|

डडेल्धुरा : प्रस्तावित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै अभियान चलाइरहेको ‘बोलन्या थली’ धनगढीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख चिठ्ठी बुझाउने भएको छ।

सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पश्चिम सेती आयोजना निर्माणका लागि दबाब दिन ‘बोलन्या थली’ धनगढीले सुदूरपश्चिम प्रदेशबाट एक लाखवटा पत्र संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउने जानकारी गराएको हो।

पश्चिम सेतीबारे रचनात्मक विरोध स्वरूप आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको ७५० पैसासहित बुझाउने तयारी गरेको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले जानकारी दिए। 

धनगढीमा आयोजना हुने विश्व साहित्य सम्मेलनबाटै पत्र संकलन अभियान सुरु गर्ने जोशीले बताए। सम्मेलनको क्रममा १४ मा राष्ट्रपति विद्यादेवी  भण्डारी धनगढी आउँदै छन्। राष्ट्रपति सहभागी कार्यक्रममार्फत नै प्रधानमन्त्रीका लागि पत्र तयार गर्न आह्वान गरिने संयोजक जोशीले जानकारी दिए। 

‘पश्चिम सेती निर्माणका लागि दवाब दिन प्रधानमन्त्री ओलीज्यूलाई सुदूरपश्चिमबाट आशा र सपनाका एक लाखवटा चिट्ठी बुझाउने कार्यक्रमको शुभारम्भ गर्दैछौँ,’ संयोजक जोशीले भने, ‘राष्ट्रपति भण्डारीज्यू सहभागी हुने साहित्य सम्मेलनबाटै पत्र संकलनको आरम्भ भएर प्रदेशका ८८ वटै स्थानीय तहबाट जनताका सपनाका पत्र हामी संकलन गर्नेछौं।’

सेती आयोजना निर्माणका लागि दबाब दिन यसलगत्तै ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्नेसमेत उनले बताए।

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ। साथै बोलन्या थलीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर पश्चिम सेतीका लागि आवाज उठाउन आग्रह गरेको थियो। भेटमा देउवालाई अनुरोधपत्रसमेत बुझाइएको थियो। देउवाले पश्चिम सेतीबारे संसदमा कुरा उठाउने प्रतिबद्धता जनाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.