समाज

जनकपुर–जयनगर रेल चल्न अझै छ महिना लाग्ने

फागुन १०, २०७६

    काठमाडौं : जनकपुर–जयनगरमा रेल सञ्चालन गर्न अझै छ महिना लाग्ने भएको छ। आवश्यक जनशक्ति र भौतिक पुर्वाधार तयार नभएका कारण आगामी आर्थिक वर्षदेखि मात्रै रेल सञ्चालनमा आउने भएको हो।

    रेलको ट्रयाक तयार भए पनि जनशक्ति अभाव र रेल ल्याउन समय लाग्ने भएकाले आगामी आर्थिक वर्षपछि मात्रै सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। उनका अनुसार भारतको चेन्नईमा बनिरहेका दुईवटा आधुनिक रेल चैतको तेस्रो सातासम्म नेपाल ल्याइने छ।

    रेल सञ्चालनका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको छ। जनकपुर–जयनगरमा रेल चलाउन कम्तिमा २०० कर्मचारी आवश्यक पर्ने आँकलनअनुसार विभागले विज्ञापन गरिसकेको महानिर्देशक मिश्रले जानकारी दिए। नेपालमा ल्याइने दुईवटा रेलमध्ये एउटाको निर्माण सम्पन्न भएर परीक्षण समेत भइसकेको छ भने अर्कोको निर्माण कार्य सकेर चैतको तेस्रो साताभित्र ल्याउने तयारी छ।

    भारतको जयनगरदेखि जनकपुर ३५ किलोमिटर रेलवे ट्रयाक निर्माण सम्पन्न भइसकेको छ। सञ्चालनका लागि विदेशी प्राविधिक भर्ना गर्ने निर्णय भइसकेको र रेलको चालक खोज्ने काम भइरहेको मिश्रले बताए । उनले भने‚ 'नेपालमा रेल सञ्चालन गर्नु जनशक्ति र भौतिक पूर्वाधारका हिसाबले निकै कठिन काम हो। हामीले प्रयास गरिरहेका छौँ। जतिसक्दो छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।'

    जयनगर–जनकपुर रेलवे ट्रयाक, घरलगायत संरचना र जयनगर स्टेसन चाँडै नै भारतले नेपाललाई स्तान्तरण गर्ने कार्यक्रमको तयारी भइरहेको समेत उनले बताए । नेपाल र भारतबीच यसअघि भएको सम्झौतामा नेपालमा रेल सेवा सञ्चालन नहुन्जेल जयनगर रेलवे स्टेसन नेपालले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ। विभागले यसअघि यहि फागुनदेखि जनकपुर–जयनगरमा रेल चलाउने योजना बनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]