|

पर्वत : मौसममा बदली आएर वर्षासमेत भएपछि पर्वतमा भइरहेको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका फाइनलका दुई खेलहरू रोकिएका छन्।

शुक्रबार बिहान ९ बजे तेस्रो स्थानको लागि त्रिभुवन आर्मी क्लब र होङवान्जी न्यु डायमन्ड एकेडेमी तथा ११ बजे  विजेता र उपविजेताको लागि दुई विभागीय टोलीहरू नेपाल पुलिस क्लब र डीफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने तयारी भएको थियो।

शुक्रबार बिहानदेखि नै आकाशमा बादल देखिएको थियो। खेल खेलाउने बेला हुनै लाग्दा सिमसिम वर्षा भएपछि खेल मैदान चिप्लो बन्दा आजका लागि तोकिएका खेलहरू खेलाउन नसकिएको रेफ्री टहलसिँह थापाले बताए। उनका अनुसार वर्षा रोकिए पनि हिलो भएको मैदान घाम लागेर नसुकेसम्म खेल खेलाउन नसकिने भएको छ।

१३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पुलिस र एपिएफ फाइनलमा पुगेका हुन्। एपीएफले होङग्वान्जी न्यु डायमन्डलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो भने एपिएफले होङवान्जी न्यु डायमन्ड एकेडेमीलाई पराजित गरेको थियो। पुलिसले भने विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो।

प्रतियोगिताको विजेताले दुई लाख, दोस्रो हुने टोलीले एक लाख र तेस्रो हुने टोलीले पचास हजार नगद प्राप्त गर्नेछ। महिलाहरूको व्यवस्थापनमा सञ्चालित रेडियो दिदीबहिनी पर्वतको आयोजनामा हरेक वर्ष आयोजना हुने प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा हरेक वर्ष राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता हुँदै आएको छ। यस वर्ष रेडियो स्थापनाको दशौँ वर्ष तथा अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर महोत्सवको आयोजना गरिएको हो।

गत फागुन १ गतेबाट पर्वतको जलजला गाउँपालिका ३ वारीबेनीको जुकेधारा मैदानमा भइरहेको महोत्सवको समापन फागुन ११ गते हुने रेडियोकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.