३६ अस्पतालका १४७ बेड तयारी अवस्थामा

|

काठमाडौं : चीनको हुवेइ प्रान्तको केन्द्र वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप युरोपको इटलीसहित दक्षिण कोरियासम्म फैलिएको छ। कोरोना भाइरस संक्रमण अहिलेसम्म ३६ देशमा पुगेको छ।

मंगलबार बिहानको तथ्यांकअनुसार यो भाइरसबाट अहिलेसम्म दुई हजार ७०० जनाको मृत्यु भएको छ। यस्तै, ८० हजार १३० जनामा संक्रमण देखा परेको र २७ हजार ४७१ जना संक्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन्।

मृत्यु र संक्रमणदर चीन र त्यसमा पनि हुवेई प्रान्तमा सबैभन्दा बढी छ। त्यसपछि सबैभन्दा बढी संक्रमण दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ। तर, मृत्युदर बढी भएको भने इरानमा हो। त्यहाँ ४७ जनामा संक्रमण देखिँदा १४ जनाको मृत्यु भइसकेको छ। दक्षिण कोरियामा भने अहिलेसम्म आठजनाको ज्यान गएको छ।

संक्रमणको कुरा गर्दा दक्षिण कोरियापछि सबैभन्दा धेरै जापानी तटमा रहेको डायमण्ड प्रिन्सेज नाम दिइएको पानी जहाजमा देखिएको छ। त्यहाँ अहिलेसम्म ६९१ जनामा संक्रमण र चारजनाको मृत्यु भएको छ।

कोरोनाको संक्रमणले एसियासँगै अफ्रिका, उत्तर अमेरिका, युरोप र अष्ट्रेलिया महादेशलाई पनि छोइसकेको छ। यो भाइरसको संक्रमण सार्क मुलुकका नेपाल भारत, श्रीलंका, अफगानिस्थानमा पनि देखिए पनि यी देशमा हालसम्म कसैको पनि मृत्यु भएको छैन।

नेपालमा हालसम्म एकजना कोरोना भाइरस संक्रमित भेटिएका थिए।  गतमाघ पहिलो हप्ता चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिए पनि उनी अहिले संक्रमणमुक्त भइसकेका छन्। त्यसपछि हालसम्म नेपालमा भाइरस भएको पुष्टि भएको छैन।

चीनको हुबेई प्रान्तबाट उद्धार गरी ल्याइएका एक सय ७५ नेपाली विद्यार्थीलाई  क्वारेन्टाइनमा राखिएको छ। हालसम्मको परीक्षणमा उद्धार गरेर ल्याइएका सबै विद्यार्थीमा कोरोना भाइरस नेगेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  स्वास्थ्य आपतकालीन इकाइका प्रमुख सागर दाहालले भने, ‘हामीले उद्धार गरेर चीनबाट ल्याइएका कुनै विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको छैन।‘

चीनको हुबेई प्रान्तमा रहेका १८५ मध्ये १७५ नेपालीलाई फागुन ३ मा चीन गएको नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले फागुन ४ गते बिहान काठमाडौंमा ल्याएको थियो। अहिले उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई क्वारेन्टाइनमा परिणत गरेर राखिएको छ।

चीनमा भन्दा कोरियामा कोरोना देखिँदा नेपाल उच्च जोखिममा

चीनमा कोरोना भाइरस फैलिने क्रम विस्तारै कम हुँदै गए पनि कोरिया र युरोपको देशहरूमा कोरोना भाइरस फैलिने दर बढी देखिको छ, जसले गर्दा नेपाली उच्च जोखिममा रहेको बताइन्छ।

कोरियामा ३५ हजारभन्दा धेरै नेपाली कामदार रहेका हुनाले उनीहरूको आउजाउले नेपालमा कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइन्छ। पछिल्लो केही हप्तामा विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा विश्व स्वास्थ्य संगठनले समेत विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको संकटकाल लगाएपछि विश्वभर एक देशबाट अर्को देशमा यात्रा गर्न रोक लगाउने भए पनि अहिले भने संगठनले यात्रामा रोक भने लगाएको छैन। जसले गर्दा पनि कोरियालगायत युरोपको देशमा फैलिँदै गएको कोरोनाको जोखिम नेपालमा चीनको भन्दा धेरै हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक उच्च अधिकारीले बताए।

उनले भने  ‘हाम्रो लागि चीनभन्दा कोरिया र युरोपको देशमा कोरोना फैलिनु जोखिम हो,  चीनमा भन्दा धेरै नेपाली कोरियामा छन्। उनीहरूलाई उद्धार गर्नु पनि धेरै गाह्रो छ।'

यता, विश्व स्वास्थ्य संगठनले अन्तरदेशीय सीमामा स्वास्थ्यको दृष्टिकोणले उच्च निगरानी गर्न भने अनुरोध गरेको भए पनि हाल नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको हेल्थ डेक्समा राखिएको उपकरण पनि त्यति धेरै प्रभावकारी नदेखिएको विज्ञले बताउँदै आएका छन्।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  स्वास्थ्य आपतकालीन इकाइका प्रमुख दाहालका अनुसार हाल नेपालमा एकजनाबाहेक अन्यलाई कोरोना भाइरस पुष्टि नभएको बताए। हाल कोरियामा फैलिएको कोरोना भाइरसको जोखिमबारे सरकारले हालसम्म केही तयारी नगरेको समेत बताइन्छ।

३६ अस्पतालमा १४७ बेड तयारी अवस्थामा

कोरोना भाइरसबाट संक्रमण भएका बिरामीको उपचारका लागि ३६ अस्पतालमा १४७ बेड तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सहप्रवक्तासमेत रहेका दाहालले काठमाडौं उपत्यकामा रहेका ३६ वटा अस्पतालमा उपचार गरिने व्यवस्था गरिएको जानकारी दिए।

उनले कोरोना भाइरसको लक्षण फेला परेको पाइएमा सबैभन्दा पहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र ललितपुरको पाटन अस्पताललाई तयारी अवस्थामा राखिएको बताए। उनले त्यसपछि उपत्यकामा रहेका ६ वटा हव अस्पताल र अन्य स्याटेलाइट अस्पतालमा व्यवस्था गरिएको छ।

त्यस्तै, काठमाडौं उपत्यकामा वीरेन्द्र सैनिक अस्पताल, टिचिङ अस्पताल महाराजगंज, वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पताल हब अस्पताल हुन भने टेकुस्थित शुक्रराज ट्रपिकल एण्ड सरुवारोग अस्पताल स्याटेलाइट अस्पताल रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.