'प्रजातन्त्र कर्ममा देखियोस, सपना बाँडेर केही हुँदैन'
'प्रजातन्त्र कर्ममा देखियोस, सपना बाँडेर केही हुँदैन'
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले ७० औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै राजनीतिक दललाई सन्देश छाडेका छन्। उनले मंगलबार एक शुभकामना सन्देश दिँदै प्रजातन्त्र शब्दमा भन्दा कर्ममा देखिनु पर्ने बताएका छन्।
‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रनु पर्दछ, रुपमा होइन, सारमा झल्कनु पर्दछ', पूर्वराजा शाहले भनेका छन्,'प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र होइन। त्यो जीवनपद्धति र व्यवहारमा देखिनु पर्दछ। राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो।'
प्रजातन्त्र देश र जनताको निम्ति प्रतिफलकारी हुनुपर्ने अभिमत उनले राखेका छन्। 'केही टाठाबाटाका निमित्तमा होइन, केहीको आर्थिक स्वार्थका लागि मात्र होइन, प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्दछ,’उनले भनेका छन्।
पूर्वराजा शाहले आफू देशविदेशका भ्रमणमा जाँदा प्रजातन्त्र प्रतिफलकारी हुन नसकेको पाएको उल्लेख गरेका छन्। ‘नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन,’शाहले भनेका छन्।
पूर्वराजा शाहले आफ्नो भौगोलिक, सामाजिक, सांस्कारिक र मौलिक मान्यतालाई बुझेर अघि बढ्नु पर्ने सन्देश पनि देशबासीलाई दिएका छन्।
‘हामीले हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नबिर्सौँ र भविष्यको कोरा सपना मात्रै बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौँ’, शाहले विज्ञप्तिमा अगाडि भनेका छन्।
उनले प्रजातन्त्र दिवसका अवसरमा आफ्ना जिजुबुवा त्रिभुवनसहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सबैको स्मरण पनि गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।