|

दाङ : नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको चट्याङका कारण मेसनरी सामान क्षति पुगेको छ।

शनिबार दिउँसो कार्यालयमा चट्याङ पर्दा कम्युटर, टोकन मेशिन, प्रिन्टर, अनलाईन युपिएस, सर्भर र नेटवर्क गरी करिब ३/४ लाख बराबरहको क्षति पुगेको कार्यालयका प्रशासन प्रमुख तथा सूचना अधिकारी युवराज विष्टले बताए।

चट्याङले भने कुनै मानवीय क्षति नभएको उनले बताए। कार्यालयको महत्वपूर्ण सर्भर र कम्प्युटरमा क्षति भएपछि अहिले सेवा प्रभावित बनेको छ। शनिबार क्षति भएपछि आइतबार सामान्य मर्मत कार्यले गर्दा सेवा सुचारु भए पनि सोमबारदेखि विद्युत महशुल सेवापूर्ण रुपमा प्रभावित भएको छ। बिशेष गरी सर्भर र कम्प्युटरमा क्षति पुगेपछि अनलाइन र विलिङमार्फत विद्युत महशुलको सेवा ठप्प भएको प्रशासन प्रमुख विष्टले बताए।

सर्भर मर्मतको लागि सोमबार नै नेपालगन्ज पठाएको भए तापनि त्यहाँ सम्भव भएपछि काठमाडौं पठाएको उनले बताए। अव काठमाडौँबाट बनेर नआउँदासम्म विद्युत महशुल काउण्टर केही दिनका लागि बन्द हुने समेत उनले बताए। विद्युत काउण्टर बन्द हुँदा महशुल बुझाउन आएका सेवाग्राही फर्कन बाध्य भएका छन्, भने सर्भर नहुँदा अनलाइनमार्फत भुक्तानी पनि हुन सकेको छैन।

सेवाग्राहीले भने कार्यालयबाट समय मै सूचना नपाउँदा दुख पाएको गुनासो गरेका छन्। पश्चिम दाङको शान्तिनगर २ का महेश भण्डारीले विद्युत महशुल बुझाउन आएको भए तापनि कार्यालयमा सेवा बन्द हुँदा समस्या भएको बताए। उनले भने ,‘अहिलेको प्रविधिमा पनि समय मै सूचना प्रवाह गर्न नसक्नु कार्यालयको कम्जोरी हो।’

सबैको हात हातमा मोबाइल हुन्छ, यदि त्यसमा सूचना प्रवाह गरेको भए यसरी कार्यालयमा आएर फर्कनु पर्ने अवस्था हुने थिएन। त्यसैगरी तुलसीपुर ७ पर्सेनी सुमित्रा भुसालले पनि सेवा बन्द भएको थाहा नपाउदा कार्यालयमा आएर फर्किनु परेको बताइन्। उनले पनि आज हाम्रो सेवा छैन भनेर सूचना पाएको भए यसरी दु:ख नपाइने भन्दै यसतर्फ कार्यालयले नै सोच्नुपर्ने बताइन्। कार्यालयमा बिहान १० बजेदेखि सेवाग्राही आएर फर्किँदै जाने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.