घना जंगल भएकाले मानवीय क्षति भने भएन

|

सोलुखुम्बु : उडिरहेको हेलिकोप्टरबाट निर्माणका सामग्री खसेको छ। सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट उक्त सामग्री खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ। सोलुखुम्बुको लागि यो घटना भने पहिलो होइन। 

प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार शनिबार बिहान १०ः३६ बजे सोलुदुधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोला जंगलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको हो। कैलाश एयरको ९ एनएएमटीको हेलिकोप्टरले दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामग्री लिएर टाक्सीन्दुबाट उडेको थियो।यस बिषयमा कैलाश हेलिकोप्टर सर्भिसेज प्रालिका जनरल म्यानेजर प्रतापजंग पाण्डेले भने आफू नेपाल बाहिर भएकाले जानकारी नभएको बताए। 

कानुनविपरित कार्गो ढुवानी

खुम्बु क्षेत्रको लागि आवश्यक सामग्री ढुवानमा प्रयोग हुने सानो हेलिकोप्टरले झुण्ड्याएर ढुवानी गर्छन्। तर उडान हुने स्थलमा कुनै सुरक्षा जाँच भने हुँदैन। नेपाल नागरिक उड्डयन ऐन २०७३ को परिच्छेद ८ को हवाई सुरक्षा अन्तरगत खनतलासी गर्नुपर्ने दफा १ मा बिमानस्थलका अधिकार प्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खानतलासी नगराई कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउँनु वा वायुयानबाट ओसारपसार गर्नु गराउनु हुँदैन। 

यस्तै सोही ऐनको परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमति बेगर त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको सर्तको विपरित हुने गरि वायुयान सञ्चालन गरेमा एक लाख देखि १० लाख सम्म जरिवाना हुन सक्ने व्यवस्था पनि उल्लेख गरेको छ। 

नियमनकारी निकायको मौनता, हेलिकोप्टरको मनोमानी उडान

विगतको दिनमा पनि यस्ता घटना भइरहेको भएपनि नियमनकारी निकाय मौन बसेको स्थानीयको दावी छ। हवाई उडानकै कारण असुरक्षित महशुस भइरहेको भन्दै स्थानीयले प्रहरी प्रशासनलाई गुहार मागेको भएपनि हालसम्म यस बिषयमा कुनै निर्णय भएको छैन। गत भदौ १९ गते बिहीबारका दिन उडिरहेको कैलास एयरकै हेलिकोप्टरबाट सोलुदुधकुण्ड नगरपालिका २ को फेरामा सिरकलगायतको सामग्री खसेको थियो। 

शनिबारको घटना घना जंगलमा भएकाले मानवीय क्षति भने नभएको लुक्ला बिमानस्थलका प्रमुख इमनाथ अधिकारीले बताए। तर कुनै मानव बस्तीमा उक्त सामान झरेको भएको भए ठूलै क्षति हुने अधिकारीको भनाई छ। उनका अनुसार उक्त हेलिकोप्टर लुक्ला बिमानस्थलको हेलिप्याडमा सकुशल अवतरण गरिएको छ। 

हेलिकोप्टर कम्पनीको दादागिरीलाई स्थानीय प्रशासन तथा विभागले समेत सहयोग गरिरहेको स्थानीय पासाङ शेर्पाले बताए। यता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले भने यस घटनालाई गम्भीर रुपमा लिएको भन्दै प्रहरीको स्थलगत रिपोर्ट पछि थप निर्णय गर्ने बताइन्।

संवेदनशील घटना घटेको भन्दै प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको उनको भनाई छ। घना जंगलमा उक्त सामग्री खसेकाले प्रहरी पुग्न कठिन भएको बताइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षत्रीले भने आइतबार आकस्मिक बैठक बसेर निर्णय गरिने बताए।

घटनाको बिषयमा लिखित जानकारी प्राप्त भएकाले समस्याको दिगो समाधान तर्फ लाग्ने बताए। ऐन तथा नियमावलीमा उल्लेख भएअनुसार कार्वाही प्रक्रिया अगाडि बढाउने भन्दै उनले विमानस्थलबाटै उडान गर्ने गरी निर्णय गर्न सकिने बताए। बारम्बार घटना भएको जानकारी आएकाले नियम अनुसार प्रक्रिया अगाडि बढाउन नागरिक उड्यायन कार्यालय गम्भीर भएर लाग्ने बताए। 

जिल्लाको माथिल्लो खुम्बु क्षेत्रमा सडक पहुँच नभएकाले सामान ढुवानी गर्ने सहज माध्यम नै हेलिकोप्टर रहेको छ। तर उनीहरूले नियमविपरित मनोमानी उडान तथा अवतरण गर्दा त्यस क्षेत्रका स्थानीयदेखि वन्यजन्तुलाई समेत असर परेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख भुमिराज उपाध्यायले बताए। उनका अनुसार उडान तथा अवतरण बापतको राजश्व समेत समयमा उठ्न सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.