समाज

विदेशमा कोसेली बन्दै अल्लोबाट बनेका कपडा

फागुन ६, २०७६

    संखुवासभा : अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको माग देश तथा विदेशसम्म हुन थालेको छ। प्रख्यात कोसेलीका रुपमा प्रयोग हुने अल्लोको माग बिदेशमा समेत बढेको ब्यवसायी बताउँछन्। 

    जिल्ला बाहिरबाट आएका आन्तरिक पर्यटक र  कर्मचारीले संखुवासभाबाट घर जाँदा वा नातेदार र साथीभाइ भेट्न जाँदा अल्लोका कपडा उपहार लिएर जाने गर्छन्। अहिले संखुवासभा बस्ने अधिकांश मानिसले अल्लोबाट बनेका का कुनै न कुनै कपडा प्रयोग गरिहेका भेट्न सकिन्छ। 

    सदरमुकाम खाँदबारीमा संखुवासभा कोसेली घर चलाउने विश्व लिम्बू भने, 'जिल्लामा काम गरेर अन्य क्षेत्रमा सरुवा भएर जाने कार्यालय प्रमुख र कर्मचारीले समेत अल्लोबाट बनेका समानको कोसेलीका रुपमा लिएर जाने गर्छन्।' 

    अल्लोबाट बनेका कपडा लिन सेना, प्रहरी, कार्यालय प्रमुख समेत संखुवासभा कोसेली घरमा आउन गरेको ब्यवसायी लिम्बूको भनाइ छ। अलैंची र कृषिमा घाटा लागेपछि अल्लो ब्यवसायले लागेको उनको भनाइ छ। कोसेली घरका लिम्बूले अहिले दैनिक रुपमा अल्लोका झोला, लेडिज ब्याग, आउटर, सल, लेडिज जुत्ता, चप्पल, पर्स जस्ता विभिन्न सामग्रीहरू बिक्री गर्ने गरेको बताए।  

    जिल्लामा २९ वटा अल्लो उद्योग ब्यवसायिक रुपमा संञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाले जनाएको छ। जसअनुसार सिलिचोङ गाउँपालिकामा १६ ,खाँदबारी नगरपालिका ४ वटा, चैनपुर २ वटा, धर्मदेवी ३ वटा, मादी नगरपालिका २ वटा, चिचिला र मकालु गाउँपालिकामा एक एक वटा रहेका छन्। अल्लो खेती २०४६ देखि व्यवसायिक रुपमा गर्न थालिएको हो।

    साबिक बाला, सिसुवाखोला, ताम्कु, मांतेवा, याफू, पाथिभरा, नुम, मत्स्यपोखरी, पावाखोला, बाह्रबिसे, तामाफोक गाविसका सामुदायिक र राष्ट्रिय वनमा अल्लो प्रचुर मात्रामा पाइने गरेको छ। अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट संकलन गरेर पकाउँदै धागो बनाइन्छ। यसरी धागो बनाएपछि कपडा उत्पादन हुने र यो देशका विभिन्न बजार हुँदै अमेरिका तथा जापानसम्म निर्यात हुने गरेको छ। 

    अल्लो एक वर्षे वुट्यान हो। यो १/२ मिटर उचाइको भएपछि काटेर ल्याउने र बोक्रा निकालेर पाट बनाइन्छ। यसरी काटेपछि पुनः रोपण नगर्दा अल्लो जंगल मासिने क्रममा छ। यसको संरक्षणमा ध्यान नदिएपछि मासिने क्रम बढेको हो।

    सामुदायिक र राष्ट्रिय वनमा अल्लो संकलनमा रोक लगाएपछि ती वनमा पर्याप्त रहे पनि प्रयोगविहीन भएको र अन्यत्र मासिने क्रममा रहेको हो। अधिकांश गाउँ पालिकमा यसको रोपण भएको छैन। अहिले जिल्लाका मत्स्यपोखरी, तामाफोक, जलजला, सिद्धपोखरी र नुनढाकी गाविसमा सामुदायिक वनको माध्यमले यसको संरक्षण सुरु गरिएको छ। 

    अल्लोको कपडाको कोट ३ हजार, टोपी ५ सय, सल ७ सय, स्याण्डल ५ सय, स्टकोट १५ सय रुपैयाँमा बिक्री हुन्छ। मफलर, पर्स, चस्मा व्याग, लेडिज पर्स, लेडिज झोला र साइड व्याग बनाउन अल्लो प्रयोग गरिन्छ। यी वाहेक कपडाबाट बन्ने प्रायः सबै सामान अल्लो बाट बनाउने र बिक्री गरिन्छ।  अल्लो उद्योगबाट ६० घर परिवारको आश्रित रहेको पाइएको छ भने २ सय भन्दा बढीले रोजगारी पाएका छन्।

    यीमध्ये काठमाडौंमा बिक्री गर्न बसेका १७, खाँदबारीमा खरिद बिक्री र कपडा उत्पादन गर्न ४५, गाविसका टोलटोलसम्म कपडा बुन्ने, पाट संकलन गर्ने, प्रशोधन गर्नेको संख्या ४३० परिवार रहेको छ। यी सबको मुख्य पेशा अल्लो संकलन, प्रशोधन र बुनाइ तथा निकासी गर्नु हो। 

    गाउँमा बुनेका कपडा सदरमुकाम खाँदबारी हुँदै बिराटनगरदेखि काठमाडौं सम्मका डिपार्टमेण्टल, मिनी र सुपर मार्केटमा पर्याप्त मात्रमा पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]