|

काठमाडौं : गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार। अझ भन्‍नुपर्दा सरकारी स्वास्थ्य संस्थाबाट जनतालाई सुलभ र गुणस्तरीय सेवा दिनु पनि राज्यको दायित्व हो।

तर, देशभरका ८४ जिल्ला अस्पतालहरूमध्ये १७ वटा जिल्ला अस्पताल   न्यूनतम सेवा मापदण्डमा र अन्य ६ अस्पताल अति कमजोर देखिएका छन्। समग्र मूल्यांकनको ३८ प्रतिशतभन्दा कम नम्बर पाउने अस्पतालको संख्या ६ रहेको छ।

ती अस्पतालहरूमा मलंगवा अस्पताल, पाल्पा अस्पताल, लमही अस्पताल, गौर अस्पताल, इनरुवा अस्पताल र रंगेली अस्पताल रहेको पाइएको छ।

परीक्षामा उनीहरुले न्यूनतम सेवासमेत दिन नसकेको देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा गरेको अध्ययनले ८४ अस्पतालहरूमै न्यूनतम सेवा नभएको पाइएको थियो।  अस्पतालहरूले ४८ प्रतिशत मात्रै नम्बर पाएका थिए।

तर, दोस्रो र तेस्रो अध्ययनमा १७ अस्पताल मात्रै न्यूनतम सेवा मापदण्डमा कमजोर भएको पाइएको छ। मन्त्रालयले विभिन्न आठ शीर्षकमा २ सय ९० प्रश्न बनाएर जम्मा ३ सय ५० पूर्णांकको आधारमा मूल्याङ्कन गरिएको थियो। जिल्ला अस्पतालले दिने सेवासुविधामा वृद्धि गर्ने र न्यूनतम सेवा गुणस्तरीयरूपमा दिने उद्देश्यले उनीहरूको क्षमता मूल्यांकन गर्न यस्तो आधारमा मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ।

संघीय अस्पतालकै सेवा कमजोर

यस्तै, देशकै केही संघीय अस्पतालले दिने सेवा पनि कमजोर देखिएको छ। विशिष्ठिकृत सेवा दिनुपर्ने केही संघीय अस्पतालहरूले समेत त्यस्तो सेवा दिन नसकेको पाइएको हो।

१७ जिल्ला अस्पतालले भने १७५ नम्बर मात्रै ल्याउन सफल भएका छन्। ती अस्पतालहरूले दिएको सेवा ठिक छ भन्नका लागि कम्तीमा पनि ८० प्रतिशत अर्थात् २८० नम्बर ल्याउनुपर्छ। त्यस्तै, ५८ अस्पतालहरू पनि कमजोर देखिएका छन्। तर, ती अस्पतालहरुले दिने सेवा सुधारिँदै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१९ अस्पतालले भने ८० प्रतिशतमाथि नम्बर ल्याएका छन्। त्यस्तैः ९० प्रतिशत बढी अर्थात् ३१५ नम्बर ल्याउनेमा सिन्धुली अस्पताल, दैलेख अस्पताल, गुलरिया अस्पताल, मातृ शिशु मितेरी अस्पताल रहेका छन्।

केन्द्रीय अस्पतालको परीक्षा हुँदै

जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्डको मूल्यांकन सकेको स्वास्थ्य मन्त्रालयले केन्द्रीय अस्पतालको पनि परीक्षा लिँदैछ। प्रारम्भिक अध्ययनअनुसार जिल्ला अस्पतालभन्दा केन्द्रीय अस्पताल झन् कमजोर देखिएका छन्।

मन्त्रालयका नीति योजना तथा अनुगमन शाखा प्रमुख डा. विकास देवकोटाले न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पतालभन्दा पनि केन्द्रीय अस्पताल कमजोर रहेको बताए। उनले भने, ‘जिल्लास्तरका अस्पतालले दिने सेवामा हाल केही सुधार भएको पाइएको छ तर केही केन्द्रीय अस्पतालले दिने सेवा झन् कमजोर छ।'

जिल्ला अस्पतालहरू प्राथमिक अस्पतालका दर्जामा छन्। त्यहाँ कम्तीमा मेडिकल अधिकृतको नेतृत्वमा रहनेछ। सामान्यतः १५ शय्याको तर जनसंख्याको आधारमा ५० शय्यासम्म हुन सक्नेछ। जिल्ला अस्पतालबाट सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्रीरोग तथा प्रसूति, बाल तथा शिशु सेवा दिनुपर्ने हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.