|

बारा : बारामा मसानघाटको सार्वजनिक जग्गा किर्ते गरेर भूमाफिया तथा केही जग्गा कारोबारीले भोगचलन गरेको सूचना पाएपछि सम्बन्धित निकायले छानविन तथा अनुसन्धान शुरु गरेको छ।

साबिक पिपरासिमरा गाविस हाल जितपुरसिमरा उप-महानगरपालिका-४ को  कित्ता नं ५९ को मसानघाटको ६ बिघा ८ कठ्ठा सार्वजनिक जग्गा किर्ते तथा जालशाजी गरेर केही भुमाफिया र जग्गा कारोवारीहरुले भोगचलन गरिरहेको थाहा सञ्चारमा समाचार आएपछि सम्बन्धित निकायले चौतर्फीरूपमा अनुसन्धान सुरु गरेका  हुन्।

अख्तियार  दुरुपयोग अनुसन्धान आयोग, सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण आयोग,जिल्ला प्रशासन कार्यालय बारा, जीतपुरसिमरा उप-महानगरपालिका र सम्बन्धित वडाले मसानघाटको सार्वजनिक जग्गा के कसरी किर्ते गरी व्यक्तिको नाममा  श्रेस्ता कायम भएको हो भनी  चौतफी रुपमा  खोजबिन तथा अनुसन्धान शुरु गरेको हो।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले मालपोत र नापी कार्यालय सिमराबाट सो जग्गासँग सम्बन्धित आवश्यक कागजपत्रसहित मसानघाटको स्थलगत अनुगमनसमेत  गरेको छ।

‘हामी अहिले यो जग्गाको  प्रारम्भिक अनुसन्धानको क्रममा छौँ, अब २०२१ सालको नापीमा मसानघाट भनी उल्लेख भएको जग्गा रामचन्द्र गौतमले के आधारमा आफ्नो नाममा श्रेस्ता कायम गरे, त्यो विषयमा आयोगले खोजबिन गर्छ’ मसानघाटको स्थलगत अनुगमनमा आएका अख्तियारका एक अधिकारीले भने, ‘२०२१ सालभन्दा अगाडिदेखि गौतमले भोगचलन गरेको तिरो तिरेको सम्पूर्ण कागजपत्रसहितको प्रमाण पेस गरेमा मात्रै उसको हकभोग लाग्न सक्छ, तर २०२६ सालमा १९

वर्ष उमेर पूरा भएर काठमाडौं धर्मस्थलीबाट नागरिकता लिएको व्यक्तिले २०२१ सालअघि देखि यो जग्गा कसरी  भोगचलन गर्यो त, यो त सम्भवै नहुने कुरा हो’ मसानघाटको ६ बिघा ८ कठ्ठा सार्वजनिक जग्गा २०४७ साउन ३० गते रामचन्द्र गौतमले जालशाजी गरेर फरदवा गुठीको माध्यमबाट आफ्नो नाममा पुर्जा बनाएको अनुसन्धानको क्रममा भेटिएको छ।

२०४७ सालमा गौतमले किर्ते गरेको सो जग्गा दोस्रो चरणमा उनकै भाइहरू रामशरण गौतम र मोतीराम गौतम हुँदै तेस्रो चरणमा २०७१ सालमा होमनाथ अधिकारी,रविप्रसाद अधिकारी, शिवप्रसाद गौतम र शान्तिदेवी मिजारको नाममा जग्गाधनी पुर्जा बनेको देखिन्छ।

पछिल्लो समय २०७१ सालपछि सो जग्गा सिमराका चर्चित तारे होटलका सञ्चालक इच्छाबहादुर वाग्ले र उनी सञ्चालक रहेको प्रोपटी म्यानेजमेन्टको, केही उद्योगी तथा सर्वसाधारणको नाममा पुर्जा बनेको अनुसन्धानको क्रममा भेटिएको छ।

 मसानघाटको  सार्वजनिक जग्गा प्लटिङ गरेर बेचबिखन भएको  समाचार सार्वजनिक भएपछि सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले पनि अनुसन्धान सुरु गरेको छ ‘फिल्डबुकमा मसानघाट  भनी उल्लेख भएको सार्वजनिक जग्गा कुनै अवस्थामा पनि व्यक्तिको नाममा श्रेस्ता  कायम हुन सक्दैन, यो  ढिलो चाँडो व्यक्तिको श्रेस्ता बदर भएर नेपाल सरकार नाममा आउँछ, यसमा हामीले पनि अनुसन्धान गरिरहेका छौँ’ आयोगका सदस्य जानकी बल्लभ अधिकारीले भने। आयोगले पनि  मसानघाटको जग्गा के आधारमा व्यक्तिको नाममा श्रेस्ता कायम भयो भनी सम्पूर्ण विवरणसहित अनुसन्धान शुरु गरेको छ।

चौतर्फीरूपमा दबाब आएपछि जिल्ला प्रशासन कार्यालय बाराले पनि  माघ २८ गते नापी र मालपोत कार्यालयलाई पत्र पठाएर सो जग्गा सम्बन्धमा फिल्डबुक,नक्सा,श्रेस्तासहित सम्पूर्ण कागजपत्र हेरी यथार्थ कुरा बुझी लेखिपठाउन निर्देशन दिएको छ।

जितपुरसिमरा उप-महानगरपालिकाले  माघ २६ गते  मालपोत कार्यालय सिमरालाई पत्र पठाएर मसानघाटसहित जितपुरसिमरा-२३ को  प्रद्युम्नराज पाण्डेले भोगचलन गरेको २० बिघा सार्वजनिक जग्गाको किर्ते पुर्जा बदर गरी सरकारको नाममा कायम गर्ने सम्बन्धमा  प्रकिया कहाँसम्म  पुगेको छ सो सम्बन्धमा जानकारी पठाउन पत्र पठाएको  छ।

साबिक कित्ता नं ५९ सो जग्गा हाल कित्ताकाट भएर झण्डै २ दर्जन कित्ता भएको छ। ईच्छा होटलका मालिक तथा प्रोपटी म्यानेजमेन्टका सञ्चालक इच्छाबहादुर वाग्लेले प्लटिङ गरेको ६ बिघामध्ये  अधिकांश जग्गा बेचबिखन गरिसकेका छन् भने झण्डै डेढ बिघा अझै पनि उनको नाममा छ।

जितपुरसिमरा उपमहानगर-४ का वडाध्यक्ष भोजबहादुर खत्रीले आफ्नो वडाको मसानघाटको सार्वजनिक जग्गा वाग्लेले प्लटिङ गरेर बेचबिखन भएको सूचना पाएलगत्तै जीतपुरसिमरा उपमहानगर, जिल्ला प्रशासन कार्यालय बारा, र मालपोत कार्यालय सिमरालाई पत्र पठाएर रामचन्द्र गौतमको नाममा कायम भएको निजी  श्रेस्ता बदर गरी मसानघाटको सार्वजनिक जग्गा  मसानघाट नै कायम गर्न आवश्यक प्रकिया अगाडि बढाउन पत्रमार्फत अनुरोध गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.