आजादको कार्यक्रममा गजुरेल प्रमुख अतिथि

|

सिन्धुली : नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा एकजनाको ज्यान गएपछि सिन्धुलीस्थित बीपी राजमार्ग सोमबार दिउँसो घण्टौँसम्म अवरुद्ध भयो। स्थानीयले सडक छेकेर प्रदर्शन गरेपछि सयौँ गाडी बाटैमा रोकिए।

पूर्वबाट काठमाडौँ आउने र जाने मूख्य सडकलाई स्थानीयले छेक्दा सर्वसाधरणले धेरै सास्ती भोगे। सोमबार भएको सडक जामको असर भोग्नेमा सर्वसाधरण मात्रै थिएनन्। सरकारका एकजना उच्च पदस्थ व्यक्तिले पनि बीपी राजमार्गको जाम तीन घण्टा खेप्नुपर्‍यो। 

गाडीको ठक्करबाट स्थानीय ५५ वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएपछि गोलाञ्जोर गाउँपालिका वडा नम्बर–७ को तल्लो बाराबासीले सडक अवरुद्ध गरेका थिए। त्यसले  बिहानैदेखि बीपी राजमार्ग ठप्प थियो। 

वामपन्थी नेता ऋषि देवकोटा ‘आजाद’ को स्मृति सभामा सहभागी हुन आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि जामको सामना गर्नुपर्‍यो। भिमानमा आयोजना भएको स्मृति सभामा भाग लिन काठमाडौंबा६ गाडीमा हिँडेका पोखरेल जामकै कारण कार्यक्रममा जान नसकेपछि काठमाडौँ फर्किएका छन्। 

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सडक नखुलेपछि उपप्रधानमन्त्री पोखरेल कार्यक्रममै सहभागी नभइ काठमाडौं फर्किएको जानकारी दिए। उनले सडक बन्द भएका कारण कार्यक्रममै नगई उपप्रम पोखरेल मन्त्रिपरिषद् बैठकमा भाग लिन भन्दै खुर्कोटबाटै काठमाडौं फर्किएको बताए। 

५५ वर्षीय श्रेष्ठलाई ठक्कर दिएको सवारीसाधन भेटिन सकेको छैन। श्रेष्ठको शव सडक भन्दा तल खोल्सामा भेटिएको थियो । रक्षामन्त्री पोखरेलले भिमान पुग्न खुर्कोटबाट अझै ५० किलोमिटर पर जानुपर्ने थियो। 

दुई बजेतिर फर्किए श्रेष्ठका छोरा काठमाडौंबाट आएपछि बार्ता गर्ने सहमतिमा एकतर्फी सडक खुलाइएको गौतमले बताए। रक्षामन्त्री पोखरेल जान नपाएछि पूर्वमन्त्री तथा नेकपा नेता हरिबोल गजुरेलको प्रमुख आतिथ्यमा भिमानमा वामपन्थी नेता देवकोटाको स्मृति सभा सम्पन्‍न भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.