|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र भत्किएको अवस्थामा सरकारले अर्थतन्त्रका सूचकहरूमा सुधार गर्दै लगेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा रचित ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधनमन्त्री ओलीले ध्वस्त भएको अर्थतन्त्रलाई माथि उठाउन सरकार सफल हुँदै गएको बताएका हुन्। 

‘देशको अर्थतन्त्र भत्किएको छ, देशकै अर्थतन्त्र ध्वस्त छ, देशकै जनजीवन अस्तव्यस्त, गरिबीले जिर्ण बनाएको छ ध्वस्त बनाएको छ देशकै अर्थतन्त्र, यसलाई उठाउन अहिले हामीले उच्च आर्थिक वृद्धिदर हासिल गरेका छौँ’ उनले भने।

उनले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको अवस्थामा वित्तीय क्षेत्रमा कार्यरत व्यक्तिबाट अर्थतन्त्रका विषयमा पुस्तक लेखिनु र गीत निर्माण हुनुले अर्थतन्त्रमा सकारात्मक सन्देश जाने बताए। उनले देशभक्ति र विकासका कुरालाई जोडेर प्रकाशित गरिएको पुस्तकले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने विश्वाससमेत व्यक्त गरे।

कार्यक्रममा गभर्नर डा. चिरन्जीबी नेपालले नेपालको अर्थतन्त्र वित्तीय प्रणालीसँग जोडिएका समसामयिक विषयवस्तुबारे लेखिएका विष्लेशणात्मक लेखहरू पस्तकमा रहेकोले वित्तीय क्षेत्रको लागि महत्वपूर्ण हुने बताए। उनले वित्तीय प्रणालीको वर्तमान अवस्था र भावि कार्यदिशा तर्फको बहसलाई पुस्तकले उजागर गरेको समेत बताए। उनले वित्तीय साक्षरता, वित्तीय पहुँच, समावेशीकरणलगायतको सामूहिक बहस पुस्तकमा समावेस गरिएकोले बैंकिङ क्षेत्रको विकासमा महत्वपूर्ण हुने बताए।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धि र अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको अवस्थामा आफुले विभिन्न समयमा लेखेका लेखहरू महत्वपूर्ण हुने अपेक्षासहित पुस्तक प्रकाशित गरेको बताए। उनले उच्च आर्थिक विकासको चाहनालाई पूरा गर्न आफ्ना लेखहरूले योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरे।

पुस्तकमा २०५० साल जेठ देखि २०७६ मंसिरसम्म विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका तीन दर्जन लेखहरू समावेस गरिएको छ। कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीद्वारा लिखित ‘समृद्ध नोपल, सुखी नेपाली’ बोलको गीतसमेत विमोचन गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.