दरबारमार्ग र ताहाचलको जग्गा लिज दिने प्रचण्ड सुशील र देउवा पनि

|

काठमाडौं : नेपाल सरकारले नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकारसम्मेलन गरी श्वेतपत्रमार्फत ट्रष्टको चल तथा अचल सम्पत्ति सार्वजनिक गरेका हुन्। 

मंगलबार जारी श्वेतपत्रमा उल्लेख भएअनुसार २१ हजार पाँच सय ६२ रोपनी जग्गा ट्रष्टको नाममा छ। श्वेतपत्रमा उल्लेख भएअनुसार काठमाडौँमा ४ हजार ४४२ रोपनी जग्गा ट्रष्टको नाममा छ।

त्यस्तै, भक्तपुरमा ११३ रोपनी, ललितपुरमा ८ रोपनी, नुवाकोटमा २४० रोपनी, धनकुटामा १९४ रोपनी, मकवानपुरमा २६ रोपनी, काभ्रेपलाञ्चोकमा ९ रोपनी, सिन्धुपाल्चोकमा २७ रोपनी, सुर्खेतमा ४५७ रोपनी, कास्कीमा १७४ रोपनी, चितवनमा ७६७ रोपनी र धादिङमा १५ हजार १०१ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा छ।

‘अहिलेसम्म नेपाल ट्रष्टलाई थाहा हुन आएका जग्गाहरू श्वेतपत्रमार्फत हामीले सार्वजनिक गरेका छौँ। अन्य जिल्लामा पनि खोजी भइरहेको छ’ रक्षामन्त्री पोखरेलले भने। 

काठमाडौंको लाजिम्पाट, कमलादी, दरबारमार्ग, कालिमाटी, ताहाचल, छाउनीमा रहेका जग्गाहरु व्यापारिक प्रयोजनको लागि भाडामा दिइएको छ। अन्य क्षेत्रमा रहेका जग्गाहरू भने मोहीले बसोबास र खेतीपातीका लागि प्रयोग गरेका छन्।

यी जग्गाहरू २०६४ सालमा नेपाल ट्रष्ट स्थापना भएपछि पूर्वराजाको नामबाट ट्रष्टको नाममा सारिएको हो। नेपाल ट्रष्टमा तत्कालीन राजपरिवारबाट आएको अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा रहेको छ। 

श्वेतपत्रनेपाल ट्रष्टको १७३ रोपनी जग्गा व्यक्तिको नाम ल्याउने निर्णयमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार संलग्न देखिएका छन्।

नेपाल ट्रस्टले जारी गरेको स्वेत पत्रमा थानकोटा, मातातिर्थ, सतुंगल र बालाजुको १७३ रोपनी ट्रस्टको नाम रहेको जग्गा मोहीको नाम सारी गर्ने कार्यमा भट्टराई र गच्छदारको संलग्नता रहेको उल्लेख छ।

श्वेत पत्रमा तत्कालीन नेपाल ट्रस्टका संरक्षक प्रधानमन्त्री डा. भट्टराई तथा ट्रस्ट सञ्चालक समितिका अध्यक्ष गच्छदार रहेको अवधिमा २०६९ कार्तिक २ मा बसेको मन्त्रिपरिषद विधेयक समितिको निर्णयानुसार ट्रस्टको स्वामित्वको पुरै १७२ रोपनी १५ आना जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी भइ गएको उल्लेख छ।

मातातिर्थको ५९ रोपनी १ आना ३ पैसा, थानकोट महादेवस्थानको १०२ रोपनी ३ पैसा, सतुंगलको १ रोपनी ६ आना १ पैसा र बालाजु इचंगुको १० रोपनी ६ आना १ दाम ट्रस्टको जग्गा भूमि ऐन २०२१ विपरित व्यक्तिको नाम नामसारी भएको ट्रस्टको स्वेत पत्रमा उल्लेख छ। करिब ११ जनालाई त्यो जग्गा नामसारी गरिसकिएको छ।

ट्रस्ट अध्यक्ष रहेका रक्षामन्त्री पोखरेलले त्यो जग्गा आफ्नो भएको दाबीसहितको उजूरी सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण गर्न बनेको जाँचबुझ आयोगमा दिइसकेको बताए। उच्च अदालतका पूर्व न्यायाधीस मोहनरमण भट्टराईको अध्यक्षतामा बनेको आयोगले छानबिन गरिरहेको छ।

‘हामीले त्यो जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाम नामसारी भएको भन्दै आयोगमा उजूरी दिएका छौं,’ उनले भने, ‘आयोगले छानबिन गरिरहेको छ। छानबिनपछि आउने प्रतिवेदनको आधारमा राखेर मन्त्रिपरिषदले निर्णय गर्छ।’ स्वेतपत्रमा गोकर्णराज निकुञ्ज, दरबार मार्ग र तहाचलको जग्गा यति होल्डिङलाई लिजमा दिएको सम्बन्धमा उल्लेख गरिएको सदस्य सचिव एवं ट्रस्टका सहसचिव राजेश्वर ज्ञवालीले जानकारी दिए। 

गोकर्णबाट तीसबर्षमा एक अर्ब ५ करोड ८२ लाख 

यति होल्डिङ अन्तर्गतको गोकर्ण फोरेस्ट रिसोर्ट प्रालि (साविक एलएम सुभीर ब्रदर्स नेपाल प्रालि) लाई ३० वर्षका लागि लिज दिने मन्त्रिपरिषदको निर्णयको आलोचना हुदै आएको छ। श्वेतपत्रमा लिज अवधि थप भएको २५ वर्षमा एक अर्ब एक करोड ५१ लाख रुपैयाँ तथा पुरानो सम्झौताकै बाँकी अवधिमा चार करोड ३१ लाख आर्थिक लाभ हुने देखाइएको छ।

यस्तै २९ करोडको लगानीमा ४८ वटा सुविधायुक्त कोठा तथा चार सय जना अट्ने सभाहल निर्माण हुनेछ। थप अवधि रिसोर्ट सञ्चालन हुँदा ३ अर्ब ९ करोड रकम अप्रत्यक्ष व्यावसायिक कर वापत प्राप्त हुने अध्ययनबाट देखिएको स्वेत पत्रमा उल्लेख छ। 

दरबारमार्ग र ताहाचलको लिजमा तीनजना पूर्व प्रधानमन्त्री

ट्रस्टको नाममा रहेको दरबारमार्ग र ताहाचलको जग्गा लिजमा दिँदा तत्कालिन प्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुशील कोइराला र शेरबहादुर देउवा रहेको श्वेत पत्रमा उल्लेख छ।

२०७१ साउन २८ मा तत्कालीन ट्रस्टका संरक्षक प्रधानमन्त्री सुशील कोइराला तथा अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम रहेको ट्रस्ट संचालक समितिले बसेको बोर्ड बैठकले कमलादी, हेटौँडा, ताहाचल सोल्टी आउटर कम्प्लेक्स र दरबारमार्ग लिज आउट गर्ने निर्णय गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको श्वेत पत्रमा उल्लेख छ।

२०७४ वैशाख ५ गते यति होल्डिङ अन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई दरबारमार्गको जग्गा लिजमा दिने निर्णय हुँदा तत्कालीन ट्रस्टको संरक्षकमा प्रचण्ड र ट्रस्ट अध्यक्षमा गृहमन्त्री विमलेन्द्र निधी रहेका थिए। चार वटा प्रस्तावमध्ये सबैभन्दा धेरै थामसर्केु १ अर्ब ४० करोड १० लाख ८६ हजारको प्रस्ताव स्विकृत भएको थियो।

२०७४ कार्तिक १३ गते सोल्टी आउटर कम्प्लेक्स थामसेर्कु ट्रकिङलाई २७ करोड ७४ लाख ७५ हजारमा दिने निर्णय गर्दा ट्रस्टको संरक्षकमा देउवा र ट्रस्टको अध्यक्षमा गृहमन्त्री जनार्दन शर्मा रहेका थिए।

ऐन संशोधन हुनु अगावै दरबार मार्ग र ताहाचलको लिज सम्झौता भएको थियो। ट्रस्ट ऐन, २०६४ मा ट्रस्टको सम्पत्ति शिक्षा तथा स्वास्थ्य क्षेत्रमा मात्रै प्रयोग गर्ने उल्लेख थियो। केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७५ मा राष्ट्रिय हित अनुकुल तथा ट्रस्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यवसायिक कार्य सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। 

श्‍वेतपत्रकाे पूर्णपाठ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.