाल्दा वार्षिक १० लाख कमाई गर्न सकिने उनको भनाइ छ।

केही समय भारतको सफ्टवेयर कम्पनीमा काम गरेका न्यौपानेले ओठमा मुस्कान छर्दै भन्छन्, ‘मेहनत गरे के हुन्न? विदेशमा पसिना बगाउनभन्दा स्वदेशमा घरपरिवारसँग रमाएर बसेको जिन्दगी मज्जाको छ। ’

दुइटा बाख्राबाट सुरु गरेको यो पेसामा अहिले उनको फर्ममा १०० भन्दा बढी बाख्रा छन्। बख्रालाई लाग्ने अधिकांश रोगको औषधि उपचार गर्न पनि आफैँ विज्ञ भएका छन्। सरकारी अनुदानमा विभिन्‍न उपकरण प्राप्त गरेका न्यौपाने यो पेशामा निकै उत्साहित बनेका छन्।

‘वार्षिक १० लाख परिवारसँग रमाएर आफ्नै जमिनमा कमाएको छु’, उनी भन्छन्, ‘श्रमलाई सम्मान गर्ने हाम्रो संस्कार नभएकोले टाई लगाउनेलाई सम्मान गर्छौं, कुटो कोदालो गर्नेलाई हेला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.