|

काठमाडौं :  स्वास्थ्य बीमा कार्यक्रम असफल हुनेतर्फ लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका सम्पूर्ण पदाधिकारीहरू (अध्यक्ष, कार्यकारी निर्देशक र चार जना बोर्ड सदस्य) लाई स्पष्टीकरण सोधेको छ। सात दिन भित्र जवाफ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूलाई सात दिनभित्र जवाफ पठाउने गरी स्पष्टिकरण सोधेको स्रोतले बताएको छ।

स्पष्टिकरण सोधिनेमा बोर्डका अध्यक्ष डा उमाशंकर प्रसाद, कार्यकारी निर्देशक रमेशकुमार पोखरेल, यस्तै बोर्ड सदस्यहरू डा सतिशकुमार देव, डा दीपेन्द्रकुमार यादव, डा अनिरा वैद्य र प्रीती रमण छन्।

तर, बोर्डमा रहेका  स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबाट सहसचिवहरूलाई भने स्पष्टिकरण सोधिएको छैन। बोर्डमा स्वास्थ्य र अर्थ मन्त्रालयका सहसचिवहरू पदेन सदस्य हुने व्यवस्था छ।

मन्त्रालय स्रोतले भन्यो, ‘बीमा बोर्डको बारेमा धेरै गुनासो आएपछि स्पष्टिकरण सोधिएको हो,'स्रोतले भन्‍यो विभिन्न ९ बुँदामा स्पष्टीकरण सोधिएको छ।' सरकारको प्राथमिकतामा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा हिडेको भन्दै प्रश्न उठाइएको छ स्रोतका अनुसार उनीहरुसंग चित्तबुझ्दो जवाफ नपाए बर्खास्त नै गर्ने योजनामा मन्त्रालय अघि बढेको छ।

यता, केही दिनअघि बोर्डका एक सदस्य डा सतिशकुमार देवले भने सदस्य पदबाट राजीनामा दिइसकेका छन्। अघिल्लो बिहीबारको बैठकमा स्वास्थ्‍य सचिव खगराज बरालसँग विवाद भएपछि डा सतिशले राजीनामा दिएका हुन्। तर मन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छैन।

नवीकरण घट्यो

चितवनमा अघिल्लो वर्ष बीमा आबद्धको संख्या ४ लाख थियो। पछिल्लो वर्ष २ लाख ५० हजार जतिले मात्रै नवीकरण गरेका छन्। एकै वर्षमा डेढ लाख कम हुनु भनेको बीमा असफल उन्मुख हुनु हो भन्ने निष्‍कर्षमा मन्त्रालय पुगेको छ।

केही दिनअघि स्वास्थ्य राज्यमन्त्रीले बोर्डका सदस्यलाई बोलाएर राम्रो काम गर्न नसके राजीनामा दिन निर्देशन दिइसकेका छन्।

२०७२ चैत २५ गते तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीको पालामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो। तत्कालीन स्वास्थ्य मन्त्री अधिकारीले विभिन्न अवरोध छिचोल्दै सुरुमा इलाम, कैलाली र बाग्लुङबाट स्वास्थ्य बिमाको सुरुवात गरेका हुन्। यसको अवधारणा भने तत्कालिन मन्त्री डाक्टर उपेन्द्र देवकोटाले ल्याएका हुन् ।

तीन जिल्लाबाट सुरु भएको स्वास्थ्य बिमा हाल देशका  ५० वटा जिल्लामा सञ्चालन भइसकेको छ। त्यस्तै, सरकारले यही चालु आर्थिक वर्षभित्र देशका सम्मपूर्ण जिल्लामा स्वास्थ्य बीमा लागू गर्ने घोषणा गरिसकेको छ।

चुनावका बेला सबै राजनीतिक दलले आफ्नो घोषणापत्रको मुख्य एजेन्डा बनाएको स्वास्थ्य बिमा अहिले कार्यक्रममा हालसम्म ९ लाख ३७ हजार ८७४ जनाले सेवा लिइसकेका छन्। सरकारले बिमालाई विस्तार गर्ने लक्ष्य लिए पनि जनतामा भने बीमा कार्यक्रमप्रति चासो घट्दो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.