|

म्याग्दी : म्याग्दी जिल्लाको विकट पश्चिम क्षेत्र जोड्ने विभिन्न स्थानमा मोटरेबल र झोलुङ्गे पुल निर्माण भएपछि अब पश्चिम म्याग्दीले काँचुली फेर्ने भएको छ।

पुलकै अभावमा सवारीसाधन तथा मानिसहरुलाई सदरमुकाम बेनी लगायतका विभिन्न ठाउँहरुमा आउजाउ गर्न समस्या भएकोमा म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करिब एक दशकपछि निर्माण भएको मोटरेवल पुल र मंगला गाउँपालिका–२ को काफलचौर र कोत्रवाङलाई जोड्न भाईबाङ खोलामा निर्माण भएको झोलुङ्गे पुलले अब त्यस क्षेत्रका वासिन्दाहरुको दैनिकी सहज हुने भएको हो।

यी दुईओटै पुलको सोमबार  गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गरेपछि दुवै पुल सबैका लागि खुला गरिएको छ।

तत्कालीन जिविसअन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत २०६७ मा शुरु भएको सो पुलको ढाँचा असफल भएपछि पुरानो ठेक्का रद्द गरेर जिविस र प्राविधिक कार्यालयले पुनःसर्वेक्षण गराएर २०७३ मा अर्को ठेक्का सम्झौता गरी आयोजनालाई अघि बढाइएको थियो।

पुल उद्घाटन गर्दै मन्त्री बस्नेतले वर्षौंदेखि अलपत्र परेको पुल प्रदेश सरकार मातहतको कार्यालयमा हस्तान्तरण भएसँगै निर्माण सम्पन्न हुनुले सकरात्मक सन्देश प्रवाह गरेको बताए। उनले संघीयतासँगै मुलुकमा विकासको युग सुरु भएको बताउँदै विकास निर्माणमा राम्रो काम गर्नेलाई प्रोत्साहन र ढिलाई गर्नेलाई कारबाहीको व्यवस्था गरिएको बताउँदै निर्माण व्यवसायिहरुलाई सचेत हुन आग्रह गरे।

उनले बेनीदेखि दरबाङ हुँदै मुना जोड्ने सडक कालोपत्रेको लागि अहिले दरबाङसम्मको दुईवटा प्याकेजको काम अघि बढेको र बावियाचौर खण्ड र दरबाङदेखि अगाडिको काम समेत छिट्टै अघि बढ्ने जानकारी दिए।

दुखुखोलामा मोटरेवल पुल निर्माण भएसँगै सवारी साधन र सर्वसाधारण खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ। बेनी–दरवाङ सडक मङ्गला, मालिका, धवलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो।

त्यसैगरी सोमवार नै मन्त्री बस्नेतले म्याग्दीको मंगला गाउँपालिका–२ को काफलचौर र कोत्रवाङलाई जोड्न भाईबाङ खोलामा निर्माण भएको झोलुङ्गे पुलको पनि उद्घाटन गरेका छन्।

कुल ४७ लाख ७ हजार ९ सय ३३ रुपैयाँको लागतमा निर्माण भएको १०४ मिटर लामो झोलुङ्गे पुलबाट कोक्रवाङ, भाईबाङ, र्‍यालेखोर, कुहुँ, भरजुला, भाइवाङका बासिन्दा लाभान्वित भएका छन्। पुल निर्माण भएपछि १४९ घरधुरीका ८५८ जनसंख्या लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर खत्रीले जानकारी दिए।

पुल निर्माणमा स्वाप कार्यक्रमअन्तर्गत संघीय सरकारको सशर्त अनुदान ३७ लाख २१ हजार पाँच सय २३ र पाँच लाख ७४ हजार ५०३ बराबरको सामग्री खरिद सहयोग तथा मंगला गाउँपालिकाको दुई लाख ८७ हजार ३०७ रुपैयाँ लगानी र समुदायको १ लाख २४ हजार ६ सय बराबरको श्रमदान भएको छ।

गत भदौ २१ गतेदेखि निर्माण सुरु भएको यस झोलुङ्गे पुल निर्माण कार्य आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्न समय रहेपनि माघ १० गते नै सम्पन्न भएको थियो। नवनिर्मित पुलको उद्घाटन गर्दै मन्त्री बस्नेतले लक्ष्य अगाबै योजनालाई सम्पन्न गरि नमुना कार्य गरेको भन्दै प्रशंसा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.