थकाली जातीको कला-संस्कृतिमा पर्यटक आकर्षित

|

पर्वत : तपाईँहरू यात्रामा निस्कनुपर्दा बस वा जहाजको टिकट बुक गर्नुहुन्छ, टाढैको वा चाप बढी भएको ठाउँमा गएर बस्‍ने परेमा होटेलमा कोठा बुक गर्नुहुन्छ। यी बाहेक यदाकदा केही अवस्थामा आफ्नो कोटा सुरक्षित गर्न टिकट वा ठाउँ बुक गर्दै आउनुभएको होला।

तर पाहुनाहरूको चाप अत्यधिक बढ्दै गएपछि हिमालपारिको जिल्ला मुस्ताङमा रहेको होमस्टेमा बस्न अनलाइनबाटै ठाउँ र दिन बुक गरेर जानुपर्ने भएको छ। 

देशकै आकर्षक पर्यटकीय क्षेत्रको रूपमा रहेको मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चाप बढेसँगै होटेलमा भन्दा होमस्टेमा धेरैको रोजाईमा पर्ने गरेको छ। 

यही कारण नै घरपझोङ्ग गाउँपालिका-५ ठिनी गाउँमा सञ्चालनमा रहेको सामुदायिक होमस्टेले खान र बस्नका लागि होमस्टेमा आउन चाहनेहरुलाई फर्काउनुपर्ने अवस्थाको अन्त्य गर्न अनलाइनबाटै नै बुकिङ गर्न सकिने व्यवस्था गरेको छ।

‘आन्तरिक तथा बाह्य पर्यटकहरु धेरै आउनुहुन्छ, सीमित क्षमताको होमस्टेमा सबैलाई राख्न सक्ने अवस्था नहुँदा पाहुनाहरू फर्किनुपरेको अवस्था छ,’ होमस्टे सञ्चालक समितिका अध्यक्ष लालप्रसाद थकालीले भने, ‘होमस्टेमा बस्न मन भएकाहरू आएर फर्किन नपरोस् भनेर नै अनलाइनबाट बुकिङ गरेर आउने व्यवस्था मिलाएका हौँ। सायद होमस्टेमा अनलाइन बुकिङ गरेर आउनुपर्ने हामी नै पहिलो हो जस्तो लाग्छ।’ 

थकाली जातीको कला संस्कृति र जीवनशैली झल्किने ठिनी गाउँमा होमस्टे सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण झनै बढेको उनको भनाई छ।

ठिनीका १२ घरहरू मिलेर सञ्चालन गरेको होमस्टेमा एकै पटकमा १ सय ५० जनासम्मलाई खान र बस्न प्रबन्ध गर्न सकिने भए पनि पाहुनाहरू भने त्यो भन्दा बढीको सङ्ख्यामा आउँदा आफूहरुलाई नै अप्ठ्यारो लागेकोले अनलाइन मार्फत आउने र बस्ने मिति तय गर्दा पाहुनालाई फर्काउन परेको छैन।

व्यवस्थापनमा पनि सजिलो भएको होमस्टे सञ्चालक मदना थकालीले बताइन्। होमस्टेमा बस्‍न आउने पाहुनाहरूलाई माग बमोजिम थकाली नृत्य लगायतका स्थानीय परम्परागत संस्कृति देखाउँदै स्थानीय उत्पादनका खानेकुरा खाने प्रबन्ध रहेको उनी बताउँछन्।

भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका सदस्य नीरज थकालीले अनलाइनमार्फत बुकिङ गरेर आउन सक्ने व्यवस्था मिलाएपछि पर्यटकहरूबाट पनि सजिलो भएको प्रतिक्रिया आएकोले होमस्टेको व्यवस्थापन झनै राम्रो बनेको बताउँछन्।

मुस्ताङ सदरमुकाम जोमसोमबाट दुई किलोमिटर दक्षिणमा रहेको ठिनीमा थकाली संग्राहलय, ढुम्बा ताल, हिउँचितुवा गुफा, वर्षौँ पुरानो कुछपतेरेङ्गा गुम्बा, यारु झो भिउपोइन्ट, इको ग्रो स्याउ बगान, घरपझोङ्ग किल्ला, विश्वकै अग्लो तिलिचो ताल पुग्ने छोटो पदमार्ग, कैशाङ्ग क्याम्प तथा दर्जनौँ पर्यटकीयस्थलहरू भएका कारण सधैँजसो पर्यटकहरूको चहलपहल हुने र ती पर्यटकहरु होमस्टे आउने गरेको उनको भनाई छ। 

सरकारले मनाइरहेको भ्रमण वर्ष सफल पार्नका लागि धेरै पर्यटकहरु चाहिने र त्यसको सहजीकरण अनलाइन बुकिङले गर्न सक्ने थकाली बताउँछन्। अनलाइन बुकिङको व्यवस्था सुरु गराउन स्थानीय बुद्धीजीवी दिनेश थकालीले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेका छन्। 

www.thini.org वेबसाइटमार्फत पर्यटकहरूले त्यहाँ जानेहरूको सङ्ख्या, बस्ने दिन र खर्चको अवस्थाबारेमा जानकारी गराएर अनलाइन बुकिङ गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.