|

सोलुखुम्बु : तेस्रो संस्करणको मदन भण्डारी स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसरीलाई  संयुक्त विजेता घोषणा गरिएको छ। शनिबार फाइनल खेल भइरहेको बेला  वर्षा भएपछि खेल प्रभावित भएको थियो।

सोलुखुम्बु र सुनसरी बीचको खेलमा २५–१५, २५–२३, १९–२५, २३–२५ र ५–५ को अवस्थामा पुगेपछि वर्षाले गर्दा खेल स्थगित गर्नुपरेको स्पोर्टस एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिए।

खेलको दुई सेट सोलुखुम्बु र दुई सेट सुनसरीले जितेको थियो। अन्तिम सेटको खेल चलिरहेको र दुवै टोलीको ५–५ अंक रहेको अवस्थामा असिनासहितको वर्षा भएपछि खेल अवरुद्ध भएको थियो। भारी वर्षा भएका कारण खेल पुनः सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिएको नेपाल भलिबल संघका केन्द्रीय सचिव डिबी नेपालीले बताए। 

नेकपा प्रदेश १ का प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले उपाधि विजेतालाई थप गरेको ५० हजारसहित तीन लाख रुपैयाँ दिइएको मदन भण्डारी स्पोर्ट एकेडेमी प्रदेश १ का अध्यक्ष सागर थापाले जानकारी दिए।

शनिबारनै भएको खेलमा भोजपुरलाई पराजित गरी झापाले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको झापाले ५० हजार रुपैयाँ र भोजपुरले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताको उदीयमान खेलाडी भोजपुरका रोमन बस्नेत घोषित भए। उनले १० हजार नगद प्राप्त गरे। यस्तै, उत्कृष्ट सर्भर झापाका भरत यादव, उत्कृष्ट स्पाइकर सोलुखुम्बुका सुनम मगर, उत्कृष्ट सेटरमा सोलुखुम्बुकै अर्जुन राई, उत्कृष्ट लिब्रो सुनसरीका वसन्त राई, उत्कृष्ट ब्लकर सुनसरीकै सुरज चौधरी घोषित भए। उनीहरु सबैलाई प्रतिव्यक्ति १०–१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। ्

सर्वाेत्कृष्ट खेलाडीको उपाधि सोलुखुम्बुका सन्जय बस्नेत र सुनसरीका अनिस राईलाई संयुक्त रुपमा प्रदान गरियो। उनीहरुलाई प्रतिव्यक्ति आठ आठ हजार रुपैयाँ प्रदान गरिएको छ। 

मदन भण्डारी स्पोर्ट एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का १३ टोलीको सहभागिता रहेको थियो। कार्यक्रमको समापन सत्रमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङलगायत उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.