मौसम सुधार आएपछि महोत्सव संचालन हुन्छ : अध्यक्ष भट्ट

|

डडेल्धुराः वर्षाका कारण डडेल्धुरामा जारी ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव प्रभावित भएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आयोजना गरिएको महोत्सव बिहीबार रातिदेखिको लगातारको वर्षा र हावाहुरीले प्रभावित भएको हो।

हावाहुरीले महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबारलगताय ढलेका छन्। डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले भ्रमण वर्षलाई सफल बनाउन र यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको प्रवर्द्धन गर्न आयोजना गरिएको महोत्सवको बिहीबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोराले उद्घाटन गरेका थिए।

‘सुखी नेपाली समृद्ध नेपाल : कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ बिहीबारदेखि सुरु भएको महोत्सव १८ गतेसम्म संचालन हुनेछ। मौसम आएको खराबीका कारण महोत्सव प्रभावित भएको र मौसम सुधार आएपछि महोत्सव संचालनमा आउने उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए।

उनकाअनुसार महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा क्षति पुगेको छ। शुक्रबारका लागि तय भएका कलाकार जिल्लाका पुगिसकेका र भोलि पर्सी आउने कलाकारहरुलाई मौसम सुधार भएपछि मात्र बोलाइने अध्यक्ष भट्टको भनाइ छ। शुक्रबार डडेल्धुरामा ५ मिलिमिटर वर्षा भएको छ।

महोत्सवमा लोक दोहरी हाँस्यव्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। अमरगढी नगरपालिका ४ टुँडिखेलमा आयोजना गरिएको महोत्सवमा सर्वसाधारणका लागि ६० विद्यार्थीका लागि ४० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ।

‘क’ र ‘ख’ वर्गका अपाङता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। महोत्सवको टिकटबाट उठ्ने पैसाको १० प्रतिशत रकम डडेल्धुरा बहुमुखी क्याम्पसमा प्रविधिक शिक्षा संचालन गर्न र डडेल्धुरामा हावाई मैदान निर्माणका लागि खर्च गरिने आयोजकले जनाएको छ। २ लाख मान्छेले महोत्वसको अवलोकन गर्ने आयोजकको दाबी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.