|

डडेल्धुराः नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणअन्तर्गत शनिबार भएको खेलमा विभागीय टिम एपिएफ विजयी भएको छ। ए डिभिजन टिम एनआरटीलाई पराजित गर्दै एपिएफ क्वाटरफाइनल प्रवेश गरेको हो। 

सुदूरपश्चिम-११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको सर्वाधिक धनराशिको गोल्डकपको दोस्रो दिन भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै एपिएफ अन्तिम आठमा पुगेको हो। एपिएफलाई जित दिलाउन रमेश दंगाल र बिकु तामाङले एक-एक गोल गरे। एनआरटीको लागि दर्शन गुरुङले सान्त्वना गोल गरे।

खेलमा सुरुवाती अग्रता भने एनआरटीले बनाएको थियो। खेलको ३९ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। कप्तान प्रकाश बुढाथोकीले मिलाएको पासलाई दर्शनले डिबक्स भित्रबाट पहिलो बारमा सुन्दर गोल गरेका थिए। तर, दोस्रो हाफमा एपिएफ खेलमा फर्कियो। खेलको ६१औं मिनेटमा रमेशले गोल गर्दै एपिएफलाई १–१ गोलको बराबरीमा ल्याए। 

सुदिप शिख्राकारको कर्नरमा अनमार्क रहेका डिफेन्डर रमेशले हेड गोल गरे। त्यसपछि खेलको ६७ औं मिनेटमा वैकल्पिक खेलाडी बिकुले गोल गर्दै एपिएफलाई २–१ को जित दिलाए। कप्तान टोपबहादुर बिष्टले प्रहार गरेको रिवाउण्ड बलमा बिकुले गोल गरेका थिए। 

खेलको म्यान अफ दि म्याच एपिएफक रमेश दंगाल चुनिए। उनले १० हजारसहित ट्रफी प्राप्त गरे। अब एपिएफले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ। यसअघि शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीसँग ३-२ को हार व्यहोरेको एपिएफले त्यसको बदला समेत लिएको छ। प्रतियोगिताअन्तर्गत आइतबार नव जनजागृति क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्नेछन्।

शुक्रबारदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ। 

सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.