|

पर्वत : पर्वत जिल्लाका बिरामीहरू सामान्य रोगको उपचारका लागि पनि पोखरा पुगे भने डाक्टरलाई भेट्नको लागि लिएको टिकटको मूल्य मात्र पाँच सयदेखि आठ सय रुपैयाँसम्म तिर्नुपर्छ। त्यसपछि हुने उपचार खर्च अनि पोखराको महँगो बसाइँका कारण उपचार गराउन पुगेको मान्छे ऋणमा पर्नुपर्ने बाध्यता छ।

यही अवस्थाको अन्त्य गर्न भन्दै पर्वत जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्था मध्येमा नै पहिलो पटक पर्वत अस्पतालमा मानसिक रोगको उपचार गर्न सुरु भएको छ। अस्पताल र गण्डकी मेडिकल कलेज पोखराबिच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेर पर्वतका बिरामीहरूलाई बाहिरी जिल्लामा जानु नपर्ने गरी सुविधा थप गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

‘अस्पतालमा नयाँ भवन बनिरहेको छ, शय्याको संख्या पनि ५० पुग्दै छ। हामीहरूले विभिन्न सेवा र सुविधाहरू थप गर्दै लगिरहेका छौँ’ उनले भने, ‘सामान्य उपचारको लागि पनि पोखरासम्म पुग्दै आएका पर्वतका बिरामीहरूले मानसिक रोगको उपचारसमेत जिल्लामा नै पाउने भएका छन्। यो जिल्लाबसीको लागि नै खुसीको कुरा हो।’

७०औँ प्रजातन्त्र दिवसको अवसरमा बुधवार पर्वत अस्पतालका पक्षबाट निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिशिर देवकोटा, अस्पतालका अध्यक्ष गोविन्द पहाडी तथा गण्डकी मेडिकल कलेजको पक्षबाट प्राचार्य प्रोफेसर डक्टर रविन्द्रप्रसाद श्रेष्ठ र सोही कलेजका प्रोफेसर डाक्टर टुमाया घलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। मानसिक रोग उपचारका लागि गण्डकी मेडिकल कलेजको तर्फबाट एकजना विशेषज्ञ डाक्टरले प्रत्येक महिनाको १० गते, २० गते र अन्तिम दिन (मसान्त) मा उपचार गर्ने छन्।

मानसिक रोगसम्बन्धी समस्या भएका बिरामीहरूले पोखराका अस्पतालहरूमा तिरेको जस्तो महँगो दर्ता शुल्क भने पर्वत अस्पतालमा तिर्नुपर्ने छैन। अस्पतालले सामान्य रूपमा लिँदै आएको ओपिडी दर्ताका लागि लिने गरेको २० रुपैयाँ शुल्कमा नै बिरामीको नाम दर्ता गरेर जाँच गरिने व्यवस्था मिलाइएको पनि अस्पतालका अध्यक्ष पहाडीको भनाई छ।

अहिलेसम्म पर्वतमा रहेका निजी क्लिनिक तथा औषधि पसलहरूले पोखरा र काठमाडौंका मानसिक रोग विशेषज्ञलाई बोलाएर साप्ताहिक, पाक्षिक वा मासिक रूपमा सेवा दिने गरेका थिए। निजी क्लिनिकहरूमा आउने डाक्टरहरूले सामान्य अवस्थामा रहेको पाएमा औषधि चलाउने गरेको भए पनि केही जटिल अवस्थामा रहेकाहरूको थप उपचारको लागि पोखरा वा काठमाडौं बोलाउने र सुविधासहितको उपचार गराउने गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.