|

डडेल्धुरा :डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक आउन थालेपछि बन्द रहेका सेवा पुनः सञ्चालनमा आएका छन्। समायोजनसँगै चिकित्सकविहीन जस्तै बनेको अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै बन्द रहेका सेवा पुनः सञ्चालनमा आएको हो।

अस्पतालमा विशेषज्ञ सेवा पाउन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरासहित बैतडी, दार्चुला, डोटी, बझाङलगायतका जिल्लाका बिरामीलाई उपचारका लागि सहज भएको छ।

सुदूरपश्चिम प्रदेशमै संघीय सरकारको मातहत रहेको एक मात्र डडेल्धुरा अस्पतालमा चिकित्सकको अभावका कारण सेवा सुविधा खस्कँदै गएको बेला नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले छात्रवृतितर्फका चारजना  विशेषज्ञ चिकित्कस पठाएको अस्पताल स्रोतले बताएको छ। 

अहिले अस्पतालमा नौजना विशेषज्ञ चिकित्सक रहेका छन्। तीमध्ये दुई स्त्रीरोग विशेषज्ञ, एक हाड जोर्नी, एक जनरल फिजिसिएन, एक दन्तरोग, एक एनेस्थेसिया, दुई बालरोग र एकजना एम्डिजिपी रहेको स्त्रीरोग विशेषज्ञ डा. राजन शाहले जानकारी दिए।

विशेषज्ञ चिकित्सक आएसँगै हाडजोर्नी, बालरोग, महिला तथा प्रसूति रोग, इन्डोस्कोपीसहित जनरल शल्यक्रिया सेवा सञ्चालन भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए। ‘बन्द भएका सेवा मात्र हैन,’ उनले भने, ‘हामीले थप दुई सेवा सुरु गरेका छौं।’

आङ खसेका महिलाको योनीबाटै पाठेघर निकाल्ने अपरेसनसमेत अहिले डडेल्धुरामा नै सुरु भएको स्त्रीरोग विशेषज्ञ डा. शाहले जानकारी दिए। उनले भने, ‘प्रसूति र स्त्रीरोग विभागमा सुधार गर्न सक्षम भएका छौं।’

मन्त्रिपरिषद्को गत २०७५ फागुन ३ को निर्णयअनुसार डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी स्तरोन्नति गर्ने निर्णय गरिएको थियो। हाल डडेल्धुरा अस्पतालमा यस अस्पतालमा २० जना विशेषज्ञ चिकित्सक, १९ जना मेडिकल अफिसर, ३० स्टाफ नर्स गरी नेपाल सरकार तर्फबाट १०९ जनाको दरबन्दी रहेको छ।

डडेल्धुरा अस्पतालले विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक अझैं पाएको छैन। अस्पतालले ११औं तहको मेडिकल सुपरिटेण्डेन्टसमेत पाएको छैन। तत्कालीन जिल्ला अस्पताल व्यवस्थापन समिति भंग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समितिसमेत गठन हुन सकेको छैन।

गत महिना संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालको निरीक्षण गरेका थिए। उनले विशिष्ट विशेषज्ञ अस्पतालको विकास समितिहरूले छिटै पूर्णता पाउने बताएका थिए। तर, हालसम्म विकास समितिले पूर्णता पाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.