|

पर्वत : गएको शुक्रबार जिल्लाको कुस्मा नगरपालिका ९ कटुवाचौपारी स्थित छेउखन्नाका स्थानीयवासीले अचानक समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई देखेर छक्क परे। आम नागरिक जस्तै कुस्मा र कटुवाचौपारी जोड्ने ३ सय ४४ मिटर लामो झोलुङ्गे पुल तरेर उनी कटुवाचौपारीमा पुग्दा स्थानीयले डा.भट्टराई नै हुन भनेर विश्वास नै मान्न सकेनन्।

विश्वास मानून् पनि कसरी? भिआइपीहरू आउँदा हुने रवाफ केही थिएन न त धेरै मानिसहरूको भिडभाड नै थियो। देशकै उच्च नेताहरूलाई आम नागरिकले भेट्न त नसक्ने परिवेशमा डा.भट्टराई भने कटुवाचौपारीका कृषक महोदत्त अधिकारी (विष्णु) को पाडा संरक्षण केन्द्रमा पुगे।

पुलको नजिकै रहेको गोठमा बाँधिएका पाडापाडीहरुको अवलोकन गरे, अनि कृषि नै देशको प्रमुख आधार रहेकोले कृषि पेसालाई कहिल्यै पनि कमजोर नठान्न सुझाए। व्यावसायिक रूपमा कृषि कर्म गरिरहेकाहरूलाई सरकारले आवश्यक सहयोग गरेमा कृषिमा लाग्नेहरूलाई प्रेरणा मिल्ने उनको भनाई थियो।

अधिकारीको गोठ र तरकारी खेतीको अवलोकनपछि उनी त्यही बाटो हुँदै कटुवाचौपारीमै ढाकाराम गौतमले सञ्चालन गरिरहेको पोल्ट्री फर्मको अवलोकनमा लागे। पोल्ट्रीमा पालिएका कुखुरा र टनेलमा फलाइएका तरकारी हेर्दै डा. भट्टराईले यसरी नै सबै कृषकले देशमै केही न केही गर्ने हो भने रोजगारीकै खोजीमा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने बताए। देशैकै उच्च नेता आफ्नो तरकारी बारीमा पुगेर अवलोकन गर्दै प्रेरणा व्यक्त गर्दा कृषि कर्मप्रति आफूलाई प्रोत्साहन मिलेको गौतमको भनाई छ।

समाजवादी पार्टीले पर्वतमा सुरु गरेको सङ्गठन विस्तार र सुदृढीकरण कार्यक्रममा सहभागी हुन आएका डा. भट्टराई शुक्रबार नै पर्वत आइपुगेका थिए। तर बस्नको लागि उनले होटेलको खोजी नगरी आफ्नै कार्यकर्ताको घरमा जस्तो पाकेको छ त्यस्तै खाए, जस्ता बिछ्यौना थिए त्यस्तैमा सुते।

कास्कीको पोखराबाट पर्वत सदरमुकाम कुस्मा जाँदा बाटैमा पर्ने गाउँ दोबील्लामा समाजवादी पार्टीकी नेतृ देवीकुमारी क्षेत्रीको फार्म हाउस पर्छ। सोही फार्म हाउसमा रात कटाएका उनले बिहान सबेरै उठेर आसपासमा रहेको कृषि उत्पादनहरूको अवलोकन गरेपछि कटुवाचौपारीमा रहेका कृषहरुको फार्मको अवलोकन गर्न पुगेका हुन्।

पर्वतका कृषकहरूले गरिरहेको महिनेतबाट खुसी देखिएका पूर्व प्रधानमन्त्री डा. भट्टराईले ट्विट गर्दै कृषि फार्म अवलोकन गर्दा नेपालको समृद्धिको पहिलो आधार कृषि नै हो भन्ने अनुभूति भएको प्रतिक्रिया दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.