|

खेम कार्की

सउल (दक्षिण कोरिया) : चीनको बुहानबाट सुरू भएको कोरोना भाइरस अहिले दक्षिण कोरियामा पनि फैलिएको छ। सरकारले सार्वजिनक गरेको तथ्यांकअनुसार, दक्षिण कोरियामा सोमबार बिहानसम्ममा संक्रमितको संख्याले ७०० नाघेको छ।

एकसाता अघिसम्म ३१ जनामा मात्रै यो संक्रमण देखिएकोमा सातादिनमै संक्रमितको संख्या ७६३ पुगेपछि दक्षिण कोरियामा रहेका नेपालीहरू त्रस्त बनेका छन्। कोरियामा ४० हजारभन्दा धेरै नेपाली कार्यरत् छन्। भलै, यहाँ बसोबास गर्दै आएका कुनै नेपालीमा अहिलेसम्म यो संक्रमण देखिएको छैन।

कोरियामा हालसम्म कोरोना भाइरसका कारण ६ जनाले ज्यान गुमाएका छन्। मर्नेहरूमध्ये अधिकांश वृद्धवृद्धा छन्। दक्षिण कोरियाको तेस्रो ठूलो शहर थेगुमा मात्रै ५०० भन्दा अधिक व्यक्ति संक्रमित भएको पाइएको हो। थेगु क्षेत्रमा ७००० नेपाली रहेको अनुमान छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, थेगुस्थित शिनछेङ्गी चर्चका ९ हजार ३ सय ३४ जना सदस्यमध्ये १२ सय जनामा संक्रमण फैलिएको आशंका छ। उनीहरूलाई उच्च निगरानीमा राखिएको छ। बन्द कोठामा प्रार्थना सञ्चालन हुने हुँदा उक्त भाइरस द्रुत गतिमा फैलिएको हो।  शिनछेङ्गी चर्चको प्रार्थनासभामा हजारौं स्थानीय सामेल हुने गर्दछन्।

नेपालीको स्थिति के छ?

कोरोना भाइरसको संक्रमण आकस्मिक रुपमा फैलिन थालेपछि दक्षिण कोरियामा रहेका नेपालीहरू त्रस्त बनेका छन्। सरकारी संयन्त्रले मोबाइल सन्देशमार्फत सतर्कता अपनाउने विधिहरू जारी गरेको छ। नियमीत रुपमा सूचना तथा जानकारीहरू अपडेट गराइराखेको छ।

सरकारले प्रारम्भमा चीनबाट आएका नागरिकसँगको सम्पर्कमा सावधानी अपनाउन अपील गरे पनि हाल भने संक्रमित क्षेत्रको नक्सा नै जारी गरेको छ। सरकारी सूचनामा 'भिडभाडमा नजान, अनिवार्य मास्क प्रयोग गर्न र सरसफाइमा ध्यान दिन' भनिएको छ।

६ वर्षदेखि थेगुमा रहँदै आएका पर्वत बेउलीवासका मणी भुसाल भन्छन्, 'यहाँका नेपालीहरू अहिलेसम्म सुरक्षित छन्। सतर्कता अपनाइरहेका छौं। तर, बाहिरबाहिर चलेको हल्लाले नेपालीहरू आतंकित बनेका छन्।'

संक्रमण फैलिएपछि थेगुमा बस्दै आएका नेपालीहरूको दैनिकी भने फेरिएको छ। चिन्ताले सताएको छ। थेगुमा कार्यरत् सोम ढकाल भन्छन्, 'कम्पनीले बाहिर निस्कन दिएको छैन। सबै कामदारहरू एउटै मेसमा खानमा खान्छन्। जसले गर्दा चिन्ता बढेको छ।' ढकाललाई कामको सिलसिलामा विभिन्न देशबाट दक्षिण कोरिया पुगेका मानिसहरूसँग घुलमिल हुनुपर्छ। 'त्यसैले मानसिक तनावको कुरा गरिसाध्यै छैन', उनले भने।

थेगुकै भद्रबहादुर केसी फेसबुकमा लेख्छन्, 'हामी थेगुबासी अलिक बढी नै त्रसित छौं। घर जान चाहने नेपालीहरू धेरै नै छन्, सम्बन्धित निकायले पहल गरिदिए हुन्थ्यो।' थेगु नेपाली सेल्टरका सुजन ज्ञवालीले एक सूचना जारी गरी नेपालमा रहेका घरपरिवारलाई त्रासमा नपर्न अपील गरेका छन्।

नेपालका मिडियाले पनि सतर्कता अपनाउन सघाउनेभन्दा त्रास फैलने प्रकृतिका सामग्रीलाई अधिक स्थान दिने गरेको थेगुस्थित नेपालीको बुझाइ छ। यद्यपि, दक्षिण कोरियास्थित नेपाली दूतावास, गैर आवासीय नेपाली संगठन आदिले नेपालीहरूलाई नियमित रुपमा सूचित गराउने कोशिश गर्दै आएका छन्।

कार्यवाहक राजदूत रामसिंह थापाले दक्षिण कोरिया सरकारले जारी गरेका निर्देशनहरू राम्ररी पालना गर्न आग्रह गरेका छन्। त्यस्तै, एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले नेपालीहरूलाई संक्रमण र मानसिक त्रासबाट जोगाउन सक्दो कोशिश भएको बताए। सरकारले आपतकालिन स्थितिमा वा कोरोनाको लक्षण देखिएमा तत्काल सम्पर्क गर्नका लागि हटलाइन टेलिफोन उपलब्ध गराएको छ।

दक्षिण कोरियाका नेपालीहरूलाई घर फर्काइएला?

दक्षिण कोरिया सरकारले अहिलेसम्म कुनै त्यस्तो संकेत गरेको छैन। स्थानीय पत्रकार सिन हयन सुङले भने, 'सरकारले कसैलाई आफ्नो–पराई भनेको छैन। बरू, विदेशी नागरिकको सुरक्षाका लागि चासो बढाएको छ।' उनका अनुसार, जुनसुकै देशका नागरिक होउन्, दक्षिण कोरियामा कसैलाई कोरोना संक्रमण भएको पाइए सरकारले नि:शुल्क उपचार गर्नेछ। तसर्थ, आत्तिनुपर्ने स्थिति छैन।

प्रवासी मजदुर संगठन, दक्षिण कोरियाका अध्यक्ष उदय राई भन्छन्, 'भिषा सकिएकाहरू पनि डराउनुपर्दैन। कोरोनाको लक्षण देखिएमा उनीहरू निर्धक्क भइ जचाउँन जान सक्नेछन्, उनीहरूलाई यसैको आधारमा पक्राउ नगरिने बताइएको छ।' कोरियामा लुकेर काम गर्दै आएका विदेशीहरू प्रशस्त छन्। भलै, त्यसरी बसोबास गर्ने नेपालीको संख्या यकिन छैन।

यता, नेपालले पनि इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जान लागेका कामदारलाई भने केही समयका लागि रोकिदिएको छ। 'यो अवस्थामा उनीहरूलाई दक्षिण कोरिया पठाउनु ठीक हुँदैन भनेर केही दिनका लागि रोकिएको हो', इपिएस कोरिया शाखाप्रमुख कृष्ण खनालले भने।

नेपाल सरकारको दायित्व

नेपालमा रहेका होउन् वा दक्षिण कोरियामा, आफ्ना नागरिकलाई आश्वस्त पार्नु नेपाल सरकारको दायित्व हो। नेपालबाट कोरिया आउने कामदारहरूलाई केही समयका लागि रोकिए पनि कोरियाबाट फर्किनेहरू फर्किइराखेकै छन्। सरकारले दक्षिण कोरियाको कोरोना संक्रमित क्षेत्रबाट नेपाल फर्कनेहरूप्रति विशेष सावधानी अपनाउनुपर्दछ।

चीनबाट फर्कनेहरूलाई जस्तै संक्रमण फैलिएका अन्य ठाउँबाट आउनेहरूलाई पनि क्वारेन्टाइनमा राखिनुपर्छ। स्मरणीय छ, चीनबाट सबै परिक्षण पूरा गरेर अमेरिका पुगेका ११ जनामा केही दिनपछि भाइरसको संक्रमण देखियो। यस्ता घटनाबाट नेपाल सरकारले पाठ सिक्नुपर्छ। त्यसैले, भ्रम वा हल्लालाई चिर्न सतर्कता बढाउनुपर्छ। 

बुसानमा बसोबास गर्दै आएका कार्की नेपाल पत्रकार महासंघ, दक्षिण कोरिया शाखाका पूर्वाध्यक्ष हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.