सरकारले सुरक्षा पोस्टहरु बढाउने तयारी

|

काठमाडौं : उपप्रधान एबम् रक्षामन्त्री ईश्वर पोखरेलले भारतले अतिक्रमण गरेको दार्चुलास्थित कालापानी क्षेत्रको स्थलगत अनुगमन गरेको जनाएका छन्।

सोमबार दिउँसो दार्चुला सदरमुकामस्थित ब्यारेकबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार भएर पोखरेलसहितका सरकारी अधिकारी र केही पत्रकारले करिब २० मिनेटसम्म कालापानी क्षेत्रको निरीक्षण गरेको जनाइएको छ। 

तर मन्त्री पोखरेलले यसो भनिरहँदा स्थानीय पत्रकारहरुले भने मन्त्री पोखरेल सवार हेलिकोप्टर कालपानीक्षेत्रबाट करिब १५ किलोमिटर वरबाटै फर्किएको दाबी गरेका छन्। 

मन्त्री पोखरेलले भने सोमबार साँझ काठमाडौं फर्किएपछि सामाजिक सञ्जालमार्फत कालापानी क्षेत्रको स्थलगत अनुगमन गरेको जनाएका हुन्। 

'जिल्लाका जनप्रतिनिधिहरू, प्रतिनिधिसभाका सदस्य, प्रदेश सभाका सदस्यहरू, नेपाली सेनाकोतर्फबाट सीमा सुरक्षा हेर्ने समन्वय अधिकारी तथा सञ्चारकर्मीसहित दार्चुलाको कालापानी क्षेत्रको संवेदनशील र अतिक्रमित भूमिको निरीक्षण गर्ने काम गरियो', उनले भनेका छन्, 'बाक्लो हिमपातका कारण अवलोकन गर्न चाहेका केही महत्वपूर्ण ठाउँहरूमा स्थलगत भ्रमण गर्न अनुकूलता बनेन। तर पनि यसपटकको ती संवेदनशील र अतिक्रमित ठाउँहरूको स्थलगत अवलोकन भ्रमणले सरकारका तर्फबाट गर्नुपर्ने कामहरू सुनिश्चित गर्न थप सहयोग पुगेको छ।'

मन्त्री पोखरेलले ती भूमि नेपालकै हुन् भन्ने तथ्यहरु रहेको जनाउँदै अब सरकारले यसमा बलियो पहलकदमी लिने जनाएका छन्। 'ऐतिहासिक तथ्य प्रमाणहरू तथा सिंगो मुलुकका राजनीतिक शक्तिहरूको साझा र संयुक्त अडानका बलको आधारमा गंभीर राजनीतिक/ कुटनीतिक पहललाई अविलम्व अघि बढाउनु त जरूरी छ नै', उनले भनेका छन्, 'पूर्वाधारका ज्वलन्त कामहरू (खासगरी दार्चूला-टिंकर भन्ज्याङ सडक बनाउनुपर्ने काम) लाई जुनसुकै तरिकाबाट ढिलो नगरी सम्पन्न गर्नुपर्ने छ।'

उनले आवश्यक र संवेदनशील स्थानमा सुरक्षा अंगहरूको उपयुक्त पोस्टिङ गरिने पनि जानकारी दिए। 'हो, हामी गर्छौँ, केपी शर्मा ओलीको नेतृत्वको कम्युनिष्ट पार्टीको सरकारले यी काम ढिलाइ नगरी गर्नेछ, अघि बढाउनेछ', उनले भने, 'इतिहासले लामो समयदेखि अकर्मण्यतासाथ अधुरै छोडेका राष्ट्रिय अभिभारा हामी पुरा गर्नेछौं।'

ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि गएका थिए। आइतवार दार्चुला पुगेका मन्त्री पोरखेलले त्यहाँस्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरेका थिए। 

भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो। 

उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गरेका  पोखरेलले यसअघि २०५३ सालमा टेकेका थिए। तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मङ्सिर १७ गते दार्चुला पुगेका थिए।

सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता  बढाइएको थियो। पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो। त्यसपछि नेपाल सरकारले ती भूमि आफ्नो भएको दाबी गरेको थियो।

दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिङ्कर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य शुरु भएको छ। अहिले रक्षा मन्त्रालयको अधिकारीसहित भ्रमण गर्ने भएपछि यो सडक नेपाली सेनाले बनाउन सक्छ भन्ने आशा स्थानीयस्तरमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.