सम्पदाविद् भन्छन् : उपभोक्ता समितिको कमजोरी
सम्पदाविद् भन्छन् : उपभोक्ता समितिको कमजोरी
काठमाडौं : भूकम्पपछि निर्माण भइरहेको रानीपोखरीमा निम्नस्तरको माटो प्रयोग गरिएको पाइएको छ। गुणस्तरहीन माटोको प्रयोग भएकोले रानीपोखरी निर्माणमा ढिलाइ हुने भएको छ। निर्माणाधीन रानीपोखरीमा गुणस्तरहीन माटो प्रयोग भएकोले फिर्ता भइरहेको छ।
भक्तपुरको पुरानो ठाउँबाट ल्याउने गरेको माटो गुणस्तरहीन भएकोले अर्को ठाउँबाट ल्याउने तयारी गरिरहेको रानीपोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले बताए। उनका अनुसार पुरानो ठाउँबाट ल्याइरहेको माटो नअडिने भएको छ। प्रयोग गरिने माटो सिमेन्टजस्तै कडा हुनुपर्नेछ। नयाँ ठाउँबाट माटो ल्याउने तयारी भइरहेको छ।
गुणस्तरहीन माटो भएमा अन्य स्थानको माटो ल्याइने तयारी भइरहेको उनले बताए। 'टिपरले दैनिक २० टिप माटो ल्याइरहेकाले काममा ढिलो हुँदैन, जसरी पनि माटो ल्याएर काम सम्पन्न गरिन्छ,' उनले भने। माटो पर्याप्त मात्रामा उपलब्ध भएमा वैशाखसम्म रानीपोखरी निर्माण गरिसक्ने उनको दाबी छ।
उपभोक्ता समितिसँग पैसा अभाव भएकोले गुणस्तरयुक्त माटो ल्याएर काम गर्न नसकिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविद् राजुमान मानन्धर बताउँछन्। उनका अनुसार उपभोक्ता समितिलाई चार करोड रुपैयाँ वितरण गरिसकिएको छ। कामदार, इँट्टा र माटो ल्याउनका लागि उक्त रकम दिएको हो।
'राम्रो माटोको प्रयोग गर्ने हो, भने २० देखि २२ दिनसम्ममा रानीपोखरीको निर्माण भइसक्छ,' उनले भने। गुणस्तरहीन माटोको प्रयोग हुनुमा उपभोक्ता समितिको कमजोरी रहेको उनले प्रष्ट पारे। माटो सप्लार्यसलाई समितिले समयमा पैसा दिन नसक्दा गुणस्तरहीन माटो आइरहेको छ। त्यस्तो माटो प्रयोग गर्न नदिएको उनले जानकारी दिए।
'रानीपोखरीको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ,' उनले भने, 'यदि काममा ढिलो भएन भने वैशाखभित्र रानीपोखरी निर्माण हुन्छ।' पानी जम्मा गर्नको लागि पोखरीको निर्माण भइरहेको छ, त्यसको लागि कालो माटो र जमिनमूनीसम्म टाँसिने माटो चाहिन्छ। तर, त्यस्तो माटोको प्रयोग नभएकोले आएको माटोलाई फिर्ता पठाएर काम गराइरहेको उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।