|
फाइल फोटो

काठमाडौं : नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालले वर्तमान केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले कम्तीमा मदन भण्डारीको आत्मालाई शान्ति हुने काम गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभामा बोल्दै रिजालले सरकार भ्रष्टाचारमा लिप्त भएको र थरीथरी श्रीपेच लगाएको आजको कम्युनिष्टतन्त्रले मदन भण्डारीको आत्मालाई शान्ति नमिल्ने तर्क गरेका हुन्।

‘मदन भण्डारीलाई विश्वास दिलाउनुस्। थरीथरीका श्रीपेच लगाएर आजको कम्युनिष्टतन्त्रले जनतामा भ्रष्टाचार गाँजेको छ। मदन भण्डारीको आत्मालाई शान्ति दिने बाटो त्यही होला’ उनले भने।  

त्यस्तै, रिजालले देशमा भ्रष्टाचारको सीमा बढेको पनि बताए। ‘७० करोड घुस दिन्छु भन्नेले योभन्दा अझ बढी प्रतिस्पर्धा गरेर घुस दिन्छु भनेका छन्,’ उनले भने, ‘७० करोडभन्दा अझ अर्बाैँ खान दिनेलाई ठेक्का दिने अवस्था आएको छ। योभन्दा लाजमर्दाे अवस्था के हुन्छ?’  

प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भन्नु पनि लाजमर्दाे भएको उनको भनाइ छ। ‘प्रधानमन्त्री भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्‍न भन्नुहुन्थ्यो योभन्दा लाजमर्दाे के हुन्छ?’ उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘ यतिले पुगेन? यती होल्डिङलाई नेपाल ट्रस्टको जमिन, बिल्डिङ दिइँदै छ। अनि विधानमा लेखिएको छ भनिन्छ। यती फेला पर्नेबित्तिकै सबै दिने?’  

बालुवाटार जग्गा प्रकरणमा अख्तियारलाई सरकारले प्रभावित गरेको उनको आरोप छ।  ‘सर्वांग लाजलाग्दो अवस्था छ। विपक्षी भए जेल जानुपर्ने? आफ्नो गुटको भए जे लिएको भए पनि फिर्ता गरे हुने? कम्युनिष्ट नै भए आफ्नो गुटको नभए कारबाही अघि बढाउने?’ उनले प्रश्न गरे।

वाइडबडी काण्डमा अख्तियारले कारबाही बढाउनुपर्ने उनको माग छ। सञ्चार मन्त्रालय भ्रष्टाचारको अखडा नै भएको उनको आरोप छ। ‘सञ्चार मन्त्रालय भ्रष्टाचारको अखडा भएको छ। स्टालाइट, ब्लड बैंक, अप्टिकल फाइबर, टेलिकम इजाजतमा त्यस्तै छ,’ उनले भने, ‘त्यसैले होला तुलामा राख्दा सञ्चारमन्त्री एकातिर अरू एकातिर भन्या। जनताले बुझ्या छन्।’  

प्रधानमन्त्री कुन लोकमा छन् भन्‍ने थाहा नभएको भन्दै उनले जन्मदिन मनाएको विषयलाई पनि व्यंग्य गरे। ‘प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ थाहा छैन। पुराना राजाको जन्म दिनको तस्वीर अलि अघि देखेको थिएँ’ उनले भने, ‘राजाको शैली सामान्य नै थियो। जन्म दिनमा तपाईंको उन्माद देखेर आम नागरिक निराश छन्।’

संघीय लोकतान्त्रिक गणतन्त्रले ज्ञानेन्द्र मात्रै होइन प्रवृत्ति पनि बिदाइ गरेको उनको भनाइ छ। त्यस्तै, उनले पार्टीको झगडा व्यवस्थापन गर्न संविधान संशोधन गर्न लागेको आरोप पनि लगाए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.