|

काठमाडौं : कोरोनाले महामारी मच्चाएको चीनमा रहेका नेपालीहरु बल्लतल्ल नेपाल आउन पाएपछि निकै खुशी भएका छन्। सरकारले आवश्यक तयारी गरी आइतबार बिहान चीनबाट १७५ नेपालीहरुलाई त्रिभुवन विमानस्थलमा अवतरण गराएको थियो। 

सरकारले नागरिकप्रतिको जिम्मेवारी वहन गरी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज नै चार्टर गरी नेपाली नागरिक लिन चीन पठाएको थियो। विमानस्थलमा अवतरण गरेदेखि नै चीनबाट फर्किएका नेपालीहरु सरकारले गरेको व्यवस्था देखेर खुशीले गद्‌गद्‌ भए। 


चीनबाट आएका नेपालीका लागि बनाइएको शयनकक्ष।

कोराना संक्रमण फैलिएको चीनबाट आएका नेपालीहरुलाई लिन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक पर्यटकीय सुविधायुक्त बसहरु लगेको थियो। सोही बसमा हालेर नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा लग्यो।

आवश्यक सुरक्षा बन्दोबस्तीसहित स्कर्टिङ गर्दै खरिपाटी पुर्‍याइएका नेपाली तब छक्क परे, जब उनीहरुले प्राधिकरणको भवनभित्र आफूलाई राख्न गरिएको बन्दोबस्ती देखे। 


चीनबाट फर्किएका नेपालीलाई लिएर क्वारेन्टाइनस्थल खरिपाटीतर्फ जाँदै गरेको सुविधासम्पन्न बस।

सरकारले उद्दारमा ढिलाई गरिरहँदा चर्को आलोचना र अत्यास पोखिरहेका १७५ जना नेपालीहरु अहिले खरिपाटीको सोही भवनमा सुविधाजनक रुपमा बसिरहेका छन्। क्वारेन्टाइन स्थापनामा खटिएको नेपाली सेनाले त्यहाँ आधुनिक होटलको जस्तो सुविधा विस्तार गरिदिएको छ। 


दमकलबाट पानीको फोहोरा छ्यापेर क्वारेन्टाइन सफा गरिँदै।

चीनमा रहँदा निकै आत्तिएका मोरङका सौरभ लुइँटेल यतिखेर निकै खुशी छन्। एक त ढिलै भएपनि उनी नेपाल फर्कन पाए, अर्कातिर सरकारले सुविधासम्पन्न क्वारेन्टाइन बनाएर बसोबासको प्रबन्ध मिलाएको छ। 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार १४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने भएपनि उनी औधी खुशी छन्। कोरोनाका कारण मानिसहरुले धमाधम ज्यान गुमाइरहेको चीनबाट छोरा स्वदेश फर्कँदा शौरभ भन्दापनि उनका बाबु यशोदा प्रसाद लुइँटेल खुशीले गद्‌गद्‌ छन्।  


क्वारेन्टाइन परिसर सरसफाइ गर्दै नेपाली सेना।

क्वारेन्टाइनमा ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन वटा ब्ल्क विभाजन गरिएको छ भने औषधि लगायत दैनिक रुपमा आवश्यक सबै सामग्री राखिएको पनि छ । क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई उच्च निगरानीमा राखेर दैनिक दुई पटक चेकजाँच गरिन्छ । 

चीनबाट ल्याइएदेखि नै उनीहरुलाई बाहिरी पेरिफेरीमा जान दिइएको छैन। उनीहरुले अभिभावकहरुसँग पनि प्रत्यक्ष भेट्न पाएका छैनन्। तरपनि, भाइरस संक्रमणमा पर्ने डरमा  चीनमा त्रसित हुँदै दिनरात काटिरहेका नेपाली विद्यार्थीहरु आफ्नै देशमा आउन पाउँदा औधी खुशी भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.