|

पर्सा : प्रदेशस्तरीय म्याराथन प्रतियोगिता २०२० मा एकैदिन ५ हजार २०० धावक दौडिएका छन्। ‘स्वच्छ देश–स्वस्थ मधेस' भन्ने नाराका साथ ‘वीरगन्ज म्याराथन २०२०' मा शनिबार यति धेरै धावक वीरगन्ज, कलैया हुँदै बाराको पिलुवासम्म दौडिएका हुन्। 

आठ कक्षा माथिका विद्यार्थीदेखि विभिन्न उमेर समूह हुँदै ज्येष्ठ नागरिक र फरक क्षमता भएका साथै सुरक्षा सेवामा खटेका समेत सबै क्षेत्रका धावक यो प्रतियोगितामा दौडिए। विभिन्न १४ वटा विधामा दौडिएका धावक मध्ये ४ हजार १०० ले एकै प्रकारको टिसर्ट र क्याप लगाएका थिए।  

नेपाली सेना मध्य पृतना र मध्यपूर्वी पृतना प्रदेश २ को सहयोगमा २८ नं. बाहिनी अड्डाको आयोजनामा  म्याराथन प्रतियोगिता भएको हाो। प्रदेशस्तरीय म्याराथन प्रतियोगिता सात प्रदेश मध्येकै पहिलो प्रतियोगिता भएको नेपाली सेनाका सहायक रथी अनुपजंग थापाले बताए। नेपाली सेनाले आगामी दिनमा यस्ता प्रतियोगिता अरु प्रदेशमा पनि आयोजना गर्ने उनको भनाइ छ। 

‘हिमाल पहाड तराई, कोही छैन पराई' भन्ने सन्देश दिन सेना, प्रहरी र नागरिकको सहकार्यमा एकताको दौड भएको सहभागीले बताए। यस्ता सहकार्यात्मक प्रतियोगिता हुनु निकै सकारात्मक भएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताए। प्रतियोगितालाई प्रदेश २ सरकार र वीरगन्ज महानगरपालिकालगायतका स्थानीय संघ संस्थाले पनि साथ दिएको छ। 

५ किलाे मिटरदेखि ४२ किमी सम्मको दूरी

प्रतियोगितामा सबैभन्दा लामो दूरी ( ४२ किमी) सम्म तय भएको थियो। यो दौडमा नेपाल आर्मीका अमल्दार खजेन्द्र भाट प्रथम भए। उनले एकलाख २५ नगद र टिभिएस कम्पनीको १२५ सिसीको स्कुटी प्राप्त गरे। त्यसै गरी दोस्रो र तेस्रो क्रमश आर्मीकै राजन रोकाया र हरिकुमार रिमाल भए। उनीहरूले पनि एकलाख ५० हजार र एक लाख रकम पाएका छन्। यो दौडमा महिला तर्फको भने सहभागिता थिएन।   

२१ किलोमिटर सम्मको दौडमा भने महिलाले पनि भाग लिएका थिए। यो दौडमा महिला धावकहरू मध्ये राजपुरा पछाई प्रथम, फूलमति राना द्वितीय र विन्द्रा श्रेष्ठ तृतीय भएका भए। त्यसैगरी पुरुष तर्फका धावकहरूमा गजेन्द्र राई प्रथम, दिपक अधिकारी द्वितीय, राजमी बस्नेत तृतीय भए। 

महिला र पुरुष दुवैतर्फका प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूलाई क्रमशः ७५ हजार ५० हजार र ३५ हजार रकम उपलब्ध गराइएको छ। त्यसैगरी १० किलो मिटरको लेडिज, जेन्स ( सिभिलियन र ओपन ) तर्फको दौडमा सिभिलियन महिलातर्फ सकुन्तला ठगुन्ना प्रथम, मन्जु राउत द्वितीय भए। 

सिभिलियनतर्फ तेस्रो प्रतियोगी भने अधुरो दौडका कारण कोही भएनन्। त्यसै गरी विभागीयतर्फ १० किलोमिटरकै दौडमा पूर्णलक्ष्मी न्यौपाने प्रथम, सरस्वती भट्टराई द्वितीय र विर्सना कुमाल तृतीय भए। पुरुष तर्फ भने सागर श्रेष्ठ प्रथम, दिनेश बोगटी द्वितीय र प्रिन्सकुमार गुप्ता तृतीय भए। विजेताहरूले क्रमशः २० हजार, १५ हजार र १० हजार पाएका छन्।   

४० वर्ष माथिका महिलाले भाग लिएनन्

पाँच किलोमिटरको दूरीतर्फ ४० वर्ष माथिका महिलाको भने सहभागिता भएन। ४० वर्ष माथिका पुरुष तर्फ भने जयनरेश सिंह प्रथम, राजेश्वर कुमार दोस्रो र श्याम चौधरी तेस्रो भए उनीहरूलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार र पदक प्रदान गरिएको छ। 

पाँच हजार मिटरतर्फ नै ११ र १२ कक्षा तर्फका धावकहरूमध्ये छात्रातर्फ अन्जु खड्का प्रथम, मीना ज्ञवाली द्वितीय र संगीता यादव तृतीय भएका छन्। त्यसै गरी छात्रातर्फ नारायणकुमार कुश्मा प्रथम, देव नन्दल द्वितीय र अदिशकुमार पटेल तृतीय भए। 

विजेता छात्रा छात्रलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार प्रदान गरिएको छ। त्यसै गरी कक्षा ८ देखि १० कक्षा भित्रका छात्रछात्रामध्ये छात्रातर्फ फूलनाज खातुन प्रथम, ऋष्टि साह द्वितीय र कृतिका बस्नेत तृतीय भए। 

छात्रतर्फ युवराज लिम्बू प्रथम, अदेशकुमार यादव द्वितीय र अयुष मिया तृतीय भए। उनीहरूलाई पनि वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले क्रमशः १० हजार, ७ हजार र ५ हजार र पदक प्रदान गरे। 

फरक क्षमता भएकाले पनि लिए भाग 

फकर क्षमता भएका व्यक्तिले पनि दौड प्रतियोगितामा भाग लिएका थिए। उनीहरू ह्विल चेयरमा बसेर १ किलो मिटर सम्मको दूरी पार गरे। यो दौडमा सन्तोष महतो प्रथम, अनिल मालाकार द्वितीय र रमेश महतो तृतीय भएका छन्। उनीहरूलाई पनि क्रमशः १० हजार, ७ हजार र ५ हजारसहित प्रमाण पत्र र पदक प्रदान गरिएको छ। फरक क्षमता भएकातर्फ महिलाको भने सहभागिता भएको थिएन। 

पाँचहजारदेखि सर्वाधिक राशीको पुरस्कार जित्ने खगेन्द्र भाट सम्मका सबै विजेतालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, प्रधान सेनापति पूर्णचन्द्र थापा र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलगायतले पदकसहित पुरस्कार प्रदान गरे। 

विजेताले प्राप्त रकम वीरगन्ज महानगरपालिका कर्मचारीले कार्यक्रमस्थलमा नै पुगेर ठाउँको ठाउँ चेक काटेर प्रदान गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.