बल्ल त उजुरी पर्‍यो, अब छानविन हुन्छ : प्रवक्ता कोइराला

|

काठमाडौं : करिब २७ अर्ब रुपैयाँको सेक्युरिटी प्रिन्टर खरिदका लागि ५५ करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गत बिहीबार राजीनामा दिए।

स्वीस कम्पनीका एजेण्ट भनिने विजय प्रकाश मिश्रले नेपाली कांग्रेसनिकट एक पत्रकारमार्फत सेक्युरिटी प्रिन्टर खरिदका क्रममा आउने ७४ करोड कमिसनमा ५५ करोड बाँस्कोटाले मागेको अडियो सार्वजनिक गरेका थिए। 

बुधबार बेलुका उक्त विवादित अडियो सार्वजनिक भएपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा राजीनामा दिए। 

कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित प्रदेशस्तरीय महोत्सवमा १३ केजीको माला पहिरिएिका बाँस्कोटाले विवाद त जसको पनि हुने भन्दै यो अडियोलाई सामान्य लिएका थिए। तर त्यही अडियोका कारण बढेको चौतर्फी दबाबपछि उनले काठमाडौं आएलगत्तै ‘नैतिकताका आधारमा’ पद छाडे। 

करिब एक खर्ब रुपैयाँका परियोजना सम्हालिरहेका बाँस्कोटाले राहदानी र नोटसहितका महत्वपूर्ण कागजात छाप्ने सेक्युरिटी प्रिन्टरको कमिसन बार्गेनिङको अडियोका कारण मन्त्रीबाट हात धुनुपर्‍यो। 

छिरेनन् मन्त्रालय

बुधबार साँझबाटै मिश्रसँग कमिसन बार्गेनिङ गरेको अडियो बाहिरिएपछि सामाजिक सञ्जालमा बाँस्कोटा र सरकारविरुद्ध आलोचना सुरु भइसकेको थियो। विशेषतः पत्रकारहरुसँग ‘रुखो शैली’ मा प्रस्तुत हुने गरेको आरोप उनीमाथि थियो। 

पद छाड्न दबाब परेपछि कञ्चनपुरबाट कैलालीको धनगढी हुँदै उनी बिहीबार अपरान्ह काठमाडौं ओर्लिए। काठमाडौं आएका उनी राजीनामा पत्र लेखेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे। जहाँ उनले प्रधानमन्त्री ओलीलाई राजीनामा पत्र बुझाए। त्यसलगत्तै ट्वीटरमा लेखे, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु।’

सामाजिक सञ्जालमा यो विवरण लेखेपछि उनी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने कार्यक्रममा जाने अपेक्षा थियो। सञ्चार मन्त्रालयको हलमा दिउँसो ३ बजेदेखि उनलाई पत्रकारहरु कुरेर बसेका थिए। 

तर सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले अपरान्ह ४ बजेपछि मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरिने नियमित पत्रकार सम्मेलन स्थगित हुने बताए। तिवारीले यसो भनिरहँदा मन्त्री बाँस्कोटा प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापासँगै गाडी चढेर भक्तपुरस्थित निवासतिर हान्निए। 

अनि सञ्चारमन्त्रालयमा छापा

मन्त्री बाँस्कोटाको राजीनामा प्रधानमन्त्रीकहाँ पुगेलगत्तै बिहीबार साँझ ५ बजे पछाडि सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कुनै एक सरकारी निकायले छापा मारेको खबर फैलियो। 

‘सञ्चारमन्त्रालयमा सादा पोशाकका मानिसले छापा मारेका छन्’, त्यो बेला थाहाखबरलाई सूचना दिने व्यक्तिले भने, ‘तर कसले हो भन्‍ने खुलेन। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले भन्‍ने छ। अरु तपाईं नै पत्ता लगाउनु होला।’

साधरणतः सीआईबीले जाहेरी परिसकेको विषयमा मात्रै अनुसन्धान गर्छ। ललिता निवासस्थित सरकारी जग्गा बिक्री प्रकरणमा उजुरी दर्ता गरेपछि मात्रै अहिले सिआईबीले तत्कालीन मन्त्री तथा कांग्रेस उपसभापति विजय गच्छदारसहित १७२ विरुद्ध ठगी अभियोगमा छानबिन थालिरहेको छ। 

सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले सञ्चारमन्त्रालयमा छापा मारेको कुरा तत्कालै नकारे। ‘हामीले जाहेरी दर्ता नगरी कहीँ कतै छापा मार्दैनौँ’, उनले भने, ‘झन् सञ्चार मन्त्रालयमा त हामी जाने कुरै भएन। हामीलाई अनुसन्धानको जिम्मा नआई छापा मार्न मिल्दैन।’

हल्ला के हो?

मन्त्री बाँस्कोटाले बालुवाटारमा राजीनामा पत्र बुझाएपछि सञ्चारमन्त्रालयमा छापा हानिएको समाचार आएको थियो। 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन विवादमा मुछिएर मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएलगत्तै छापा मारेको कुरा बाहिरियो।

अपरान्ह साढे चार बजेपछि मन्त्रालयमा पुगेको अख्तियारको टोलीले त्यही दिन राजीनामा दिएका मन्त्री बाँस्कोटाको सचिवालयमा छापा मारेको बताइएको थियो।

त्यसक्रममा मन्त्री बाँस्कोटाले विभिन्‍न योजनाका निर्णय तथा निर्णय गर्न बाँकी फाइलहरु नियन्त्रणमा लिएर लगेको हो। टोलीले बाँस्कोटासँग सम्बवद्ध सबै कागजात अख्तियारको टोलीले शिलबन्दी गरेर लगेको बताइएको थियो।

मन्त्रालयमा पुगेको उक्त समूहले बाँस्कोटाका निजी सचिवालयको कागजात जफत गरेको बताइएको थियो। मन्त्रीले प्रयोग गर्ने दराजका कागजातमा पनि सिलबन्दी गरेको खबर बाहिरिएको थियो। 

स्वीस कम्पनीसँग २७ अर्ब रुपैयाँमा सेक्युरिटी प्रिन्टिङ प्रेस किन्‍नका लागि बाँस्कोटाले त्यसका नेपाली एजेण्ट भनिने विजय प्रकाश मिश्रसँग कमिसन बापत आउने ७४ करोडमध्ये ५५ करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछिको घटना थियो यो। 

अनि अख्तियार गयो त? 

भ्रष्टाचार नियन्त्रणका लागि गठन गरिएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सञ्चारमन्त्रालयमा छिरेको हो त? सञ्चारमन्त्रीको राजीनामा प्रधानमन्त्रीकहाँ पुगेको थियो तर स्वीकृत भइसकेको थिएन। यस्तो अवस्थामा उजुरीसमेत नपरी अख्तियारले तात्तातै कसरी छापा मार्न सम्भव भयो होला? 

यसबारेमा अख्तियारका प्रवक्ता प्रदीप कोइराला भन्छन्, ‘हाम्रो टोली बिहीबार साँझ छापा मार्न सञ्चारमन्त्रालयमा गएकै छैन’, उनले थाहाखबरसँग भने, ‘बरु सेक्युरिटी प्रेसबारेमा आइतवार दुई उजुरी परेका छन्। अब चाहिँ अनुसन्धान अघि बढ्छ।’

प्रवक्ता कोइरालाले छापा मारेको अवस्थामा अख्तियारले मन्त्रालयका अधिकारीलाई मुचुल्कामा सही गराउने बताए। 
‘अख्तियारले त्यतिकै छापा मार्दैन। जहाँ छापा मार्ने हो, त्यहाँका अधिकारीलाई पनि साक्षी राखिन्छ। शिलबन्दी गर्दा पनि आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ’, उनले भने, ‘फेरि भन्छु, अख्तियारले छापा मारेको छैन।’

कोइरालाले जहाँ छापा मारे पनि मुचुल्का महत्वपूर्ण हुने बताए। । ‘छापा मारेको ठाउँमा हामीले मुचुल्का गरेका हुन्छौँ, कागजपत्र जफत गर्दा साक्षी राखेका हुन्छौँ’, उनले थाहासँग भने, ‘शिलबन्दी गरेको भए भरपाई पनि बुझाएका हुन्छौँ। भरपाई बुझाए नबुझाएकोबारे एक पटक सञ्चारका अधिकारीलाई सोध्नु होला।’

आखिर कसले लग्यो कागजपत्र?

सञ्चारमन्त्रालयमा छापा मारेको कुरा अख्तियार र सीआईबीले सीधै नकारेका छन्। मन्त्री बाँस्कोटाविरुद्ध कुनै उजुरी नै नपरी आखिर कसले लग्यो त सञ्चारमन्त्रालयबाट कागजपत्र। 

एक पक्षले सञ्चारमन्त्रीकै सहयोगीहरुले कमिसन लेनदेनको कुरा लुकाउन अख्तियारको नाम लिएर कागजपत्र लिएर गएको दाबी गरिहेका छन्। तर सञ्चारमन्त्रीकै सहयोगीकारुपमा काम गरेकाहरु भने निजी सचिवालयमा रहेका केही किताबहरु लगिएको बताउँछन्।

‘सञ्चारमन्त्रालयमा कसैले छापा मारेको छैन। सञ्चारमन्त्री बाँस्कोटा सहयोगीहरुले पनि त्यहाँका कुनै कागजपत्र लगेका छैनन्’, ती सहयोगीले भने, ‘तर निजी सचिवालयमा भएका केही महत्वपूर्ण किताव भने लगिएको हो।’

तर केही प्रत्यक्षदर्शीहरुले भने सञ्चारमन्त्रीको निजी सचिवालयबाट फाइलका पोकाहरु कपडामा पोको पारेर लगिएको बताउँछन्। ‘सञ्चारमन्त्रालयमा छिरेका सादा पोशाकका मानिसहरुले केही पोका लिएर निस्केका हामीले देखेका हौँ,’ एक प्रत्यक्षदर्शीले भने, ‘त्यो बेला हामीले सीआईबी या अख्तियारको टोली ठानेका थियौँ, तर मन्त्रालयमा छापा नै नमारेको कुराले मन्त्रीकै सहयोगीले ती कागजपत्र लगेको प्रष्ट भयो।’

छापा मारिएको छैन : सञ्चार मन्त्रालय 

सञ्चार मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी शिवप्रसाद त्रिपाठीले तत्कालीन मन्त्री बाँस्कोटाले राजीनामा दिएका दिन सरकारका कुनै पनि निकायले मन्त्रालयमा छापा नमारेको बताए। 

‘त्यसदिन बेलुकासम्म म मन्त्रालयमै छु, अख्तियारसहितका कुनै पनि निकायले छापा मारेका छैनन्’, उनले भने, ‘अहिलेसम्म सञ्चार मन्त्रालयमा कसैले छापा मारेको थाहा छैन। तर अख्तियारले छापा मार्‍यो भनेर आएको समाचार पढ्दा म पनि चकित भएको छु।’

प्रधानमन्त्रीको सचिवालय भन्छ : होइन

सञ्चार मन्त्रालयमा छापा मारिएको बारेमा प्रधानमन्त्रीको कार्यालयले पनि इन्कार गरेको छ। प्रधानमन्त्री कार्यालय मातहतका राजश्व अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्र पनि सञ्चार मन्त्रालयमा पुगेका छैनन्।

राजश्व अनुसन्धान विभागले मन्त्रालयको भ्रष्टाचार हेर्ने कुरै भएन। राष्ट्रिय सतर्ककता केन्द्रले पनि सञ्चारमा छापा मारेको छैन।

‘प्रधानमन्त्रीको कार्यालयमातहतका सञ्चारका कुनै पनि कागजपत्र लिइएको छैन’, प्रधानमन्त्रीको कार्यालय एक अधिकारीले भने, ‘अहिले उजुरी परिरहेको होला, अब चाहिँ अख्तियारसहितले अनुसन्धान गर्लान्।’

बल्ल उजुरी

भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित चारजनाविरुद्ध आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाविरुद्ध प्रितम सुवेदीसहितले उजुरी गरेलगत्तै प्रधानमन्त्रीविरुद्ध पनि अर्को उजुरी परेको हो। 

प्रधानमन्त्री, निवर्तमान सञ्चारमन्त्री बाँस्कोटा, तत्कालिन सञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध आइतवार अख्तियारमा उजुरी परेको हो। उनीहरुविरुद्ध बाँकेको नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुरको हेटौंडा, नवलपुरका आनन्दराम पौडेलले उजुरी हालेका हुन्। 

सञ्चार मन्त्रालय अन्तर्गत सेक्युरिटी प्रिन्टिङ प्रेस, भू(उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी बिस्तार, कम्प्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा अर्बौँ भ्रष्टाचार गरेको भन्दै उनीहरुले  अख्तियारमा उजुरी हालेका हुन्। 

दुवैले दिएको उजुरीलाई अख्तियारले दर्ता गरेर अनुसन्धान अघि बढाउने जनाएको छ। करिब २७ अर्ब रुपैयाँको सेक्युरिटी प्रेस खरिदका क्रममा कमिसन मागेको अडियो सार्वजनिक भएसँगै सञ्चार मन्त्री बाँस्कोटाले गत बिहीबार राजीनामा दिइसकेका छन्।

मिश्रविरुद्ध प्रहरीमा 

२७ अर्ब रुपैयाँ बराबरको सेक्युरिटी प्रिन्टर खरिदका क्रममा  गोकुल बाँस्कोटालाई अडियो टेप काण्डमा फसाएर मन्त्री पदबाट राजीनामा दिन बाध्य पार्ने विजयप्रकाश मिश्रविरुद्ध साइबर क्राइम मुद्दा चलाइएको छ। 

संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटासँग कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दिएको हो।  

समितिका सदस्यहरु रहेका नेकपा र कांग्रेसका सांसदहरुले अडियो प्रकरणमा आफूहरुलाई बिनाकाममा मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोमा उजुरी दर्ता गराइएको हो। 

बाँस्कोटाले सेक्युरिटी प्रिन्टर खरिदमा पाँच अर्ब भन्दा धेरै भ्रष्टाचार गर्न आरोप लगाएका मिश्रले सार्वजनिक लेखा समितिका सदस्यहरुको पनि उक्त काण्डमा संलग्नता रहेको टिप्पणी गरेका थिए। 

समितिका सचिव डा.रोजनाथ पाण्डेले मिश्रविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको जानकारी दिए। समितिको बैठकले बिहीबारै मिश्र र प्रकाश उपाध्यायमाथि कारवाहीका लागि साइबर ब्यूरोलाई पत्र लेख्ने निर्णय गरेको थियो। पाण्डेले प्रहरी मुख्यालयमा आइतबार  छुट्टै उजुरी दर्ता गरिएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.