शिवरात्रिमा भारतले नि:शुल्‍क दियो पाँच करोडको फूल

|

काठमाडौं : सातदोबाटोका ललिता न्यौपाने दर्शन गर्न बिहान ६ बजे नै पशुपति पुगिन्। आधा घण्टा लाइनमा बसेर जब पशुपति गेटभित्र प्रवेश गरिन्। पशुपति मन्दिरलाई सिंगारेको देख्दा उनलाई मन्दिरमा नगई कतै बिहे घरमा गएको जस्तै अनुभव भयो। तर, उनी पशुपति मन्दिरमै दर्शन गर्न पुगेकी थिइन्।

उनले भनिन्,‘म प्रत्येक वर्षको शिवरात्रिमा दर्शन गर्न पशुपति आउँछु। यसरी बेहुलीझैँ सिंगारेको देखेको छैन। यसवर्ष बिहान पशुपति क्षेत्रभित्र छिर्दै गर्दा पशुपति मन्दिर नभएर  बिहे घर गएको अनुभूति भयो।'

 यसरी पशुपति सिंगारिन्छ भन्ने कहिल्‍यै नसोचेकी उनले पशुपतिभित्र सिंगारिएको फूलका थुंगा, गुच्छाहरुले मन प्रफुल्ल बनाएको सुनाइन्। ‘कति राम्रोसँग डिजाइन गरी फूलमाला उनी पशुपतिलाई सिंगारिएको है,’ उनले पशुपति मन्दिर गेटको फूल डिजाइन देखाउँदै भनिन्,‘यो सुन्दर दृश्यले घर जान पनि मन लागिरहेको छैन। सबै रमाइरहेका छन्। सधैँ यसरी पशुपति मन्दिरलाई सजाइयो भने कति धेरै यसको सौन्दर्य प्रचार होला?’

पशुपतिभित्रै भेटिएका  अर्का दर्शनार्थी चक्रपथका माधुरी घलेले पशुपथि क्षेत्र विकास कोषले राम्रो व्यवस्थापन गरेको भन्दै खुशी व्यक्त गरिन्। ‘मन्दिर वरिपरि सुन्दर सजावट गरिएको छ,’उनले भनिन्,‘यो सिंगारिएको दृश्यले मन लोभ्याएको छ। पशुपति क्षेत्र विकास कोषले यस वर्ष धेरै  राम्रो व्यवस्थापन गरेकाले दर्शन गर्न भक्तजनलाई सजिलो भएको छ।’

उनले शिवरात्रिका दिन पशुपतिमा दर्शन गर्दा सुख शान्ति मिल्ने, इच्छाएको कुरा पूरा हुने विश्वास रहेको सुनाइन्। पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा दर्शन गर्न आउने बाह्य तथा आन्तरिक भक्तजनलाई आकर्षित पार्न पशुपति मन्दिरलाई सिंगारपटार गरेको हो। शुक्रबार थाहाकर्मी पशुपति मन्दिर क्षेत्र पुग्दा सिंगारिएको दृश्यले भक्तजन मग्‍नमुग्ध भएको देखिन्थे। कोही फोटो खिच्‍नमै व्यस्त देखिन्थे त कोही बाबालाई हेर्दै आनन्द लिइरहेका थिए भक्तजन।

पशुपति मन्दिर अगाडि फूलैफूलले शिवलिंग बनाइएको छ। वरिपरि फूल राखिएका छन्। मन्दिरमा लहरै फूलका माला झुन्ड्याएका छन्। फूलकै थुंगाले विभिन्न आकृतिहरू बनाइएका छन्। पर्यटन वर्ष प्रवर्द्धन गर्नका लागि विभिन्न प्रचारक सामग्रीहरू राखिएका छन्। अहिले पनि भक्तजनको भिड लागेको छ।

पशुपतिमा पाँच करोडभन्दा बढीको फूल 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भारतले करिब पाँच करोड भन्दा बढीको फूल निःशुल्क ल्याई मन्दिरलाई सजावट गरिएको सञ्चारमाध्यामलाई जानकारी दिए।

उनले भने,‘पाँच करोडभन्दा बढीको फूल मन्दिरमा हालिएको छ। भारतले निःशुल्क फूल माला ल्याएर सजावट गरिएको हो। अघिल्लो वर्ष भन्दा यसवर्ष भक्तजनलाई सहज पार्न राम्रो व्यवस्थापन गरिएको छ। भक्तजनले पनि सजावट गरी राम्रो व्यवस्थापन गरेको प्रतिक्रिया दिएका छन्।’ शिवरात्रिका दिन पशुपतिमा १० लाख भन्दा बढी भक्तजन भित्र्याउने लक्ष्य रहेको उनले बताए। 

४५ सय प्रहरी परिचालन
पशुपति प्रहरी कमाण्ड पोष्टका अनुसार शिवरात्रीलाई  व्यवस्थित र भक्तजनलाई सुरक्षा दिन ४५ सय प्रहरी परिचालन गरिएको छ। १२ वटा सप कमाण्ड पोष्ट रहेको छ।

विहान ४ बजेदेखी बेलुकासम्म भक्तजनको लागि सुरक्षा व्यवस्था कडा पारिनेछ।  प्रहरी खोजखबर कक्ष सञ्चालन गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.