पूर्वएमालेको मुख्यमन्त्रीसहितको सरकार परिवर्तनको माग

|
फाइल तस्बिर

सुर्खेत : कर्णालीमा सरकार हेरफेरको चर्चा चलेको छ। नेकपा कर्णाली प्रदेशको प्रथम पार्टी भेलापछि झन् यसको चर्चा चुलिएको हो। प्रदेशको भेलापछि बसेको पार्टी प्रदेश कमिटीको बैठक र संसदीय दलको बैठकमा सरकार पुनर्गठनका बारेमा कुरा उठेको हो। 

नेकपा प्रदेश कमिटीको विश्वस्त स्रोतका अनुसार पार्टी कमिटीको  बैठकमा सरकारमा गएकाहरूले मनपरी र पार्टीको सल्लाहबिना नै काम गरिरहेको कुरा उठेको छ। सरकरले राम्रो काम गर्न नसकेको पनि पार्टीको बैठकमा उठेको छ। एकजना प्रदेश कमिटी सदस्यका अनुसार प्रदेश सरकारका मन्त्रीहरूलाई काम गर्न नसक्ने भए ठाँउ खाली गर्नुपर्ने समेतको कुरा उठेको हो।

बैठकमा मन्त्रीहरूले समानुपातिक ढंगले बजेट विनियोजन नगरेको, बजेट अनुत्पादक क्षेत्रमा खर्च भएको, कमिशन आउने गरी बजेट वितरण गरेको र आफ्नो भूगोल र व्यक्ति विशेषलाई बजेटमा प्राथमिकता दिएको कुरा बैठकमा उठेको छ।

बैठकमा प्रदेशसभा सदस्यहरूले पनि सरकारको कडा आलोचना गरेका छन्। प्रदेश कमिटी बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा मन्त्रीहरूलाई चेतावनीसमेत दिइएको थियो। अहिलेसम्म भएका कमीकमजोरी नसच्चाइए ठाँउ छाड्न पर्ने चेतावनी बैठकमा दिइएको हो।

बैंकिङ कसुरको मुद्दा लागेपछि रिक्त रहेको र हाल मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्नुपर्ने प्रदेशको पार्टीको र संसदीय दलकामे बैठकमा जोडदार कुरा उठेको थियो। पूर्वधार विकास मन्त्रालयमा अहिले नेकपा संसदीय दलका प्रमुख सचेतक रहेका गुलाबजंग शाहको नाम चर्चामा रहेको छ।

आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला पनि सल्यानकै हुने भएकाले एकै जिल्लाबाट दुईजना मन्त्री बनाउने कि नबनाउने भन्ने बहससमेत चलेको जनाइएको छ। स्रोतका अनुसार केहीले पूर्वमन्त्री खत्रीलाई नै पद बहाल गराउने कुरा अनौपचारिक रूपमा उठाए पनि त्यो सम्भव नरहेको स्रोतले जनायो।

यसैगरी, बहालवाला मन्त्रीहरूलाई पनि परिवर्तन गर्ने गरी पनि कुरा चलिरहेको छ। वर्तमान भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीको ठाँउमा रुकुम पश्चिमकै गोपाल शर्मालाई ल्याउने चर्चा चलेको छ।

यसैगरी, उद्योय पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई परिवर्तन गर्ने चर्चा नेकपा वृत्तमा उठेको छ। बुढाको कार्यसम्पादन कमजोर रहेको भन्दै आलोचना हुँदै आएको थियो। उद्योग पर्यटनमा मिना सिंह रखालको चर्चा चलेको छ। यसो गरिए प्रदेश मन्त्रिपरिषद्‍मा महिलाको पनि उपस्थिति हुने भएकाले पूर्वएमाले खेमाबाट सिनियर महिला सांसद भएकाले रखालको चर्चा चलाइएको स्रोतले जनाएको छ।

यसैगरी, सामाजिक विकासमन्त्री दल रावललाई पनि परिवर्तन गर्ने कि भन्ने चर्चा चलेको छ। स्रोतका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिलामन्त्री नरेश भण्डारी र प्रकाश ज्वाला बाहेकका मन्त्री परिवर्तनको हल्ल चलेको हो। भौतिक पूर्वाधारमन्त्री सल्यानका गुलाव जंग शाह भएमा प्रकाश ज्वाला पनि सल्यानकै भएकाले ज्वालाको विषयमा पनि सोच्न सकिने स्रोत बताउँछ।

उसो त नेकपामा एकपक्षले भने पूरै मन्त्रिपरिषद्‍ परिवर्तन गर्ने समेतको कुरा उठाएको जनाइएको छ। खासगरी पूर्वएमालेको यामलाल कँडेलका नजिकका केहीले मुख्यमन्त्रीसहित सबै नयाँ अनुहार समेल गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्न कुरा उठाएको स्रोतले जनायो।

तर, अहिले नै पूरै मन्त्रिपरिषद् नै परिवर्तन गर्दा अन्य प्रदेशमा पनि सरकार समीकरणमा असर पर्ने भएकाले मुख्यमन्त्रीसहितको सरकार परिवर्तन सम्भव नरहेको स्रोतको दाबी रहेको छ। एकजना नेकपाका प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्यले भने ‘प्रदेशको संसदीय दलको बैठकमा २६ जना प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारले काम नै गर्न नसकेको, काम गर्न नसक्ने भए ठाउँ खाली गर्नु पर्नेमा जोड दिएका छन, आफ्नै पार्टीका मन्त्री भनेर चुप लाग्ने अवस्था छैन्।’

प्रदेश कमिटीमा र संसदीय दलको बैठकमा सांसदले जथाभावी बोलेको र सरकारको बचाउ नगरेको भनेर केही सांसदको आलोचना पनि गरिएको थियो। आगामी दिनमा जथाभावी नबोल्न पनि निर्देशन दिइएको नेकपाका प्रदेशस्तरीय एक नेताले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.