हालसम्म दुईजनाको मृत्यु

|

सियोल : ठूलो संख्यामा नेपालीहरु रोजगारीमा रहेको दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुणा भएको अधिकारीहरूले बताएका छन्। 

शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड-१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ।

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरे‍। अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म दक्षिण कोरियामा दुईजनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ। डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ।

यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताएका छन्। उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका छन्। 

चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये दुई हजार ३४५ जनाको मृत्यु भइसकेको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एक हजार २०० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ। चीन बाहिरका देशमा शनिबारसम्म आठ जनाको मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.