|

बाग्लुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ग्रामीण पर्यटनको विकास नै प्रदेश समृद्धिको आधार भएको बताएका छन्।

गाउँका कुनाकन्दरा विकासका लागि नै देशले संघीय प्रणाली रोजेको बताउँदै उनले गाउँगाउँमा रहेका सम्भावनाका क्षेत्रमा पर्यटनको विकास गरेर प्रदेशको आर्थिक उपार्जनको आधार बनाउने उद्घोष समेत गरे।

सोमबारदेखि गलकोट नगरपालिका–५ टेउवामा सुरु भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले कलाका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको चिनारी बढाउन सकिने बताए। गलकोट कला प्रतिष्ठानको आयोजनामा कार्यशाला सुरु भएको हो। कार्याशालामा नेपालसहित ११ देशका कलाकार सहभागी छन्। 

मुख्यमन्त्री गुरुङले कार्याशालाले संसारभर नेपाली सभ्यता र संस्कार फैलाउने अवसर समेत मिलेको बताए। ‘१० देशका मूर्तिकारले यहाँको सन्देश लिएर जानुहुनेछ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनका हिसाबले यसको महत्त्व छ।’

कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन्। कार्यशाला स्थलमा ११ वटा देशका झण्डा फहराइएको छ। मूर्ति कुँद्नका लागि ठूला ढुंगा ल्याएर राखिएको छ। कलाकारलाई त्यही बस्ने व्यवस्था गरिएको छ। मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा सहभागी छन्। 

प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिन २०५ जनाले आवेदन दिएका थिए। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेका हुन्। कलाकारले मानव सभ्यता, भेषभूषा, प्रकृति आदि विषयमा मूर्ति बनाउन पाउनेछन्। कार्यशाला फागुन २१ सम्म चल्नेछ। कार्याशाला सम्पन्न गर्न डेढ करोड रुपैयाँ खर्च आयोजकले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.