|

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताएका छन्। 

झापाको दमक–चिसापानी (रवि) कालोपत्र सडकको शिलान्यास गर्न पुगेका प्रधानमन्त्री ओलीले विकास र समृद्धि नचाहने शक्ति सरकारलाई चारैतिरबाट कमजोर बनाउन उद्यत भएको बताए। त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको उनको भनाइ थियो।

ओलीले वर्तमान सरकार जनताको सरकार भएकाले त्यस्ता प्रतिक्रियावादी शक्तिहरुसँग जुध्न सक्षम भएको र सरकारविरुद्धका त्यस्ता चलखेल सरकारलाई सह्य नहुने उल्लेख गरे। फू देश समृद्धि बनाउन लडाइँको मैदानमा भएको बताउँदै ओलीले भने ., “सुशासन कायम गरेर देशलाई विकास र समृद्ध बनाउन कसैले रोकेर रोक्न सक्दैन।”

सरकार बनेको दुई वर्षमा उल्लेखनीय प्रगति भएको जिकिर गर्दै उनले देशलाई समृद्धि बनाउने द्रुत काम लक्ष्यअनुसार पूरा हुनेछ।  प्रम ओलीले अहिले देशले काँचुली फेर्दै गएको भन्दै विकासको विरोध होइन सँगै काम गरेर अघि बढ्नुपर्ने खाँचो रहेको औँल्याए। देशले द्वन्द्व होइन शान्ति र समृद्धि चाहेको उल्लेख गर्दै उहाँले अब परिवर्तनका नाममा गरिने हिंसा र आन्दोलन गर्नुपर्ने दिन सकिएको बताए। देशमा सडक बालबालिका, सडकमा मागिहिँड्ने वृद्धवृद्धा मुक्त देश बनाउन काम शुरु भएकाले त्यसले साकार रूप लिने उनको भनाइ थियो।

फरक प्रसङ्गमा प्रम ओलीले सरकारी तथा सार्वजनिक सम्पत्ति कब्जा गर्ने कार्यमा कसैलाई छुट नभएको र त्यस्ता गलत कार्यमा संलग्न भए सरकारले कारवाही गर्ने बताए। जग्गाविहीन सुकुम्वासीलाई सरकारले घर बनाइदिने भन्दै उनले सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने काम शुरु भइसकेको जानकारी दिए।

दमक–३ स्थित वेलडाँगीमा आयोजित शिलान्यास समारोहमा संविधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अब देशले विकासको फड्को मार्दै गएकाले सरकारको लक्ष्य सुखी नेपाली, समृद्ध नेपालले सार्थकता पाउने बताए।

शिलान्यास समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईलगायतले समेत बोलेका थिए। 

प्रम ओलीले दमक नगरपालिकाद्वारा निर्माण भएको दमक–१ स्थित एकीकृत नमूना बस्ती मनमाया राईलाई साँचो दिएर समुदायलाई हस्तान्तरण गरे। दमक नगरपालिका, प्रदेश र केन्द्र सरकारको करीब रु चार करोड लगानीमा २३ वटा घरसहितको नमूना बस्ती निर्माण भएको नगरपालिकाले जनाएको छ।  

यसअघि उनले दमकको कृष्णमन्दिरदेखि वेलडाँगी जोड्ने कालोपत्र सडक र दमक र मोरङको मिक्लाजुङ जोड्ने मावा खोलाको पुलको उद्घाटन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.