सबै स्वस्थ भेटिएपछि सरकारलाई राहत

|
फोटो : शिला तिमल्सिना

काठमाडौ : चीनको हुबेई प्रान्तबाट उद्धार गरी ल्याइएका एक सय ७५ जनामै कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको छ। 

मन्त्रलायका अधिकारहरुले पत्रकार सम्मेलन गरेर यसबारेको जानकारी दिएका हुन्। कोरोनाको केन्द्रबिन्दु वुहान सहरबाटसमेत ल्याइएका नेपालीमा कोरोनाको कुनै लक्षण नदेखिएको जनाउँदै स्वास्थ्य मन्त्रालयले आमनागरिकलाई ढुक्क हुन अपिल गरेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ल्याइएका सबै नागरिकको नाक र घाँटीभित्रको स्वावको पटक पटकको परीक्षणबाट कोरोनाको भाइरस नेगेटिभ देखिएको हो। 

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मंगलबार अपरान्ह प्राप्त जानकारी अनुसार १७५ जनाको नाक र घाँटी भित्रको स्वाबको नमुनाहरुमा नोभेल कोरोना भाइरसको परीक्षण गर्दा कुनै पनि व्यक्तिमा २०१९ नोभेल कोरोना भाइरस (कोभिड–१९) नभेटिएको जानकारी गराइन्छ’, श्रेष्ठले भनेका छन्। 

ती सबैमा कोरोना भाइरस नेगेटिभ देखिएपछि चीनबाट ल्याएको १४ औँ दिनमा उनीहरुको नमुनाको पुनः परीक्षण गरिएपछि मात्र त्यहाँबाट बाहिर निस्किन दिइने छ। ‘चीनको हुबेई प्रान्तबाट ल्याइएका सबैजना दाजुभाइ दिदीबहिनी स्वस्थ हुनुहुन्छ। उहाँहरुमा कुनै पनि संक्रमण नदेखिएकाले आत्तिनु जरुरी छैन’, श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य परीक्षणमा कुनै पनि संक्रमण नदेखिएकाले यबाट अब त्रसित भइरहनु पर्ने अवस्था छैन।’ 

चीनको हुबेई प्रान्तमा रहेका १८५ मध्ये १७५ नेपालीलाई फागुन ३ मा चीन गएको नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले फागुन ४ गते बिहान काठमाडौंमा ल्याएको थियो। अहिले उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई क्वारेन्टाइनमा परिणत गरेर राखिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.