|

पर्वत : देशका धेरै जिल्लामा धूमधामका साथ भगवान् शिवको पूजाआजा भइरहेको छ। ब्रत बस्दै शिवजीको मन्दिरमा पूजाआजा गर्नेहरूको भीड लागिरहेको छ।

कानुनले बर्जित गरेको भए पनि शिव बुटीका रूपमा लिइने भाङ, धतुरो र गाँजा खाँदै लट्ठिइरहेका पनि भेट्न सकिने बेला हो, यो। भगवान् शिव र पार्वतीको मूर्तिमा पूजा गर्दै उनीहरूकै जस्तै प्रेमिल जोडी बन्‍न पाऊँ भन्‍ने मनोकामना गरिरहेकाहरु पनि यही दिन भेटिन्छन्।

नेपालभित्रै भएर पनि हिमालपारिको जिल्ला मुस्ताङलाई भने कुनै पनि वर्ष महाशिवरात्रि पर्वले छुँदैन। मुस्ताङका स्थानीय बासिन्दा लगभग सबैजसो बौद्ध धर्ममा आस्था राख्‍ने भएकाले न त मुस्ताङमा शिव मन्दिर बनाइएका छन् न त शिवरात्रि लगायतका हिन्दु धर्मावलम्बीका पर्वमा चहलपहल नै हुन्छ।

दशैंको बेलामा कोत घरमा पूजा गरेपछि सेतो अक्षता लगाउनेसम्मको चलन रहे पनि हिन्दुहरूले मनाउने अन्य चाडबाडमा मुस्ताङ प्राय शून्य जस्तै हुने गरेको छ। 

धेरै जिल्लामा बिहानैदेखि ठूलाठूला मुढाहरू जोतेर शिव धुनीको नाममा भुंग्रो बनाउँदै, भजनकीर्तन गर्दै रातभर बस्ने प्रचलन रहे पनि मुस्ताङमा भने आगोको तातोको सट्टामा हिउँले नै कठ्याङ्ग्रिनेसम्मको पिर छ। एक त मस्ताङीहरु धेरैले बौद्ध धर्ममा विश्वास गर्छन् दोस्रो यस वर्ष महाशिवरात्रि पर्वकै दिन बिहानैदेखि हिमपात भइरहेको छ।

देशका अन्य जिल्लामा शिवरात्रिको उपलक्ष्यमा भजन गाउनेसहित धुनीको रमाइलो छ। मुस्ताङमा भने त्यस्तो केही पनि देख्न नपाएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल बताउँछन्।

‘यहाँ त बौद्ध धर्ममा आस्था राख्नेहरू धेरै हुनुहुन्छ त्यही कारण शिवरात्रि सुनसान नै हुने गरेको छ’ उनले भने, ‘हामी केही साथीहरू मिलेर जोमसोम नजिकै रहेको एउटा शिव मन्दिरमा दर्शनका लागि त गयौँ, तर त्यहीँ पनि हिउँ परेर बस्नै नसकिने अवस्था भयो।’

त्यही गाउँपालिकाकै लेखापाल आशिष भण्डारीका अनुसार बाहिरी जिल्लाबाट जागिरको सिलसिलामा गएकाहरूमध्ये केही हिन्दु धर्ममा आस्था राख्ने भएका कारण मुक्तिनाथ र जोमसोम नजिकैको शिव मन्दिरमा पूजा गर्न जान्छन्। तर यस वर्ष शिवरात्रिकै दिनमा हिमपात भइरहेकाले ती मन्दिर पनि सुनसान रहेको उनको भनाई छ।

‘जोमसोम नजिकैको पुथाङ बजारस्थित शिव मन्दिरमा पूजाआजा गरेर मुक्तिनाथसम्म जाने यात्रा तय भएको थियो। तर हिमपात भएका कारण जान सकिएन’ उनले भने, ‘यहाँका रैथाने अधिकांश बौद्ध धर्ममा आस्था राख्नुहुन्छ, यदि शिवको आराधना गरिन्छ भने बाहिरबाट आएका कर्मचारीहरुले गर्ने हो, त्यो पनि अहिले त हिमपातले दिएन।’

मुस्ताङकै स्थानीय बासिन्दा तथा नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका सदस्य नीरज थकालीले मुस्ताङमा हिन्दुहरूले पूजाआजा गर्ने मुक्तिनाथ मन्दिर बाहेक जोमसोम नजिकैको पुथाङ बजारमा नेपाली सेनाले निर्माण गरेको एउटा शिव मन्दिर र त्यहाँ भन्दा केही माथि गणेश मन्दिर रहेको बताए।

हिन्दुहरूको आकर्षणको केन्द्रका रूपमा रहेको मुक्तिनाथ मन्दिरमा हिन्दुहरू मात्रै पूजाआजाका लागि जाने गरेका छन्। अन्य धर्ममा आस्था राख्नेहरू त्यहाँ अवलोकनमा पुगेका हुन्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.