अष्ट्रेलियाली महिला टोली १७ रनले पराजित

|

काठमाडाै‌ं : आइसिसी महिला टि-ट्वेन्टी विश्वकपमा भारतीय महिला क्रिकेट टोलीले सुखद सुरुवात गरेको छ। सिड्नी शो ग्राउन्ड स्टेडियममा शुक्रबार भएको पहिलो खेलमा भारतीय महिला टोलीले साविक विजेता अष्ट्रेलियामाथि १७ रनको जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले पूरा २० ओभरमा ४ विकेट खर्चँदै १ सय ३२ रनको स्कोर बनाएको थियो। दिप्ती शर्माले अविजीत ४९ रन बनाउँदा शफाली वर्माले २९, जेमिमा रोड्रिगजले २६ रन जोडिन्। भारतीय क्रिकेटकी कप्तान हरमनप्रित कौरले मात्र २ रन बनाएकी थिइन्। अष्ट्रेलियाकी जेस जोनासिनले २ विकेट खसालिन्।

१ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाली महिला क्रिकेट टोलीले १९.५ ओभरमा १ सय १५ रनमात्र बनाउन सक्यो। एलिस हेली र एशले गार्डनरबाहेक अन्य ब्याट्स वुमनले दोहोरो रन जोड्न सकेनन्। अर्धसतकीय पारी खेलेकी हेलीले ३५ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाइन्। गार्डनरले ३४ रन बनाइन्। भारतकी पुनम यादव एक्लैले अष्ट्रेलियाको ४ विकेट खसाल्दा शिखा पाण्डेले ३ विकेट झारिन्।

अष्ट्रेलिया चार पटकको उपाधि बिजेता टिम हो। राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगितामा १० वटा टिम सहभागी छन्। थाइल्याण्ड पहिलोपटक प्रतियोगितामा सहभागी हुँदैछ। प्रतियोगिताको फाइनल खेल अन्तर्राष्ट्रिय नारी दिवसका दिन मार्च ८ मा मेलवर्नमा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.