|
नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी

काठमाडौं : एक अंग्रेजी दैनिक पत्रिकामा प्रकाशित समाचारलाई लिएर चिनियाँ राजदूतावासले धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकले बुधबार हस्ताक्षरबिनाको विज्ञप्ती निकालेका छन्। 

उनीहरुले बुधबार जारी गरेको भनिएको हस्ताक्षरबिनाको विज्ञप्तिमा द काठमाडौं पोस्ट अंग्रेजी दैनिकमा छापिएको आलेखसँगैको मास्क लगाएको माओत्से तुङको फोटोबारेमा चिनियाँ दुतावासले धम्की दिएको भन्दै आपत्ति जनाएका हुन्। बिरोधको विज्ञप्तिमा नाम भएकाहरुले आफू काम गर्ने संचार माध्यमको नाम भने उल्लेख गरेका छैनन् । 

‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘तर कुनै विचार वा तस्बिर प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी घोर भर्त्सना गर्छौँ। दूतावासको विज्ञप्तिले कूटनीतिक मर्यादा पनि नाघेको छ।’

उनीहरुले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको पनि स्मरण गरेका छन्। ‘त्यसको अभ्यास र रक्षा गर्न हामी प्रतिवद्ध छौँ,’ उनीहरुले भनेका छन्। 

मंगलबारको काठमाडौं पोष्टमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एसिया न्युज नेटवर्कको आलेख प्रकाशित भएको थियो। उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का लागि पूर्व अमेरिकी राजदूत इभो ड्याल्डरको उक्त लेखमा माओत्से तुङको तस्बिरमा चिनियाँ मुद्रा युआनको  मेडिकल मास्क लगाइएको थियो। यही विषयमा चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति निकालेर सम्पादक अनुप काफ्लेले पहिलादेखि यसअघिदेखि नै चीनविरोधी समाचार छापेको र यो पटक सबै सीमा नाघेको उल्लेख थियो। दूतावासले काफ्लेलाई चीनविरोधी शक्तिको गोटी बनेको आरोप पनि लगाएको थियो। स्मरणीय छ, उक्त पत्रिकाका  सम्पादक काफ्ले भने केही महिना अघि राजिनामा दिएर पुन: अमेरिका फर्कने तयारीमा रहेको केही अघि विभिन्न माध्यममा सार्वजनिक भैसकेको  छ ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.