|

लमजुङ : ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा उनकै जन्मगाउँमा संग्रहालय निर्माण भएको छ। देउबहादुर दुरा स्मृति प्रतिष्ठान हाँडीखोला लमजुङले मध्यनेपाल नगरपालिका–१० हाँडीखोलाको नास्के–वर्धन गाउँमा सो स्मृति संग्रहालय बनाएको हो। 

नवनिर्मित संग्रहालयको बिहीबार नगरप्रमुख रमेशकुमार पाण्डेले शुभारम्भ गर्दै दुराले ठाडोभाकाका माध्यमले सिङ्गो लमजुङलाई चिनाएको बताए। ठाडोभाका संरक्षण समितिका संरक्षक बुद्धिमान दुरा धम्पुले नेपाली गीत–सङ्गीत क्षेत्रलाई ठूलो गुन लगाएको बताउँदै नवपुस्तालाई उनको बारेमा चिनाउने आधार निर्माण गर्नुपर्ने बताए। दुराका सहपाठी करापुका पञ्चै सुब्बा गुरुङ, नाचमा साथ दिने भैरे रानाभाटलगायत सर्जकलाई पनि भुल्न नहुनेमा उनले जोड दिए।

वडाध्यक्ष रामचन्द्र भण्डारीले हाँडीखोलालाई नमुना गाउँका रुपमा चिनाइने र  लोकसंस्कृतिको अनुपम गन्तव्यका रुपमा विकास गरिने बताए। 

१९४७ फागुन ८ मा जन्मिएका देउबहादुर दुराले आफ्नो जीवनकालमा करापुटारको शिवरात्रि मेलालगायत चाडपर्वमा ठाडोभाका गीत गाएरै मनोरञ्जन गराएको स्मृति संग्रहालयका अध्यक्ष पूर्णबहादुर दुराले बताए। हट्टाकट्टा र बलियो शरीर भएका देउबहादुर निकै रसिक स्वभावका भएकाले ठाडोभाका गीत गाएर श्रोतालाई मनोरञ्जन गराउने अग्रजले बताएको अध्यक्ष दुराले बताए। ४८ वर्षका उमेरमा १९९५ फागुनमा देउबहादुरको निधन भएको बताइएको छ।

नगरपालिकाबाट कुल १८ लाख रुपैयाँ सहयोग र करिब १० लाख रुपैयाँ बराबरको जनश्रमदानबाट एक रोपनी क्षेत्रफलमा संग्रहालय निर्माण गरिएको हो। परम्परागत घुमाउने स्वरुपमा खरको छानो छाइएको उक्त संग्रहालयमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री सङ्ग्रह गरिने भएको छ। 

हालसम्म देउबहादुरको योगदानको खोजी गर्न नसकिएकामा संग्रहालयकै माध्यमबाट उनका विषयमा थप जानकारी सङ्कलन गरी सर्वसाधारणलाई जानकारी गराइने उक्त प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार संग्रहालय निर्माणका लागि स्थानीयवासी चन्द्रमान, भीमबहादुर, हस्तबहादुर र दलबहादुर दुराले जग्गादान गरेका छन्। 

हाँडीखोला क्षेत्रका नास्के, वर्धन, सिम्ले, डाँडागाउँ, गैरीगाउँ, एक्लेवर्धन, कोक्रा गाउँबाट स्थानीयवासीको सहभागिता  थियो। सो क्षेत्रमा करिब १६५ घरधुरी रहेकामा अधिकांश दुरा जातिको बसोबास रहेको स्थानीय अगुवा डिलबहादुर दुराले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.