कार्यक्रम लागू गर्ने देशको ५२ औँ र प्रदेशको ७ औँ जिल्ला

|

पर्वत : आर्थिक समस्याका कारण उपचारमा कठिनाइ भएकालाई मध्यनजर गर्दै पर्वत जिल्लामा पनि देशका अन्य ५१ जिल्लामा जस्तै स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ।

सोमबार स्वास्थ्य बीमा बोर्डका निर्देशक रमेशकुमार पोखरेल र स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका प्रमुख जीवलाल खरेलसहितको उपस्थितिमा पर्वतमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको घोषणा गरिएको हो। यससँगै पर्वत जिल्ला स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने देशको ५२ औँ र गण्डकी प्रदेशको सातौँ जिल्ला बनेको छ।

तिनुपर्ने रकम कति?

स्वास्थ्य बीमा गर्ने परिवारमा ५ जना सदस्य भएमा एकमुष्ट रूपमा वार्षिक ३५ सय रुपैयाँ बीमाको प्रिमियमको रूपमा जम्मा गर्नुपर्ने तर ५ जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्यको ७ सय रुपैयाँका दरले रकम थप गर्नुपर्ने पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए।

एक वर्षको लागि बीमा शुल्क तिरेका व्यक्तिले वर्षमा एक लाख सम्मको निःशुल्क उपचार गर्न पाउने छन्। ‘आर्थिक समस्याका कारण बढी रकम खर्च गर्न नसक्नेहरूका लागि यो कार्यक्रम निकै नै उपयोगी छ’ पहाडीले भने, ‘यसको विषयमा सबैले कुरा बुझ्नुपर्छ। स्वास्थ्यको बारेमा ख्याल गर्नुपर्छ। स्वस्थ रहनुपर्छ।’

के हुन्छन् सुविधा?

स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले नेपाल सरकारबाट निःशुल्क उपलब्ध गराइएका सम्पूर्ण स्वास्थ्य सुविधाहरू त प्राप्त गर्ने नै छन् त्यसबाहेक बहिरङ, अन्तरङ र आकस्मिक कक्षबाट प्रदान गरिने सेवाहरू तथा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवाहरू पनि पाउने छन्।

‘५ जनासम्मको परिवारले आवश्यक पर्दा वार्षिक एक लाख सम्मको स्वास्थ्य बीमा उपभोग गर्न पाउँछन्’ बीमा बोर्डका निर्देशक पोखरेलले भने, ‘धनी-गरिब सबै वर्गलाई उचित स्वास्थ्य सेवा पाउनको लागि, उपचारको लागि विदेश जान नसक्ने तथा नेपालमै पनि लाखौँ खर्च गर्न नसक्नेलाई यसबाट बढी नै सजिलो र फाइदा हुन्छ।’

बीमाका लागि एक पटक नवीकरण गरिएको शुल्कले एक वर्षका लागि मात्र काम गर्नेछ। तर नवीकरण गर्दा निर्धारित मिति सकिनुभन्दा एक महिना अगाडि नै गरिएको हुनुपर्ने नियम राखिएको छ। बीमामा समावेश भएका ७० वर्ष माथिका प्रत्येक ज्येष्ठ नागरिकको बीमा निःशुल्क रूपमा गरिने र एक लाख सम्मको औषधि उपचार सेवा प्राप्त गर्ने छन्।

स्वास्थ्य बीमा कार्यक्रममा कस्मेटिक सर्जरी, सहायक उपकरण यन्त्रहरू चस्मा, कान सुन्ने यन्त्र लगायत उपलब्ध नहुने, दाँतसम्बन्धी महँगा उपचार, कृत्रिम गर्भाधान, लिङ्ग परिवर्तन लगायतका केही सेवा भने समावेश नभएको बीमा बोर्ड गण्डकी प्रदेश प्रमुख जीवलाल खरेल बताउँछन्।

बीमा गरेकै आधारमा आफ्नो जिल्लाको सूचीकृत अस्पताल छोडेर बाहिरका अस्पतालमा जाँदैमा सेवा नपाइने तर तोकिएको अस्पतालको सिफारिस साथ अन्य सूचीकृत अस्पतालमा गएमा भने सेवा पाइने उनको भनाई छ।

पर्वतका ६१ वटा वडामै लागू

बीमा कार्यक्रम लागू भएको घोषणा कार्यक्रममा बोल्दै खरेलले यो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि जिल्लाका स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवा पनि राम्रा बनाइनुपर्ने बताए। अहिले देशमा रहेका तीन तहको सरकार संरचना जस्तै बीमा कार्यक्रमलाई पनि संघीयताकै ढाँचा अनुरूपको संरचनामा लगिने पनि उनको भनाई छ।

जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेलले पर्वत अस्पतालमा सबै उपकरण रहेर पनि विशेषज्ञको केही अभाव रहेको अवस्थामा यसलाई सुधार गर्दै सकेसम्मको सेवा दिने प्रतिबद्धता व्यक्त गरे। बीमा कार्यक्रम लागू भएसँगै पर्वतका ७ पालिकाका ६१ वटै वडामा राखिएका दर्ता सहयोगीले गाउँ गाउँमा पुगेर स्वास्थ्य बीमाको बारेमा जानकारी दिँदै बीमा गराउने छन्। 

यस्तो छ अवस्था

नेपालमा सबैभन्दा पहिले आर्थिक वर्ष २०७२/७३ मा बागलुङ, कैलाली र इलाम गरी तीन जिल्लाबाट एकै पटक स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो। यो कार्यक्रममा हालसम्म देशभर झन्डै २६ लाख भन्दा बढी नागरिक आबद्ध भइसकेका छन्। बोर्डले उपचारको लागि सूचीकृत अस्पतालहरूलाई ६० करोड भन्दा बढी रकम भुक्तानी दिइसकेको छ।  

गण्डकी प्रदेशको मात्र तथ्यांक हेर्ने हो भने स्वास्थ्य बीमामा आबद्ध भएकाहरूले २४ करोड भन्दा बढी प्रिमियम जम्मा गरिसकेका छन्। गण्डकीका ३५ ओटा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमको सूचीकृत अस्पतालका रूपमा राखिएको छ।

११ जिल्लाहरू रहेको गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङ जिल्लामा भने यो कार्यक्रम लागू हुन बाँकी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.