|

ताप्लेजुङ : पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले मेची पर्यटन महोत्सव ताप्लेजुङमा जारी छ। सदरमुकाम फुङलिङमा पाँच दिनसम्म चल्ने महोत्सवको प्रदेश १ का सभामुख प्रदीप भण्डारीले उद्घाटन गरे ।

महोत्सवको शुभारम्भ कलश यात्राबाट भएको थियो। महोत्सव अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति दिइरहेका छन्। महोत्सवको मुख्य आकर्षण सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिरसम्मको खुला तथा काफ्ले पार्टीसम्मको महिला म्याराथन प्रतियोगिता रहेको छ। 

यसका साथै जंगलमा चराइने भेडाको बथान सहर ल्याइएको छ। सयभन्दा बढी भेंडाको बथान सदरमुकामको तोक्मेमा राखिएको छ। भेंडाको गोठ फावाखोलाका कमल विष्टले ल्याएका हुन्। यस्तै, महोत्सव अवधिमा सदरमुकामको मेवाखोला हिल रिसोर्टबाट हेलिकप्टरमा चढेर सदरमुकाम फुङलिङ परिक्रमको समेत व्यवस्था मिलाइएको छ।  हेलिकोप्टरबाट पाथीभरा जानेले जनही १० हजार, तिम्बुङपोखरी जानेले २३ हजार र फुङफुङे झरना जानेले १२ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

महोत्सवमा खेलकुदतर्फ पालिकास्तरीय मेयर कप भलिबल प्रतियोगिता र महिला फुटबल प्रतियोगिता आयोजना भैरहेको छ। महोत्सवकै अवसरमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता पनि हुँदैछ। पुराना तथा लोपोन्मुख ‘पिलो फाइट’जस्ता प्रतियोगिता रहेको सहसंयोजक मनमणि काफ्लले बताए। महोत्सवमा १३ जातजातिको खाद्य परिकार, औद्योगिक प्रदर्शनी, कृषि मेला प्रदर्शनी, फोटो तथा वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रम छन्।

शिवरात्रि तथा सेना दिवसको अवसरमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले महोत्सव आयोजना गरेका हुन्।

नगरपालिकामा तीन दिन बिदा

महोत्सव अवधिभर फुङलिङ नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा सार्वजनिक बिदा दिइएको छ। फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलका अनुसार मेची पर्यटन महोत्सव नगरपालिकाको पर्वजस्तै भएकाले बिदा दिइएको हो। महोत्सव फागुन १३ सम्म चल्ने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.