|

गोरखा : मनास्लु संरक्षण क्षेत्रमा छ वर्षमा ३३ हजारभन्दा धेरै विदेशी पर्यटक पुगेका छन्। आर्थिक वर्ष २०७१/०७२ देखि २०७६/०७७ को हालसम्म ३३ हजार ५८७ जना पर्यटकले मनास्लु संरक्षण क्षेत्र भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ।

एमक्याप गोरखाको अनुसार आर्थिक बर्ष २०७१/०७२ मा दक्षिण एसियाली मुलुक (सार्क)बाट ४३ जना र अन्य बाह्य देशबाट पाँच हजार ६१५ जना, आर्थि वर्ष २०७२/०७३ मा सार्क राष्ट्रबाट १६ जना र अन्य बाह्य देशबाट दुई हजार २७२ जना, आव २०७३/०७४ मा सार्क राष्ट्रबाट ६५ जना र अन्य बाह्य देशबाट पाँच हजार ६८० जना, आव २०७४/०७५ मा सार्क राष्ट्रका देशबाट ५६ जना र अन्य बाह्य देशबाट सात हजार १४७ जना पर्यटक आएका छन्।

यस्तै, आव २०७५/०७६ मा सार्क राष्ट्रबाट ६६ जना र अन्य बाह्य देशबाट सात हजार ५८९ जना र आव २०७६/०७७ को हालसम्म सार्क राष्ट्रबाट ३३ जना र अन्य बाह्य देशबाट पाँच हजार पाँचजना पर्यटकले मनास्लु संरक्षण क्षेत्र अवलोकन गरेका छन्।

घटे पर्यटक

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष एमक्याप आउने पर्यटकहरुको संख्या घटेको एमक्याप प्रमुख नरेन्द्र लामाले जानकारी दिए।

‘गत आर्थिक वर्षमा सात हजार ६५५ जना पर्यटकले मनास्लु संरक्षण क्षेत्र अवलोकन गरेका थिए। तर, चालु आर्थिक वर्षको हालसम्म पाँच हजार ३८ जनाले मात्रै अवलोकन गरेका छन्,’ उनले भने, ‘मनास्लु पदमार्ग जाने ठाउँका बाटो मर्मत हुँदै गरेकाले यो वर्ष अलि कम पर्यटक आएको होकी जस्तो लाग्छ।’

गत वर्ष नेपालमा फैलिएको डेंगुका कारण पनि पर्यटकको संख्या घटेको उनको भनाइ छ।

पुग्दैनन् आन्तरिक पर्यटक

आन्तरिक पर्यटकले मनास्लु संरक्षण खासै भ्रमण नगर्ने गरेको एमक्याप प्रमुख लामाले बताए। 

‘मनास्लु संरक्षण घुम्ने आन्तरिक पर्यटकको संख्या निल नै छ भने पनि हुन्छ,’ लामा भन्छन्, ‘सार्क राष्ट्रबाट घुम्न आउनेहरु पनि अत्यन्तै कम छन्। तथ्याङ्क हेर्ने हो भने जर्मनी, फ्रान्स, अमेरिका, नेदरल्याण्ड, अस्ट्रेलियालगायतका देशबाट अधिकतम पर्यटकहरु यो क्षेत्र घुम्न आउँछन्।’ मनास्लु संरक्षण क्षेत्रमा घुम्न आउने पर्यटक संङ्ख्या बढाउन कार्यालयले प्रचारप्रसार तथा बिभिन्न कार्यक्रम गरिरहेको उनले बताए।

उत्तरी गोरखाको साविकको गाविस सिर्दिवास, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सामागाँउ मनास्लु संरक्षण क्षेत्रभित्र पर्छन्। सो क्षेत्रमा विश्वको आठौं अग्लो मनास्लु हिमाल, लार्केपास, वीरेन्द्र ताल, कल्छुमान ताल, श्रृङ्गी हिमाल, चुमभ्याली, नुब्री भ्याली, तिब्बती कला संस्कार र संस्कृति अवलोकनका लागि पर्यटकहरु जाने गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.