६० प्रतिशत आउनुपर्नेमा स्थानीय तहलाई वार्षिक ५ प्रतिशत मात्रै

|

हिमाली जिल्ला म्याग्दीको पश्चिमी भेगमा पर्ने धवलागिरि गाउँपालिका पर्यटन, जडीबुटी र कृषि तथा पशुपालनका लागि प्रशस्तै सम्भावना भएको गाउँपालिका हो। साविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गाविस मिलेर बनेको यो जिल्लाको झन्डै ४५ प्रतिशत भूभाग ओगटेको छ।

यस गाउँपालिकाको ४ नम्बर वडा मुदीमा संसारको सातौं अग्लो हिमाल (८,१६७ मि.) धौलागिरि हिमाल पर्दछ। अल्पसंख्यक छन्त्याल समुदायको समेत बस्ती रहेको यस गाउँपालिकामा पर्यटनको सम्भावना उच्च देखिन्छ।

त्यसका साथै जडीबुटी संकलन तथा प्रशोधन गरी बिक्री गर्न सक्ने हो भने यस गाउँपालिका समृद्ध गाउँपालिका बन्न सक्ने प्रवल सम्भावना गाउँमा रहेका स्रोतहरूमा नै रहेको छ। प्रस्तुत छ भौगोलिक रुपमा अत्यन्त दुर्गम मानिएको यस गाउँपालिकाको सम्भावना, विकास र चुनौतीका विषयमा धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनसँग थाहा खबरका म्याग्दी संवाददाता ध्रुवसागर शर्माले गरेको कुराकानी : 

निर्वाचित भएको साढे दुई वर्षको अवधिमा गाउँपालिकाको विकास र समृद्धिका लागि के के काम गर्नुभयो?

हामी गाउँपालिकामा निर्वाचित भएर आएको साढे २ वर्ष बितिसकेको छ। यस अवधिमा खासगरी गाउँपालिकाको केन्द्र कायम गर्नुका साथै कार्यालय व्यवस्थापन, गाउँपालिकाको भवन निर्माणका लागि १० रोपनी जग्गाको व्यवस्थापन, आवधिक योजनाहरू बनाउने, गाउँपालिकाको ७ वटै वडाभित्र हेलिप्याड निर्माण, खेलमैदान व्यवस्थित र निर्माणजस्ता कामहरू सम्पन्न भएका छन्।

सडकतर्फ गाउँपालिकाको १ नम्बर वडा गुर्जाबाहेक २, ४, ५ र ६ नम्बर वडालाई कच्ची सडकले जोड्ने काम अगाडि बढेको छ। ७ र ३ नम्बर वडामा सडकको स्तरोन्नतिको काम भएको छ। विद्युतर्फ भने केन्द्रीय प्रसारण लाइन ७ र ६ नम्बर वडाको आधा बस्तीमा बालिएको छ भने लुलाङ, मुदीको बगरा र चेचुङ तथा मराङको बुलमा माइक्रो हाइड्रोका साथै सोलार बत्ती जडान गरिएको छ। बाँकी १, ३ र ५ नम्बर वडामा लघुजलविद्युत योजना सञ्चालन, २ नम्बर वडामा वैकल्पिक ऊर्जा तथा ४ नम्बर वडाको बगरामा गाउँपालिका र गिभ पावरको आर्थिक सहयोगमा सोलार बत्ती जडान गरिएको छ।

जनताको आधारभूत आवश्यकतालाई मध्यनजर गरी तत्काल र क्रमिक रूपमा गर्नुपर्ने कामलाई पालिकामार्फत जोड दिइएको छ। साथसाथै धवलागिरि गाउँपालिकाको विद्युत् र सडक नपुगेका वडाहरूमा पालिकाको विशेष पहलमा सडकको पहुँच पुर्‍याउने तथा बिजुली बत्ती बाल्ने योजनालाई जोडतोडका साथ अगाडि बढाइएको छ।

समृद्ध धौलागिरि गाउँपालिकाका लागि स्थानीय स्तरका सम्पदा तथा आधारहरू के के हुन्?

हाम्रो गाउँपालिकाको प्रमुख समृद्धिको आधार भनेको जडीबुटी र पर्यटन नै हो। जडीबुटी संकलन तथा प्रशोधन, हाइड्रोपावर निर्माण, पशुपालन, पर्यटकीय गन्तव्यका क्षेत्रहरू धवलागिरि बेसक्याम्प, गुर्जा हिमाल, ऐतिहासिक ताकमकोत, मुदीको बगरा तथा गुर्जाको तातोपानी कुण्ड, गुर्जा र मल्कबाङका खानी, कृषि तथा पर्यटन नै समृद्धिका आधारहरू हुन्।

नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षले पनि धवलागिरी १ गुर्जालाई समेट्छ भने धवलागिरि हिमालसमेत हाम्रै गाउँपालिकामा पर्ने हुँदा यसबाट आउने रोयल्टीलाई पनि गाउँपालिकाको विभिन्न क्षेत्रमा लगानी गर्न सकिन्छ।

धवलागिरि हिमालको रोयल्टीलाई पालिकाको विकास निर्माणमा लगानी गर्ने कुरा गर्नुभयो, गाउँपालिकालाई अहिले कति आउँछ हिमालको रोयल्टी?

हाम्रो गाउँपालिकाको समृद्धिका आधारहरूमध्ये एउटा आधार धवलागिरि हिमाल पनि हो। तर, संघीयताको कार्यान्वयन भएको यतिका समयसम्म पनि गाउँपालिकालाई एकदमै नगन्य मात्रामा पर्यटनको अर्थात् धवलागिरि हिमालको रोयल्टी आउने गरेको छ।

कुल आम्दानीको ६० प्रतिशत सम्बन्धित स्थानीय तहमा आउनुपर्ने भए पनि अहिले वार्षिक करिब ५ प्रतिशत मात्रै आउँछ। यसले गर्दा पर्याप्त सम्भावना र स्रोत हुँदाहुँदै पनि त्यसबाट पाउनुपर्ने हिस्सा नपाउँदा गाउँपालिकामा सोचेअनुसार पर्याप्त बजेट खर्च गरेर काम गर्न सकिएको छैन।

अझै पनि पुरानै सोच र प्रणालीका कारण हाम्रो स्थानीय तहले नियमअनुसार पाउनुपर्ने पर्यटन क्षेत्रको रोयल्टी नपाएको यथार्थ हो। ग्रामीण क्षेत्रको विकास र परिवर्तन गर्ने हो भने पुरानो सोच र प्रणाली पनि परिवर्तन हुन जरुरी छ।

गाउँपालिकामा योजना छनोटका आधारहरू कसरी तय गर्नुभएको छ ?

राज्यको पुनर्संरचना भएसँगै अहिले नेपालमा तीन तहका सरकारहरू क्रियाशील छन्। केन्द्रमा संघीय सरकार, प्रदेशमा प्रदेश र पालिकाहरूमा स्थानीय सरकार रहेका छन्।

हामी स्थानीय सरकार भएका नाताले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकालाई समृद्ध बनाउने अभियानमा लागेका छौं। यही ऐनको आधारमा पालिकाको कामलाई अगाडि बढाएका छौं। यसका साथै स्थानीय जनताको मागका आधारमा समेत कतिपय योजनाहरूलाई छनोट गरी प्राथमिकताक्रम तोकेर विकास निर्माणको कार्यलाई जोड गरिएको छ।

चालु आर्थिक वर्षको ७ महिना बितिसक्यो, हालसम्म लक्ष्यअनुसार कति प्रतिशत हासिल गर्नुभयो? 

सात महिनाको अवधि बितिसक्दा लक्ष्यअनुसारको प्रगति हासिल गर्न सकिएको छैन। तैपनि, अहिलेसम्म समग्रमा करिब २० प्रतिशत मात्रै लक्ष्य हासिल गरेका छौं। भौगोलिक विकटता, प्राकृतिक चुनौती (वर्षा र हिमपात), सडक अवरुद्ध, पदमार्ग निर्माणमा समस्या, कर्मचारी समायोजनले समस्या, स्थानीय उपभोक्तामा पुरानै सोच, बुझाइको कमी, दुर्गममा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुनु जस्ता कारणले सोचेजति काम गर्न नसकिएको हो। अब भने कर्मचारी समयोजना भएर आइसकेको हुँदा प्रगतिको पाइला तीव्र बन्नेछ।

गाउँपालिकाभित्र आन्तरिक स्रोतहरू के–के छन्? वार्षिक आम्दानी कति हुन्छ?

धवलागिरि गाउँपालिकामा आन्तरिक स्रोत भनेका नै मुख्यतयाः दर्ता र सिफारिस, ढुंगा, गिट्टी, बालुवा, व्यवसाय दर्ता नवीकरण (होटल, पसल, कृषि फर्म) दस्तुर हो। स्थानीयलाई करको दायरामा ल्याउने प्रयत्न भइरहेको छ भने पर्यटन, जडीबुटी र हाइड्रोपावरबाट स्रोत लिने काम गर्न नसकिरहेको अवस्था छ। आन्तरिक स्रोततर्फ वार्षिक आम्दानी २० लाख रुपैयाँ हुने गरेको छ।

म्याग्दीका ६ वटा स्थानीय तहमध्ये एउटा गाउँपालिकाको प्रमुख, त्यसमा पनि महिला हुनुहुन्छ, एकजना महिला गाउँपालिकाको प्रमुख हुँदै गर्दा महिलासँग सम्बन्धित कस्ता–कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ?

म्याग्दी जिल्लाका ६ वटा स्थानीय तहमध्ये धवलागिरि गाउँपालिकाको प्रमुख त्यसमा पनि महिला म मात्रै हुँ। मैले खासगरी आफे्नो गाउँपालिकामा महिलालाई लक्षित गरेर सचेतनामूलक कार्यक्रमलाई जोड दिएकी छु।

वडामार्फत महिलालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्न पहल गर्दै आएकी छु। महिला दिदीबहिनीको स्वास्थ्यलाई जोड दिएर सुनौला हजार दिनका आमासँग अध्यक्ष कार्यक्रमलाई जोड दिएकी छु। चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि पालिकाको सबै वडामा कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

योसँगै महिनावारी स्वच्छता, वासप्लान, लोकल कुखुरा वितरण कार्यक्रम, किशोरीलाई लक्षित गरेर विद्यालयस्तरमा सेनेटरी प्याड निर्माणसम्बन्धी तालिम तथा वितरण, उमेर सान्दर्भिक विवाह उपाध्यक्ष कार्यक्रम जस्ता कार्यक्रमहरू सञ्चालन गर्न विशेष प्राथमिकतामा राखेका छौं। दुर्गम र ग्रामीण भेगका महिलाको आर्थिक सशक्तीकरणका लागि आय–आर्जन र व्यवसायमूलक कार्यक्रम पनि रहेका छन्।

मोटरबाटोको सम्भावना नरहेको गुर्जालाई जोड्न गाउँपालिकाको सुरुङमार्ग बनाउने योजना थियो। कार्यान्वयनको अवस्था कस्तो छ?

गुर्जालाई सुरुङमार्गले जोड्ने योजना बनाइए पनि त्यो स्थानीय सरकारको पहुँचभित्र पर्न सकेको छैन। स्थानीय सरकारको बजेटले भ्याउन नसक्ने भएको हुँदा सुरुङमार्ग बनाउने योजना कार्यान्वयन हुन नसकेको हो।

यसका लागि प्रदेश र केन्द्र सरकारले आवश्यक बजेट व्यवस्थापनमा सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ। गाउँपालिकामार्फत् अहिले लुलाङदेखि गुर्जा जाने गोरेटो बाटोलाई पदमार्ग बनाउन लागिएको छ। गोरेटो बाटोको स्तरोन्नति गरी त्यसलाई पदमार्गमा रूपान्तरण गर्न लुलाङ र गुर्जा दुवै तर्फबाट पदमार्ग निर्माणमा जोड दिइएको छ।

अबको प्राथमिकतामा के के कुराहरू रहेका छन्?

गाउँपालिकामार्फत् सुरु गरिएका अधुरा कार्यक्रमलाई आगामी दिनमा पूर्णता दिनेछु। गाउँपालिकाको भवन निर्माणको सुरुआती, गौरवका योजनामध्ये ‘एक घर, एक धारा’ को खानेपानी योजना सञ्चालन, सडक तथा विद्युत्, कृषि र पर्यटनलाई जोड, तातोपानीका कुण्डको संरक्षण तथा व्यवस्थापनजस्ता कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाइनेछ।

खासगरी धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक बाँकी सबै वडामा सडक र विद्युतको पहुँच सबै जनताको घर-घरमा पुर्‍याउने कामलाई विशेष जोड दिएर सोहीअनुसार योजना कार्यान्वयन गर्ने छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.