सानो आकारमा खुम्चिएका प्रतिपक्षी शक्तिहीन

|

'५० वर्षअघि यही जिल्लाबाट, निरंकुश राजतन्त्र भएका बेला, निरंकुश पञ्चायती तानाशाही भएका बेला ज्यान हत्केलामा राखेर लोकतन्त्रको संघर्ष थालेका थियौँ। बलिदानपूर्ण संघर्ष थालेका थियौँ, ५० वर्षअघि।

अत्यन्तै ढिलो गरेर भए पनि हामी आफ्नो सपना साकार पार्ने ठाँउमा पुगेका छौँ। किन यति ढिलो भयो भन्दा रोक्न खोज्ने शक्ति त छँदै थियो, राजतन्त्र छँदै थियो, पञ्चायत थियो, त्यसपछि धेरै वर्ष २० वर्षभन्दा बढी, १४ वर्ष जेलमा बिताउनुपर्‍यो, ६ वर्ष भूमिगत बस्नुपर्‍यो, २० वर्ष त पञ्चायतविरुद्ध संघर्ष गर्नुपर्‍यो। त्यसको १८ वर्ष पछिसम्म राजतन्त्रविरुद्ध संघर्ष गर्नुपर्‍यो।

त्यसपछि पनि अनेक जाल झेल संयन्त्रविरुद्ध संघर्ष गरिरहनुपरेको छ। जो देश विकाश भएको देख्‍न चाहँदैन। त्यस्ता शक्तिहरूले रोक्न खोज्छन्। तपाईंहरूलाई लाग्ला बहुमत छ, बहुमत भए पनि फर्की फर्कीकन फेरि उनीहरू यो सरकारलाई असफल पार्ने।

यसलाई ढाल्ने, यसलाई बदनाम गर्ने यी प्रयासमा कसरी लागिरहेका छन्, तपाईंहरू देखिराख्‍नुभएको छ। तर, म भन्‍न चाहन्छु अरू कसैले होइन कुनै शक्तिले होइन हामीलाई सरकारमा पुर्‍याइदिएको सरकार बनाइदिएको तपाईंहरूले हो। जबसम्म तपाईंहरूको आशीर्वाद रहन्छ। तपाईंको साथ सुवेक्षा र शुभकामना रहन्छ, तबसम्म सरकारलाई कसैले हल्लाउन पनि सक्दैन। विकासको बाटोलाई डगमगाउन पनि सक्दैन। हामी अगाडि बढ्यौँ भने। हामी अगाडि बढ्छौँ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार गृह जिल्ला झापा पुगेर दिएको अभिव्यक्ति हो यो। प्रधानमन्त्री ओलीले भनेजस्तै शक्तिशाली बहुमतको वर्तमान कम्युनिस्ट सरकारलाई असफल बनाउन या ढाल्ने खेलमा कुन शक्तिले चलखेल गरिरहेको हो त?

को हो त विकासविरोधी?

यो प्रश्नको उत्तर प्रधानमन्त्री स्वयं या त सरकार ढाल्ने खेल्नमा सक्रिय अदृश्य शक्ति केन्द्रलाई थाहा होला। तर, आमरूपमा प्रधानमन्त्रीले भनेजस्तो मुलुकको विकासविरोधी को हुन सक्छ? भन्‍ने आंकलन गर्ने अवस्था देखिँदैन।

नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले सरकारको कामकारबाहीलाई लिएर आलोचना गर्दै आए पनि सरकार नै ढाल्ने खेलमा नेपालका कुनै राजनीतिक दल लागेको देखिँदैन। त्यसमा पनि बहुमत प्राप्त शक्तिशाली यो सरकारलाई ढाल्न सक्ने जनमत अहिले कुनै पनि प्रतिपक्षीसँग छैन।

सानो आकारमा खुम्चिएका प्रतिपक्षी दलले न त सरकारविरुद्ध आन्दोलन नै थालेका छन्। तर, राजनीतिक वृत्तमा यो विषयको चर्चा भने फरक ढंगले भइरहेको छ। प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिमा कुनै शक्ति केन्द्र नभएर आफैँभित्रको भय हो कि भन्ने शंका उब्जाएको छ।

यद्यपि, यो सरकार अहिले नै डेन्जर जोनमा नपुगे पनि केही समस्या भने मौलाइरहेको राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरको विश्लेषण छ।

सरकार 'डेन्जर जोन'मा छैन

विश्लेषक पिटर भन्छन्, 'प्रधानमन्त्री कहीँ कतै असुरक्षित महसुस त गर्नुहुन्‍न। उहाँको दृढ इच्छाशक्ति अचम्मको छ। एक्लै भए पनि आफ्ना विचारमा अडिग हुने, दृढ हुने, सपना देखाउन सक्ने, पीडालाई पनि हाँसोमा व्यक्त गर्नसक्ने। ठट्टामा लिएर जानसक्ने उहाँमा अदभुत कला र क्षमता छ तर यी सबै आएका र भन्‍न खोजेका चिजहरूमा केही छ कि?

प्रधानमन्त्री पार्टीमा आन्तरिकरुपमा कमजोर भएको हो कि? भन्ने किसिमको सन्देश दिन्छ। तर नेपालको राजनीतिमा गुठ र गीरोह चल्ने प्रवृति हावीनै हुन्छ, यसकोणबाट हेर्दा प्रधानमन्त्रीका यि अभिव्यक्ती कुनै अनौठो त लाग्दैनन्।

उहाँले प्रधानमन्त्री डेन्जर जोनमै परेको भन्‍ने त नभएको उल्लेख गर्नुभयो। तर लक्षण राम्रो संकेत दिइनरहेको अवस्था छ। उहाँ भन्नुहुन्छ नेताहरूले आँ भन्दा अलंकार बुझ्नुपर्ने हुन्छ त्यसले भनेको भन्दा पनि भन्न खोजेको कुरालाई बुझ्‍नु पर्ने हुन्छ। त्यत्ति सहज त छैन। तर डेन्जर जोन नै भनेर त भन्‍न मिल्दैन।'

प्रधानमन्त्रीनिकटका केही व्यत्तिहरूका अभिव्यक्ति तथा एकल छलफलहरूमा देख्दा कहिँ कतै समस्याहरू मौलाइरहेको झांगिइरहेको जस्तो अनुभूति हुने उनको भनाइ छ।

दलहरूले देखाए चासो

प्रधानमन्त्रीले सरकार ढाल्ने खेलमा शक्तिकेन्द्र चलमलाइरहेको इंगित गरेपछि सत्ताबाहिर रहेका दलहरूले पनि यसप्रति चासो देखाएका छन्।

प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन खोजिएको टिप्पणी गरिरहँदा पछिल्लो समय मिडियाप्रति पनि असन्तुष्टि राख्दै आएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बुटवलमा सन्चारकर्मीसँग कुरा गर्दै सरकार ढाल्न खोज्‍ने को हो? जनताले थाहा पाउनु पर्ने भएकाले यसबारेमा जनतालाई प्रधानमन्त्रीले भन्‍नु पर्ने बताएका थिए ।

एमसिसीको आशंका

सरकारले गरेका राम्रा कामको समाचार नआएको भन्दै उनले लगातार रूपमा मिडियाको आलोचना गर्दै आएका हुन्। यो असन्तुष्टिले आफू सफल नभएको हो कि भन्‍ने भान उनमा परिरहेको हुन सक्ने केहीको बुझाइ छ।

नेकपाको अध्यक्षसमेत रहेका ओली पार्टीभित्रैको विभिन्न विषयको विवादका कारण पनि दबाबमा छन्। यसले ओली पार्टीमा अल्पमतमा परे भन्ने बुझाई एकथरीको छ। नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामलाई खुलेर समर्थन नजनाएको विषयलाई पनि धेरैले अर्थपूर्ण रुपमा लिँदै आएका छन्।

यस्तै, एमसिसीको विषयमा पार्टीमा देखिएको विवादले पनि ओलीलाई अफ्ठ्यारोमा पारेको हो कि? भन्‍ने आशंका गर्ने पनि उत्तिकै छन्।

तर, प्रधानमन्त्री ओलीले सरकार ढाल्ने खेल भइरहेको भनेर कता संकेत गरेका हुन्? यो अभिव्यक्तिका विषयमा उनीसँग उक्त कार्यक्रममा रहेका नेकपा संसदीय दलका उपनेता सुवासन्द्र नेम्वाङसँग केही प्रश्न गरेका छौँ :

प्रधानमन्त्रीले झापामा सरकार ढाल्ने प्रयास भरहेको छ भन्ने अभिव्यक्ति दिनुभएको थियो त्यो कार्यक्रममा तपाईं पनि सँगै हुनुहुन्थ्यो, यो अभिव्यक्तिलाई कसरी लिने?

उहाँले लामो प्रसंगमा अरू रू बोल्नु भो। अहिलेसम्म सरकारले गरेका सकरात्मक कुराहरू अब आउने दिनमा गर्ने कुराहरूलगात सबै कुराहरू भन्नुभयो। उहाँले आफ्नो प्रतिद्धता र अठोट बताउनुभयो। बाँकी रहेको अबको अवधिमा आफूले अहिलेसम्म नगरेका कुराहरूलाई पूर्णता दिने भन्ने कुरा गर्नुभयो। त्यही सन्दर्भमा उहाँले छुस्स अफ्ठ्यारा र चुनौती पनि छन्, सरकारमाथि प्रहार पनि भइरहेका छन् भन्‍ने कुरा उल्लेख गर्ने सन्दर्भमा त्यो कुरा भन्‍नुभयो। त्योभन्दा बाहेक व्‍याख्या गर्नुभएन।

सरकारलाई अफ्ठ्यारो परेकै हो त? प्रधानमन्त्रीज्यूले संकेत गर्न खोजेको चाँहि कता हो त त्यसो भए?

अहिले अफ्ठयारै छ भन्ने होन। तर, मानिसहरूमा त दुई तिहाको यो सरकार हिजो अस्ति झर्‍यो, भन्ने कुरा उठ्दा पनि राष्ट्रियसभाको चुनाव पछाडि फेरि यो आफ्नै बुतामा पनि दुईतिहा छ भन्ने कुरा आएको छ।

यस्तो अवस्थामा सबै कुरा सहज छ भन्ने हुनुपर्ने हो नि त भन्ने कुरा होला। तर, अफ्ठयारा चुनौतीहरू छन है। भन्ने अर्थमा प्रधानमन्त्रीले त्यो कुरा बताउनुभएको थियो।

प्रधानमन्त्री पार्टीभित्रै अल्पमतमा परेपछि उहाँमा एकखालको त्रास फैलिएको हो कि भन्ने आशंकाहरू पनि गरिन्छ नि?

प्रधानमन्त्रीले सदा-सर्वदा हामीले सतर्क भएर अगाडि बढ्नुपर्छ है भन्ने अर्थमा त्यो बोल्नुभयो। प्रधानमन्त्री पार्टीभित्र चेपुवामा परेको अल्पमतमा परेर त्यस्तो भनेको भन्ने होन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.