|

काठमाडौं : मूल्य आकाशिएपछि नेपाली बजारमा सुनको बिक्री ह्वात्तै घटेको छ। सुन व्यवसायीहरुका अनुसार फागुन सुन बिक्रीको सिजन भए पनि कारोबारमा ७० प्रतिशतसम्मले गिरावट आएको हो।

‘अरु बेला फागुन महिनामा दैनिक ५० किलोसम्म सुन बिक्री हुन्थ्यो‚’ सुनचाँदी व्यवसायी महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले  भने, ‘अहिले मुस्किलले १० देखि १५ किलोसम्म मात्रै बिक्री भइरहेको छ ।’

सुनको भाउ यो साता मात्रै तोलामा १६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च ७८ हजार १०० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजार हेर्दा मूल्य अझै बढ्ने देखिएको संयोजक शाक्यले बताए। अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश एक डलर मूल्य बढ्दा नेपालमा सुन तोलाको ४० रुपैयाँ महँगो हुन्छ।

शुक्रबार बेलुकीसम्मको अन्तर्राष्ट्रिय बजार हेर्दा प्रतिऔंश १५ डलरसम्म भाउ बढेकाले आइतबार बजार खुल्दा सुनको भाउ तोलाको ७९ हजार रुपैयाँको हाराहारी पुग्ने अनुमान गरिएको शाक्यले बताए। चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमै आर्थिक गतिविधि सुस्त भएका कारण सुनको भाउ बढेको हो।

अन्य क्षेत्रको कारोबार सुस्ताएका कारण मानिसहरुले सुनमा लगानी बढाउँदा माग बढेर भाउ पनि बढेको संयोजक शाक्यको भनाइ छ। ‘अरु देशमा सुरक्षित लगानीका लागि सुन किन्ने गरिन्छ। त्यसैले भाउ बढेको हो,’ शाक्यले भने, ‘नेपालमा भने गरगहनाका रुपमा प्रयोग गर्नका लागि किन्ने भएकाले मानिसहरुले नकिनी नहुने अवस्थाबाहेक सुन नकिन्दा कारोबारमा मन्दि आएको हो।’ यही गतिमा भाउ बढ्ने हो भने सुनको भाउ प्रतितोला ८० हजार नाघ्ने व्यवसायीको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.