|

भक्तपुर : दक्षिण एसियाली खेलकुद (साग)को काठमाडौंमा सम्पन्न १३औँ संस्करणमा पदक विजेता खेलाडीहरू भक्तपुरमा शुक्रबार सम्मानित भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ भक्तपुर र संवाहक मिडिया हाउसले संयुक्तरूपमा १३औँ सागमा पदक विजेता भक्तपुरका ११ खेलाडी, दुई प्रशिक्षक, एक व्यवस्थापक र ३९ जना निर्णायकलाई ताम्रपत्रसहित सम्मान गरेको हो।

सम्मानित हुनेहरूमा दुई करातेमा दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ, उसुमा स्वर्ण विजेता सुस्मिता तामाङ, तेक्वान्दोमा स्वर्ण विजेता काजोल श्रेष्ठ, टेवलटेनिसमा रजत विजेता शिव शुन्दर गोठे, ह्याडबलकी देवकुमारी बाँस्कोटा कबड्डीका इन्दिरा गिरी, रजत पदक विजेता खेलाडीहरु भारोत्तोलनका लक्ष्मी वन, जुडोका श्रीराम कामजु, बास्केटबलका विकल जोशी, तेक्वाडोका ज्ञानेन्द्र हमाल र खो खो खेलबाट कास्य पदक विजेता श्याम बुढाथोकी छन्।

त्यस्तै, सम्मानित हुने प्रशिक्षकहरूमा राधिका देउला र मोहनप्रसाद बासुकला, व्यवस्थापक सुन्दर प्रजापति छन् भने विभिन्न खेलहरूमा निर्णायकको भूमिका निभाएका ३९ निर्णायकहरूलाई पनि सम्मान गरिएको थियो।

खेलाडीहरूलाई सम्मान गर्दै सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले खेल क्षेत्रको विकासका लागि हरेक जिल्लामा एउटा स्तरीय र सुविधा सम्पन्न कवर्डहल, एक स्थानीय तहमा एक खेल मैदान निर्माण गर्नुका साथै एक खेल एक विद्यालयको अभियान सञ्चालन ल्याउँदै सक्षम एवं सवल खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए।

करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक रामशरण त्वातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका केन्द्रीय अध्यक्ष दीपक श्रेष्ठ, पत्रकार महासंघका भक्तपुरका संस्थापक सभापति रमेश खड्का, भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापति, भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वालगायतले राष्ट्रको पहिचार वृद्धिका लागि पनि खेल क्षेत्रको विकास अपरिहार्य भएको चर्चा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.